शुक्रबार, चैत १६, २०८०
08:00 | १३:४५

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १७ हजार नाघ्यो

एक करोड ५० लाख बढीले लगाए खोप

नेपाली लिङ्क फ्रेब्रवरी १४, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख १७ हजार नाघेको छ । जसमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु हुनेहरु पर्दछन्  ।

आइतबार सार्वजनिक तथ्याँक अनुसार पछिल्लो २४ घन्टामा थप २५८ जना संक्रमितको मृत्यु भएको छ । यो संख्या धेरै पछिको सबैभन्दा कम मृतक संख्या हो । यससंगै बेलायतमा कोरोनाका मृतक संख्या एक लाख १७ हजार १६६ पुगेको छ ।

यसैगरि बितेको २४ घन्टामा थप १० हजार ९७२ जना नयां संक्रमित थपिएको स्वास्थ्य विभागले जानकारी दिएको छ । संक्रमित संख्या पनि निकै समयपछि दश हजारमा झरेको हो । बेलायतमा कुल संक्रमित संख्या ४० लाख ३८ हजार ७८ पुगेको छ ।

संक्रमण दरमा कमी आएसंगै बेलायतका अस्पतालमा उपचार गराउनेको संख्या पनि घटेको स्वास्थ्य विभागले जनाएको छ । हाल बेलायतको अस्पतालमा २३ हजार ३४१ जनाको उपचार भइरहेको छ भने दुई हजार ९४३ जना कोरोना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा एक करोड ५० लाख बढीले लगाए खोप

बेलायतमा एक करोड ५० लाख  भन्दा बढीले कोरोना विरुद्ध खोपको पहिलो डोज लिएका छन् । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को पछिल्लो तथ्याँक अनुसार हालसम्म एक करोड ५० लाख ६२ हजार १८९ जनाले खोपको पहिलो डोज लिएका हुन् ।

जसमध्ये पांच लाख ३७ हजार ७१५ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिएका छन् । प्रधानमन्त्री बोरिस जोन्सनले फेब्रुअरी १५ सम्ममा १५ मिलियन बेलायतवासी जनतालाई कोरोना विरुद्धको खोप दिने घोषणा गरे अनुरुप निर्धारित समयमै लक्ष्य पूरा भएको छ ।

आफूले गरेको बाचा पूरा भएको उपलक्ष्यमा प्रधानमन्त्रीले सोमबार पत्रकार सम्मेलन गर्ने भएका छन् । गत वर्ष डिसेम्बर ८ तारिखबाट कोरोनाको खोप शुरु गरिएको थियो । प्राथमिकताका आधारमा खोप वितरण गरी अनुसार भोलि सोमबारबाट ६५ वर्षदेखि ६९ वर्षबीचका मानिसलाई खोप दिन लागिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू