मंगलबार, चैत ६, २०८०
03:00 | ०८:४५

इंग्ल्याण्डमा तीन तहमा लकडाउन खोल्ने तयारी

नेपाली लिङ्क फ्रेब्रवरी २१, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणदर घटेसंगै हाल जारी लकडाउन खुकुलो बनाउने तयारी भइरहेको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या, मृतक संख्या र अस्पताल भर्ना हुनेको संख्यामा उल्लेखनीय सुधार आइरहेको सरकारी तथ्यांकले देखाएको छ ।

हाल देखिएको निरन्तर सुधारका कारण लकडाउन सहज पार्ने उद्देश्यस्वरूप आउँदो मार्च ८ तारिखबाट पहिलो चरणमा स्कुलहरु खोल्ने घोषणा यसअघि नै प्रधानमन्त्री बोरिस जोन्सनले गरिसकेका छन् ।

हाल जारी लकडाउन थप सहज बनाउने सम्बन्धमा प्रधानमन्त्री बोरिस जोन्सनले भोलि सोमबार घोषणा गर्ने तयारी गरेका छन् ।

प्राप्त जानकारी अनुसार लकडाउनलाई तीन तहमा खुकुलो पार्दै लैजाने योजना छ । जसअनुरुप मार्च ८ तारिखबाट पहिलो चरणमा स्कुलहरु सञ्चालन, दोस्रो चरणमा अत्यावश्यकबाहेकका पसलहरु सञ्चालन र तेस्रो चरण अन्तर्गत पब तथा रेष्टुरेन्टहरु सञ्चालन गरिने छ ।

यसबारेमा अन्तिम निर्णय आज बस्ने ‘कोभिड ओ’ कमिटीले गर्ने बताइएको छ । प्रधानमन्त्रीले भोलि अपरान्ह क्याबिनेट बैठकको अध्यक्षता गर्नेछन् र साँझ लकडाउन सम्बन्धि भावी योजना घोषणा गर्ने कार्यक्रम छ ।

आगामी जुलाई अन्तसम्ममा बेलायतका सम्पूर्ण वयस्कहरुलाई कोरोना विरुद्धको खोप दिइसक्ने प्रधानमन्त्रीले आजै उद्घोष गरेका छन् ।

बेलायतमा जारी लकडाउन र कोरोना विरुद्धको खोपलाई तीव्रता दिइएसंगै संक्रमणमा पनि कमी आएको छ ।

कोभिडविरुद्धको खोपलाई आम प्रयोगको अनुमति दिने विश्वकै पहिलो मुलुक बेलायतमा हाल फाइजर र एस्ट्रानजेनेका खोप एक करोड ७० लाख बढी वितरण गरिसकिएको डिपार्टमेन्ट एण्ड हेल्थ एण्ड सोसल केयरले जनाएको छ  ।

शनिबार सार्वजनिक तथ्याँक अनुसार हालसम्म बेलायतमा एक लाख २० हजार ३६५ जनाकोरोना संक्रमितको मृत्यु भएको छ भने  संक्रमित संख्या ४१ लाख ५ हजार ६७५ पुगेको छ  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू