शुक्रबार, चैत १६, २०८०
00:51 | ०६:३६

जोन्सनको खोपलाई अमेरिकामा मान्यता, बेलायतलाई ३० मिलियन डोज

एक डोज मात्र लगाए पुग्ने

नेपाली लिङ्क फ्रेब्रवरी २८, २०२१

लन्डन । फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी ‘जेनसेन’ ले  विकास गरेको कोरोना विरुद्धको खोपलाई नियामक निकाय अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले तेस्रो खोपको रुपमा आममानिसमा प्रयोगको लागि अनुमति दिएको छ ।

जोन्सन एण्ड जोन्सनको खोपलाई मान्यता दिने अमेरिका विश्वको पहिलो मुलुक बनेको छ । एक डोजमात्र लगाए पुग्ने उक्त खोप गम्भीर बिरामीका लागि ८५ प्रतिशत भन्दा बढी प्रभावकारी छ भने सामान्य अर्थात मध्यम अवस्थाका बिरामीका लागि ६६ प्रतिशत प्रभावकारी रहेको बीबीसीमा उल्लेख छ ।

यस खोपको परीक्षण अमेरिका, दक्षिण अफ्रिका र ल्याटिन अमेरिकाका ४४ हजारभन्दा बढी व्यक्तिमा गरिएको बताइएको छ । खोपको परीक्षणमा सहभागीमध्ये कसैको पनि मृत्यु नभएको र कसैलाई अस्पताल भर्ना नगरिएको अधिकारीहरुले बताएका छन् ।

फाइजर, मोडेर्ना जस्ता खोपको तुलनामा जोन्सन खोप आर्थिक दृष्टिकोणले पनि फाइदाजनक हुनुकासाथै फ्रिजरको सट्टा सामान्य रेफ्रिजेरेटरमा नै भण्डारण गर्न सकिनेछ ।

उक्त कम्पनीले आउँदो जुनसम्ममा अमेरिकालाई १०० मिलियन डोज खोप उपलब्ध गराउने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले तेस्रो खोपलाई अनुमति दिएको बताउँदै कोभिड–१९ विरुद्धको संघर्ष अझै समाप्त भइनसकेको बताए ।

राष्ट्रपति बाइडेनले जारी गरेको विज्ञप्तिमा जोन्सन कम्पनीले विकास गरेको खोप सफल देखिएकामा सबै अमेरिकी खुशी भएको बताउँदै कोरोनाभाइरसले सिर्जना गरेको सङ्कट समाधान गर्न सबैलाई यस समाचारले उत्साहित गरेको उल्लेख छ ।

जोन्सनको खोप गम्भीर प्रकृतिको कोभिड–१९ रोकथाम गर्न पनि सफल हुने दाबी गरिएको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोभिड–१९ को नयाँ स्वरुपलाई पनि रोकथाम गर्न जोन्सनको खोप प्रभावकारी देखिएको जनाएको छ ।

अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेज पारित गरेसँगै जोन्सनको खोपले पनि अमेरिकी एफडीएबाट स्वीकृति पाएको छ । यस राहत प्याकेजमा खोप आपूर्ति र ढुवानी गर्ने, विद्यालय पुनः खोल्ने तथा स्थानीय सरकारलाई थप राहत दिने लगायत आर्थिक संकटबाट जुधिरहेका अमेरिकीलाई सोझै १४०० डलर राहत दिने कुरा समेटिएको छ ।

यो प्रस्तावलाई अब सिनेटले पारित गर्नु पर्नेछ । अमेरिकी प्रशासनले कोभिड विरुद्ध जुध्न यसअघि पनि २२ खर्ब डलरको आर्थिक राहत प्याकेज स्वीकृत गरिसकेको छ ।

अमेरिकामा कोभिड–१९ को संक्रमणबाट हालसम्म झण्डै पाँच लाख व्यक्तिको ज्यान गइसकेको छ । शनिबार पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा एक हजार ८४९ जनाको ज्यान गएको थियो ।

जोन्सनको ‘जेनसेन’ खोपलाई बेलायतले पनि ३० मिलियन डोज अर्डर गरिसकेको छ । यसैगरी इयूले २०० मिलियन, क्यानाडाले ३८ मिलियन र कोभ्याक्स राष्ट्रका लागि पांच सय मिलियन डोज अर्डर भइसकेको खोप निर्माता कम्पनीले बताएको छ ।

यो खोप एकपटक लगाएपछि १२ महिनासम्म काम गर्ने बताइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू