शुक्रबार, चैत १६, २०८०
07:51 | १३:३६

काठमाडौँ मेयर कप क्रिकेट फाइनलमा पुलिस क्लब

रासस मार्च १०, २०२१

काठमाडौँ । नेपाल पुलिस क्लब काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँ मेयर–११ लाई १०३ रनले पराजित गर्दै पुलिस फाइनलमा पुगेको हो ।

पुलिस क्लबले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ४७ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १९७ रन बनायो । एक सय ९८ रनको विजय लक्ष्यसहित जवाफी ब्याटिङ गरेको काठमाडौँ मेयर ११ ले ३१ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै ९४ रन मात्र बनाउन सक्यो ।

काठमाडौँ मेयर ११ का लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक २६ रन बनाए । यस्तै कृष्ण कार्कीले १९ तथा सिद्धान्त लोहनीले १८ रन बनाए । बलिङतर्फ पुलिसका पवन सर्राफले चार, दीपेन्द्रसिंह ऐरीले तीन तथा ललित राजवंशीले दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसका लागि योगेन्द्रसिंह कार्कीले सर्वाधिक ४० रन बनाए ।

त्यस्तै कुशल भुर्तेलले ३४, पवन सर्राफले २८, दीपेन्द्रसिंह ऐरीले २४, सुनिल धमलाले २२ तथा दिलीप नाथले १२ रनको योगदान दिए । बलिङतर्फ काठमाडौँ मेयर ११ का सन्दीप लामिछाने, हरिशङ्कर साह र विपिन खत्रीले समान तीन–तीन विकेट लिए । खेलको प्लेयर अफ दी म्याच पुलिसका पवन सर्राफ घोषित भए ।

प्रतियोगितामा पुलिसको यो तेस्रो जित हो । जितसँगै पुलिस चार खेलमा छ अङ्क जोड्दै फाइनलमा पुग्न सफल भएको हो । शीर्ष स्थानमा रहेको पुलिसले पहिलो खेलमा वाग्मती प्रदेशलाई हराएको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित भएको थियो । पुलिसले तेस्रो खेलमा आर्मीलाई पराजित गरेको थियो । काठमाडौँको यो दोस्रो हार हो । काठमाडौँले तीन खेलमा दुई अङ्क जोडेको छ । पहिलो खेलमा काठमाडौँ मेयर ११ ले वाग्मती प्रदेशलाई हराएको थियो । दोस्रो खेलमा काठमाडौँ मेयर ११ आर्मीसँग पराजित भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू