शनिबार, वैशाख ८, २०८१
10:33 | १५:१८

हत्या भएको १७ औँ दिनमा भागरथीको अन्तिम संस्कार

रासस फ्रेब्रवरी १९, २०२१

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानी निवासी भागरथीको शव अन्तिम संस्कारका लागि यात्रा गरिँदै । तस्बिर- विनोद सिंह विष्ट, रासस

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७  चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव उनका आफन्तले बुझेका छन् । मृत भेटिएकी १७ औँ दिनमा आज उनका आफन्तले शव बुझेका हुन् ।  

शवलाई आजै दशरथचन्द नगरपालिका–६ सेरास्थित महाकाली आर्यघाटमा अन्त्येष्टि गरिएको भागरथीका काका शिवराज भट्टले जानकारी दिए । भागरथीको शव आजसम्म जिल्ला बैतडीको शवगृहमा राखिएको थियो ।

भागरथीको  शवयात्रामा घरपरिवार, आफन्त, शुभेच्छुक, जनप्रतिनिधि, राजनीतिक दललगायतको सहभागिता रहेको थियो । शवयात्राका क्रममा रुवाबासीसमेत चलेको थियो । गत माघ २२ गते वीभत्स र निर्वस्त्र अवस्थामा मृत भेटिएपछि अपराधी पत्ता लगाउनुपर्ने माग राख्दै आफन्तले उनका शव बुझ्न अस्वीकार गरेका थिए । प्रहरीले  बुधबार चडेपानीकै दिनेश भट्टलाई घटनामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको थियो ।  

भागरथीको शव परीक्षण रिपोर्टमा बलात्कारपछि हत्या भएको उल्लेख छ । सार्वजनिक गरेको दिनसम्म दिनेशले आफूले भागरथीको हत्यामात्रै गरेको बताउँदै आएका थिए तर बिहीबार दिनेशका बुबासमेत राखेर सरकारी वकिलमा गरिएको बयानमा भने दिनेशले आफूले नै बलात्कार गरी हत्या गरेको स्वीकार गरेका थिए । त्यसपछि मात्रै भागरथीका आफन्तले शव बुझ्न मानेका हुन् ।

शव बुझ्नुभन्दा पहिला आज बिहान पीडित परिवारले प्रहरी अधिकृत तथा सम्बन्धित निकायलाई जिल्ला प्रशासनमा भेटेर अभियुक्त भनिएका दिनेशले बयान फेरिरहेकाले अझै पनि अनुसन्धान निष्पक्षरुपमा गर्न आग्रह गरेका थिए ।  

बुधबार नै भागरथीका दाइ शङ्कर भट्टले दिनेशका विरुद्ध कर्तव्य ज्यान र बलात्कारसम्बन्धी कसुरमा कारवाहीका लागि जाहेरी दर्ता गरेकाले जिल्ला अदालतबाट म्याद थप गरी पाँच दिन अनुसन्धानका लागि अनुमति दिइसकेको छ ।

भागरथी र दिनेश एकै गाउँ चडेपानीका हुन् । नाताले दुवै दिदीभाइ पर्छन् । दोगडाकेदार गाउँपालिका–३ श्रीकोटस्थित सनातन धर्म माविमा भागरथी कक्षा १२ र दिनेश कक्षा ११ मा पढ्थे । 

गत माघ २१ गते विद्यालयबाट घर फर्किएकी भागरथी साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा माघ २२ गते स्थानीय लबलेक जङ्गलमा वीभत्स र निर्वस्त्र अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी उत्तमराज सुवेदी नेतृत्वको टोली खटिएको थियो ।

उक्त टोलीमा प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे, केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित रहेका थिए ।  

दिनेशको शङ्कास्पद गतिविधि, प्राविधिक पक्षको विश्लेषण, लोकेसन, प्रत्यक्षदर्शी र साविती बयानका आधारमा सार्वजनिक गरिएको थियो ।

दिनेशले घरायसी रिसिइबी र माघ २१ गते घटना भएको दिन विद्यालयको हाफटाइममा जिस्काएपछि घरजाने बाटो लबलेक जङ्गलमा बलात्कार र हत्या गरेको बताइएको थियो । हाल वरिष्ठ उपरीक्षक पाण्डेको टोलीको नेतृत्वले थप अनुसन्धान गरिरहेको छ । 

कुनै पनि अपराधको राजनीतिकरण गर्नु हुँदैन: नेता साउद

नेपाली कांग्रेसका नेता तथा पार्टीका केन्द्रीय सदस्य एनपी साउदले कुनै पनि अपराधको राजनीतिकरण गर्न नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन बैतडीले बिहीबार पाटनमा गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्रीसमेत रहेका नेता साउदले भागरथी भट्टको बलात्कारपछि हत्या भएपछि सार्वजनिक गरिएका अभियुक्तमाथि राम्रोसँग छानबिन गर्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली कांग्रेस कुनै पनि अपराधको राजनीतिकरण गर्न चाहन्न, तर कसैले पनि अपराधलाई राजनीतिकरण गरेर उन्मुक्ति गर्ने प्रयास गर्नुहुन्न ।’

सार्वजनिक गरिएका अभियुक्तमाथि राम्रोसँग अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै उनले दोषीले उन्मुक्ति पाउन नहुने र निर्दोषलाई फसाउन नहुनेमा जोड दिए । उनले अगाडि भने, ‘भागरथीको नियति पनि निर्मला पन्तकै जस्तो नहोस् भन्ने कुरामा नेपाली कांग्रेस गम्भीर छ, यसमा कुनै दाषी मान्छे नउम्कियोस्, निर्दोषले जेल जान नपरोस्, यतातिर सजग भएर प्रशासनले कदम चाल्नुपर्छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू