मंगलबार, चैत ६, २०८०
03:19 | ०९:०४

यूकेमा नर्सिङ पढ्न विदेशी विद्यार्थीको आकर्षण बढ्दो, नेपालबाट आउने पनि बढे

नेपाली लिङ्क फ्रेब्रवरी १८, २०२१

लन्डन । बेलायतमा नर्सिङ विषय अध्ययनका लागि विश्वविद्यालयमा आवेदन दिनेहरुको संख्या पछिल्लो समयमा अत्यधिक बढेको छ ।

कोरोना महामारीका बेलामा नर्सिङ विषयमा अध्ययन गर्ने विद्यार्थीको संख्या करिब एक तिहाई अर्थात ३३ प्रतिशले वृद्धि भएको तथ्यांकले देखाएको छ । सरकारले थप ५० हजार नर्सहरु उपलब्ध गराउने बताएको छ ।

यो वर्ष पहिलोपटक ३५ वर्ष माथिका करिब १० हजारले नर्सिङ अध्ययनका लागि आवेदन दिएका छन् जुन ३९ प्रतिशतले वृद्धि भएको हो । तर, इयूबाट हुने आवेदनमा भने यो वर्ष ४० प्रतिशतले गिरावट आएको तथ्यांकले देखाएको छ ।

हालै पूरा भएको ब्रेक्जिटमा गरिएका परिवर्तनका कारण पनि यो संख्यामा कमी आएको हो । तर, इयूबाहेकका मुलुकबाट बेलायत अध्ययन गर्न आउनेको संख्यामा भने विगतको तुलनामा वृद्धि भएको छ ।

गत वर्षको तुलनामा यो वर्ष १७ प्रतिशत बढी अर्थात ८५ हजार ६१० जना विद्यार्थीले बेलायतमा अध्ययनका लागि आवेदन दिएका छन् ।

विशेषगरी महामारीका बेलामा बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले निभाएको भूमिकाका कारण मानिसहरु बढी प्रेरित भएको बताइएको छ ।

नेपालबाट आउने विद्यार्थी पनि बढे

बेलायतमा नर्सिङ अध्ययनको लागि आउने नेपाली विद्यार्थीहरुको संख्या पनि पछिल्लो समय वृद्धि भएको छ । बेलायत सरकारले पोस्ट स्टडी वर्क (पिएसडब्लु) सुविधा फेरि कार्यान्वयनमा ल्याएपछि नेपाली विद्यार्थीहरुको आकर्षण पनि बढेको हो ।

लण्डनस्थित शैक्षिक परामर्शदाता कम्पनी ‘एम्पल इन्टरनेसनल एजुकेसन’ का निर्देशक प्रमोद अधिकारीका अनुसार नेपालबाट बिएस्सी एडल्ट नर्सिङ, बिएस्सी नर्सिङ, एमएस्सी नर्सिङ लगायतका कोर्समा विद्यार्थीहरु बेलायत आउने गरेका छन् ।

कतिपय विद्यार्थी पर्याप्त जानकारीबिना नै एक वर्षे ‘टप अप कोर्स’ मा आइरहेको भन्दै अधिकारीले त्यस्ता कोर्सलाई ‘एनएमसी’ ले मान्यता प्रदान नगर्नेतर्फ सचेत हुन आवश्यक रहेको बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू