शुक्रबार, चैत १६, २०८०
11:46 | १७:३१

मृगौला पीडित स्वेतालाई बचाउन सकिएन, परिवारलाई बेलायतबाट २ लाख

नेपाली लिङ्क मार्च ७, २०२१

लन्डन । मुस्ताङ थासाङ गाउंपालिका ३ कालोपानी, लेते घर भइ अध्ययनको सिलसिलामा हरिचोक, पोखरा बस्दै आएकी २५ वर्षीया स्वेता अवस्थीको दुवै मृगौला फेल भयो । फेर्न दयनीय थियो उनको आर्थिक अवस्था ।

स्वेताको मृगौला प्रत्यारोपणका लागि सहयोग जुटाउन लागिन् सोहि गाउंकी छिमेकी हाल डेमसाइड पोखरा बस्ने समाजसेवी आत्मा तुलाचन । स्वेतालाई आफ्नै आमाले मृगौला प्रदान गर्ने तय भइसकेको थियो । तर, मृगौला प्रत्यारोपणको अन्तिम तयारी भइसकेको अवस्थामा गत माघ ७ गते कोभिड १९ का कारण उनको दुःखद निधन भयो ।

स्वेताका आमाबुवाको आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण संकलन भइरहेको चन्दा परिवारलाई दिने सोच बनाएर आत्मा तुलाचनले फेसबुक पोष्टबाट अपिल गरिन् ।

सोही बेला नेपाल विदामा गएकी मुस्ताङ घर भइ हाल बेजिङ्स्टोक निवासी अनिता शेरचनले समाजसेवी सुधा गुरुङसम्म पुरयाइन् अपिल । गुरुङले पहिलो चरणमा आफू र आफ्ना केहि साथीसंग सहयोग संकलन गरी दशैं अघि रु २९ हजार आत्मा तुलाचनमार्फत स्वेतालाई दिएकी थिइन् ।

त्यसपछि पनि सुधा गुरुङ र उनकी साथी इन्द्र (उमा) गुरुङको संयुक्त पहलमा दोश्रो चरणमा रु १ लाख ७५ हजार संकलन गरी स्वेतालाई हस्तान्तरण गर्ने तयारीकै बेला गुरुङ स्वयं स-परिवार कोरोना संक्रमणबाट नराम्रोसंग पीडित हुन पुगिन् । करिब ३ सातापछि आत्मा तुलाचनलाई सो रकम हस्तान्तरण गर्न सम्पर्क गर्दा स्वेतालाई कोरोनाले मृत्युको मुखमा पुरयाइसकेको थियो ।

स्वेता जिवितै हुंदा सो रकम उनी समक्ष पुरयाउन नपाए पनि मरणोपरान्त उनकी आमालाई आत्मा तुलाचन र विकल शेरचनमार्फत हस्तान्तरण गरिएको सुधाले बताइन् । सो रकम विकल शेरचनले गत शुक्रबार मुस्ताङ लेतेमै गएर एक समारोहबीच स्वेताकी आमालाई प्रदान गरेका हुन् ।

स्वेताको उपचारका क्रममा ऋणमा डुबेका उनका विपन्न आमा बुवालाई सो रकमले केही राहत पुगेको आत्मा तुलाचनले बताएकी छन् ।

तुलाचन र विकल शेरचनले पहिलो चरणको सहयोग रकम रु ६ लाख १२ हजार ६८२ पहिले नै स्वेतालाई हस्तान्तरण गरिसकेका थिए । तुलाचनको पहलमा संकलित बांकी रकम साथै बेलायतबट दोश्रो चरणमा गुरुङ्द्वयको पहलमा संकलित रकम रु १ लाख ७५ हजार हालै उनका आमा बुवालाई प्रदान 
गरिएको हो ।

पहिलो र दोश्रो चरणमा कुल रु १० लाख ९७ हजार १२१ संकलन गरिएको जानकारी तुलाचनले दिइन् । सो रकमबाट स्वेताको आमा बुवाले उनको उपचारार्थ लिएका सबै ऋण चुक्ता गरेका छन् । स्वेता अध्ययनरत रहेको थासाङ लेते स्थित ज्ञानोदय माविमा स्वर्गीय स्वेता अवस्थी स्मृति कोष खडा गर्न रु ५० हजार प्रदान गरी बांकी रकम मुस्ताङ निवासी श्रीमती निर्मला शेरचनको संरक्षकत्वमा स्व. स्वेताका आमा बुवाको नाममा ‘फिक्स डिपोजिट’ खातामा जम्मा गरिने विकल शेरचनले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू