शुक्रबार, वैशाख ७, २०८१
07:09 | ११:५४

यूकेमा नर्सिङ अध्ययनपछि काम गर्न पाउने सुविधाले नेपाली विद्यार्थी आकर्षित

नेपाली लिङ्क फ्रेब्रवरी २४, २०२१

लन्डन । कोरोना महामारीपछि बेलायती विश्वविद्यालयमा नर्सिङ विषय पढ्ने विद्यार्थीको आकर्षण बढेको छ । युनिभर्सिटी एड्मिसन्स सर्भिस (युकास) को तथ्यांकअनुसार नर्सिङ पढ्न आवेदन दिनेको संख्या ३२ प्रतिशतले वृद्धि भएको हो ।

युकासको तथ्यांकअनुसार गत जनवरी २९ सम्म ६० हजार १ सय ३० जनाले नर्सिङ अध्ययनका लागि आवेदन दिएका छन् । विद्यालयस्तरीय पढाइ सकेका बेलायती विद्यार्थीमा पनि गत वर्षभन्दा यस पटक २७ प्रतिशत बढी अर्थात् १६ हजार ५ सय ६० जनाले नर्सिङ विषय रोजेका छन् ।

यस वर्ष पहिलो पटक ३५ वर्ष नाघेका १० हजारभन्दा बढीले नर्सिङ अध्ययनका लागि आवेदन दिएका छन्, जुन अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतले बढी हो । युरोपेली संघ (ईयू) बाहेकका मुलुकबाट नर्सिङ अध्ययन गर्न बेलायत आउनेको संख्यामा पनि विगतको तुलनामा वृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष १७ प्रतिशत बढी अर्थात् ८५ हजार ६ सय १० जना विद्यार्थीले आवेदन दिएका छन् । युकास प्रमुख कार्यकारी क्लेयर मर्चेन्टको भनाइमा एक वर्षयता मेडिकल वार्डहरूबाट आएका प्रेरणादायी कथाका कारण विद्यार्थीमा यसप्रति आकर्षण बढेको हो । बेलायत सरकारले राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) लाई ५० हजार नर्स उपलब्ध गराउने लक्ष्यमा यो अर्को खुट्किलो भएको बताएको छ ।

बेलायती विश्वविद्यालयमा सबै विषय अध्ययनका लागि आवेदन दिनेको संख्यामा भने भारी गिरावट आएको छ । ईयूबाट यो वर्ष आवेदन दिनेको संख्या ४० प्रतिशतले घटेको अर्थात् अघिल्लो वर्षभन्दा २६ हजार १० जना कमी भएको तथ्यांकले देखाएको छ । युकासले सन् २०२० को अन्त्यमा ब्रेक्जिट अन्योल र विद्यार्थीलाई हुने सहयोग परिवर्तनका कारण ईयूमा आवद्ध मुलुकका विद्यार्थीमा बेलायत आउन विकर्षण भएको जनाएको छ । बेलायतमा ‘क्वालिफाइड’ नर्सका लागि धेरै अवसर रहेको बताइन्छ । तर ब्रेक्जिटका कारण युरोपेली मुलुकका नर्सहरू फर्कने क्रममा रहेकाले बेलायतमा नर्स अभावको दर बढ्ने चिन्ताबीच अवसर पनि बढेको हो ।

इंग्ल्यान्डमा स्वास्थ्य प्रणालीमा काम गर्ने स्वतन्त्र थिंक ट्यांक किङसफन्डका अनुसार बेलायतमा ३८ हजार नर्सिङ वर्कफोर्सका लागि रोजगारीको अवसर छ भने ब्रिटिस मेडिकल एसोसिएसन (बीएमए) को तथ्यांकमा ८ हजारभन्दा बढी मेडिकल डाक्टरको अभाव छ । बेलायतमा नर्सिङ अध्ययनका लागि नेपाली विद्यार्थी आउने क्रम पनि बढेको शैक्षिक परामर्शदाताहरूले बताएका छन् । बेलायत सरकारले अध्ययनपछि दुई वर्ष पूर्णकालीन रूपमा काम गर्न पाउने स्किम पोस्ट स्टडी वर्क (पीएसडब्लू) फेरि कार्यान्वयनमा ल्याएपछि नेपाली विद्यार्थीहरूको आकर्षण पनि बढेको उनीहरूको भनाइ छ । तर यसको यकिन तथ्यांक छैन ।

लन्डनस्थित शैक्षिक परामर्शदाता कम्पनी रियल ड्रिम्सका निर्देशक एवं नर्सिङ होम व्यवसायी वसन्त नेपाल बेलायतमा नर्सिङ पढ्न आउने कतिपय नेपाली विद्यार्थी यहाँको नियमबाट बेखबर पाइएको बताउँछन् । नेपालबाट ‘टप अप’ डिग्री होइन, तीनवर्षे ब्याचलर्स डिग्री नै पढ्ने गरी बेलायत आउन उनको सुझाव छ । ‘नेपालबाट कन्सल्टेन्सीले स्टाफ नर्सहरूलाई बीएससी नर्सिङ (टपअप डिग्री) एक वर्षको अध्ययन गरी बेलायतको नर्स बन्न पाइन्छ भनेर मार्केटिङ गरिरहेका छन् । यो सरासर भ्रामक हो,’ निर्देशक नेपालले भने, ‘बेलायतमा टपअप डिग्री गरेर कुनै पनि हालतमा योग्य नर्स बनिँदैन । यो केवल बेलायत प्रवेश गर्ने एउटा उपाय मात्र हो ।’

निर्देशक नेपालका अनुसार बेलायतमा नर्सिङ पढ्ने हो भने विश्वविद्यालयहरूले तीन वर्षको ‘ब्याचलर डिग्री इन नर्सिङ वीथ एनएमसी रजिस्ट्रेसन कोर्स’ सञ्चालन गरेका हुन्छन् । यो कोर्स सकेपछि विद्यार्थी यूकेकै योग्य नर्स हुन्छन् । यो कोर्समा नेपालबाट सर्टिफिकेट लेभल नर्सिङ पास गरेका र साइन्स पढेका विद्यार्थी आउन सक्छन् । बेलायतकै विश्वविद्यालयबाट तीन वर्षको ब्याचलर्स इन नर्सिङ गरिसकेपछि त्यही डिग्रीको आधारमा नर्सिङ एन्ड मिडवाइफरी काउन्सिल (एनएमसी) ले रजिस्टर्ड नर्सको पिन नम्बर (पर्सनल आइडेन्टीफिकेसन नम्बर) जारी गर्ने गर्छ ।

लन्डन र नेपालमा पनि कार्यालय रहेको शैक्षिक परामर्शदाता कम्पनी एम्पल इन्टरनेसनल एजुकेसनका निर्देशक प्रमोद अधिकारीका अनुसार नेपालबाट बीएससी एडल्ट नर्सिङ, बीएससी नर्सिङ, एमएससी नर्सिङलगायत कोर्समा विद्यार्थी बेलायत आउने गरेका छन् । कतिपय विद्यार्थी पर्याप्त जानकारीबिनै एकवर्षे ‘टप अप कोर्स’ मा आइरहेको भन्दै अधिकारीले त्यस्ता कोर्सलाई ‘एनएमसी’ ले मान्यता नदिनेतर्फ सचेत हुन पनि सुझाए ।

बेलायत ईयूबाट पूर्ण रूपमा अलग्गिएपछि गत जनवरी १ देखि नयाँ अध्यागमन प्रणालीमा गइसकेको छ । अस्ट्रेलियाली शैलीको अध्यागमन प्रणालीमा ईयू र गैरईयू नागरिकलाई बेलायतमा अध्ययन एवं रोजगारीका लागि समान नियम लागू हुन्छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू