शनिबार, वैशाख ८, २०८१
21:07 | ०१:५२

राजदूत लोकदर्शन रेग्मीले राखे एनआरएनए यूकेसंग सहकार्य प्रस्ताव

भूतपूर्व गोर्खाहरुका माग गम्भीर रुपमा लिने

नेपाली लिङ्क मार्च १४, २०२१

लन्डन । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले भूतपूर्व गोर्खाहरुका माग सम्बन्धमा आफूले गम्भीर रुपमा लिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

एनआरएनए यूकेको छैठौं संघसंस्था प्रतिनिधि सभा (काउन्सिल बैठक) उद्घाटन सत्रका प्रमुख अतिथी राजदूत रेग्मीले भने, ‘हामीलाई भूपू गोर्खाका थप उपलब्धि हांसिल गर्नुछ । म त्यसमा लाग्नेछु ।’

यसअघिका राजदूत डा. दुर्गाबहादुर सुवेदीको पालामा भूतपूर्व गोर्खा, बेलायत र नेपाल सरकारका प्रतिनिधिबीच कयौं वार्ता भएपनि ति निष्कर्षविहीन भएका थिए ।

काउन्सिल बैठकमा राजदूत रेग्मीले एनआरएनए यूकेसंग सहकार्यको अपेक्षा गर्दै केही महत्वपूर्ण विषयमा प्रस्ताव राखेका छन् । ‘मैले आफ्नो प्राथमिकताको कार्यसूची नेपाल सरकारलाई पनि अवगत गराउने छु’, उनले भने ।

राजदूतले बेलायतमा नेपाली वस्तु र सेवाको बजार प्रवर्धन, पर्यटन प्रवर्धन, सीप तथा प्रविधि हस्तान्तरण, कृषिमा आधुनिकीकरण, जलवायू परिवर्तनसम्बन्धि आउंदो नोभेम्बरमा हुने ग्लास्गो सम्मेलनमा एनआरएनए सहभागिता आद विषयमा सहकार्य गर्न प्रस्ताव गरे ।

‘बेलायतमा अथाह बजार सम्भावना छ । यहां रुचाइने सेवा, वस्तु उत्पादन गर्ने सम्भावना नेपालमा धेरै छ’, राजदूतले भने, ‘विशेष गरि कृषि उत्पादनमा बेलायतबाट प्रविधि तथा सीप, वन, वनस्पति, हर्बलजस्ता औषजिन्य सामग्रीको बेलायतमा बजार प्रवर्धन र लगानीमा एनआरएनए यूकेसंग साझेदारी, सहकार्य गर्न मेरो प्रस्ताव छ ।’

राजदूत रेग्मीले काठमाडौं लन्डन सिधा हवाइ सेवा सुचारु गर्ने पहलमा कुनै कसर बांकी नराख्ने जनाउंदै शिखरमा पुगिसकेका बेलायतस्थित नेपाली वौद्धिक वर्गबाट नेपालले धेरै लाभ लिन सक्ने पनि बताए ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा जारी उक्त बैठक महासचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेका थिए । कार्यक्रम संयोजन उपाध्यक्ष रोजिनाप्रधान राईले गरेकी छन् ।

कार्यक्रमको उद्घाटन सत्रमा एनआरएनए उपाध्यक्ष डा. बद्री केसी, एनआरएनए सल्लाहकार विश्वआदर्श पण्डित, एनआरएनए यूके संरक्षक तथा पूर्व अध्यक्षहरु सूर्य गुरुङ र योगकुमार फगामी, आइसीसी सदस्य रामशरण सिम्खडा, नेपलिज डक्टर्स एसोसिएसन यूके अध्यक्ष डा. रमेश खोजु, मगर संघ यूके अध्यक्ष सुनिल राना, सल्लाहकार शिवजी श्रेष्ठ, नेपलिज वुमन एसोसिएसन यूके आरती श्रेष्ठ, तमुधिं यूके वरिष्ठ उपाध्यक्ष हरि गुरुङ, पासा पुच गुठी यूके बोर्ड अफ ट्रष्टीज अध्यक्ष ओजेश सिंह, साझा नेपाली समाज मिडल्याण्ड महेश अधिकारी, कर्ण शाही, खुशीमान गुरुङ, बलबहादुर थापा, यज्ञमूर्ती ढकाल, अर्कराज तिमिल्सिना लगायतले शुभकामना दिएका थिए ।

दोश्रो चरणमा बेलायतस्थित विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरुले आ आफ्नो मन्तव्य राख्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू