बुधबार, वैशाख १२, २०८१
00:02 | ०४:४७

कतार बेलायतको ‘रेड लिष्ट’ मा परेपछि नेपालीहरु पनि मारमा

उडान परिवर्तन गर्नेको भीड

नेपाली लिङ्क मार्च १६, २०२१

लन्डन । बेलायत सरकारले कोरोना भाइरस नियन्त्रणका लागि कतारलाई पनि ‘रेड लिष्ट’ मा राखेपछि यूके फर्किनुपर्ने नेपालीहरु प्रभावित हुने भएका छन् । होलिडे वा काम विशेषले नेपाल गएका नेपालीहरु नयां नियमको प्रत्यक्ष मारमा पर्ने भएका हुन् ।

आउंदो १९ मार्च शुक्रबार बिहान ४ बजेपछि कतार हुंदै बेलायत आउने यात्रुले अनिवार्य १० दिन क्वारेन्टिन बस्नुपर्नेछ र यसको खर्च १७५० पाउण्ड लाग्छ ।

‘क्वारेन्टिन खर्च अत्यधिक तिर्नुपर्ने भएपछि नेपालीहरु अहिले डेट सारिदिन आत्तिरहेका छन्’, लन्डन ग्रीनफोर्डस्थित केटिएम ट्राभल एण्ड टुर्सका सञ्चालक सुनिल थापा भन्छन्, ‘मिति सार्दा महंगो त पर्छ नै, नेपालबाट आउने यात्रुलाई एयरलाइन्सहरु पनि अहिले धेरै कम भएकाले व्यवस्थापनमा अप्ठेरो परेको छ ।’

अहिले नेपाल जाने आउने हवाइ उडान पनि सिमित छन् । टर्किस एयरलाइन्स हप्ताको दुई-तीन पटकमात्र नेपाल जाने तर कतार एयरवेज दैनिक तीन चारवटा फ्लाइट भएकाले पनि नेपालीहरु कतार नै रोज्छन् । थापा नेपालीलाई यूके आउन सिंगापुर एयरलाइन्स पनि एउटा विकल्प रहेको बताउंछन् तर उनकै भनाइमा त्यसो गर्दा टिकट महंगो पर्न जान्छ ।

होटलमा १७५० पाउण्ड खर्च गर्नु भन्दा त टिकट अलिक महंगो परेपनि छिट्टै फर्कन सुझाउंछन् उनी । कतार ‘ट्रान्जिट’ भएर आउनेलाई पनि नयां नियम लागू हुने थापाको भनाइ छ ।

बेलायतको नयां नियमले ट्राभल व्यवसाय पनि मारमा पर्ने व्यवसायीको गुनासो छ । धेरै झन्झटिला नियम र खर्चिलो हुने भएपछि यस्तो वातावरणमा मानिसहरु यात्रा गर्न हिच्किचाउंछन् । सरकारले बेलायत छाड्ने बेला पनि विमानस्थलमा यात्रा गर्नुपर्ने कारण खुलाएर फाराम भर्नुपर्ने र अत्यावश्यक बाहेकको यात्रा भए दुई सय पाउण्डसम्म जरिवाना वा एयरपोर्टबाटै फर्काइने घोषणा गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू