शुक्रबार, चैत १६, २०८०
11:10 | १६:५५

‘कोभिशिल्ड’ खोपमा देखिएको छैन् असर, ढुक्क भएर लगाउन अनुरोध

रासस जनवरी ३०, २०२१

कोरोना सङक्रमणबाट निधन भएका व्यक्तिको शव व्यवस्थापनमा खटिएका नेपाली सेनाका जवानलाई शुक्रबार धवलागिरी अस्पताल बागलुङमा कोरोना खोप दिईंदै । तस्वीर- रामबहादुर थापा, रासस

काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफैं हराएर जाने गरेको छ ।

खोप लगाएको ठाउँ रातो हुने, सुन्निने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । “आजसम्म खोप लगाएका व्यक्तिमा सामान्य असर देखिएका छन् । ती सबै व्यक्तिमा देखिएका असर केही समयपश्चात् आफँै निको भएको छ”, उनले भने, “खोपले काम गर्न थालेपछि त्यस्ता सामान्य असर देखिने गर्दछ । त्यस्तो असर कसैलाई दुई–तीन घण्टामा त कसैलाई एक÷दुई दिनमा निको हुन्छ ।”

उनले कसैलाई पनि हालसम्म जटिल स्वास्थ्य समस्या नआएको बताए । मन्त्रालयले खोप लगाउँदा हरेक अस्पतालका सम्भाव्य घटनाको व्यवस्थापनका लागि आवश्यक टिम तथा औषधि व्यवस्थापनसमेत गरेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले खोपपश्चात् अवाञ्छित घटनाको अनुगमन तथा व्यवस्थापन गर्नका लागि देशभरि नै विज्ञ टोली परिचालन गरिएको बताए । मन्त्रालयले सबैलाई ढुक्क भएर खोप लगाउन अनुरोधसमेत गरेको छ ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा सागरराज भण्डारीले १० जनामध्ये एक जनामा सामान्य समस्या दिएको बताए । उनले खोप लगाएको ठाउँ दुख्ने, सुन्निने, शरीर थाकेको जस्तो हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, जाडो लाग्ने जस्तो समस्या देखिएको बताए ।

मन्त्रालयका अनुसार अहिलेसम्म देशभरी १६९ खोप केन्द्रबाट ४६ हजार १९७ जनाले लगाएका छन् । भारत सरकारको सहयोगमा ल्याइएको उक्त १० लाख मात्रा खोप बुधबारबाट देशभर दिन थालिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू