शनिबार, वैशाख १५, २०८१
00:43 | ०५:२८

विद्यार्थी आन्दोलन मत्थर पार्न लक्सम्बालाई विदेश पठाउन चाहन्थ्यो पञ्चायती सरकार

कृष्णकुमार हेम्बा जनवरी २७, २०२१

डा. चन्द्रकुमार लक्सम्बाले आफनो यात्रा पूरा गरे । धेरै वर्ष पहिले उनको छोटो जीवनयात्रा म आफैंले तयार गरेको थिएँ । डा लक्सम्बाका बारेमा मैले संकलन गरेका यी जानकारीहरु पछि उनी आफले हेरेर भेरिफाइ गरेका थिए ।

उनको बारेमा चासो राख्नेहरुले थाहा नपाएका हुन सक्ने केही जानकारी यहाँ प्रस्तुत गर्ने जमर्को गरेको छु ।

लिम्बूवान ताप्लेजुङ सिकैचाका डा. चन्द्रकुमार लक्सम्बा लिम्बूले गाउँकै धुले स्कूलमा ५ कक्षा पूरा गरी वि.सं.२०३३ सालमा ताप्लेजुङको भानु माविबाट प्रवेशिका उत्तीर्ण गरे । सेन्टअपमा जिल्ला टपेका मेधावी विद्यार्थी डा. लक्सम्बाले सानैमा आमा गुमाए पनि बाजे जसबहादुर लक्सम्बाको प्रेरणा र कुशल मार्गनिर्देशनमा एकपछि अर्को सफलता चुम्दै गए । जसका पछाडि उनले जीवनमा थुप्रै संघर्ष गर्नुपरेको थियो ।

प्रवेशिका परीक्षाको रिजल्ट आउनासाथ उनी अध्ययनका लागि काठमाडौं अमृत साइन्स क्याम्पस (अस्कल) मा भर्ना भए । कक्षा ७ पढ्दा देखिनै वामराजनीतिमा आस्था राख्दै आएका उनले आइएस्सी सक्नासाथ शुरु भएको विद्यार्थी आन्दोलनको नशाले लट्ठिएको अस्कलले उनलाई पढाइभन्दा बढी राजनीतितिर आकर्षण गरयो ।

गणतन्त्र नेपालको जग वि. सं. २०३६ सालको विद्यार्थी आन्दोलन थियो । उक्त विद्यार्थी आन्दोलनमा डा. लक्सम्बाको पृथक र अर्थपूर्ण भूमिका रहेको छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । पाकिस्तानका तत्कालीन प्रधानमन्त्री जुल्फीकर अली भुट्टोलाई ज्याउल हक सैन्य सरकारले फाँसी दिएपछि त्यसको विरोधसँगै सल्किएको आन्दोलन उनकै क्याम्पस अस्कलबाट शुरु भएको थियो । सत्ता परिवर्तनका राजनीतिक बीउ उमार्ने अस्कल विद्यार्थी युनियनका अध्यक्षसमेत रहेका डा. लक्सम्बाको नेतृत्वमा नेपाल विद्यार्थी संघका बलबहादुर केसी, नेपाल प्रगतिशील विद्यार्थी संघ (पुष्पलाल समूह) का शरणविक्रम मल्ल र विष्णु मानन्धर निकट नेपाल विद्यार्थी फेडेरेसनका कैलाश कार्कीजस्ता आन्दोलन तुहाउने षडयन्त्रका मतियार विद्यार्थी नेताहरूलाई क्याम्पसमा ल्याएर कालोमोसो दलेर शहर परिक्रमा गराइएको थियो ।

शहर परिक्रमा गर्ने क्रममा गोरखापत्र संस्थान र तत्कालिन शाही नेपाल वायुसेवा निगममा आक्रमणसमेत भएको थियो । संयोग पनि कस्तो थियो भने सोही रात तत्कालीन राजा विरन्द्रले जनमतसंग्रह घोषणा गरे ।

जारी विद्यार्थी आन्दोलनलाई मत्थर पार्नकै लागि तत्कालीन सरकारले उनलाई मेडिसिन अध्ययनका लागि बंगलादेश पठाउन खोजेको थियो । राष्ट्रिय राजनीतिमा स्थापित भइसकेको व्यक्ति आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने निष्कर्षसँगै उनले त्यो अवसरलाई त्यागिदिए । भीम रावल, टंक कार्की, फम्फा भूसाल, लिलामणि पोखरेल, शरणविक्रम मल्लजस्ता हालका चर्चित वामपन्थी नेतासँगै राष्ट्रिय राजनीतिमा उदाएका डा. लक्सम्बालाई बहुदलको पराजय र परिवारिक वातावरणले गर्दा राजनीति उति फापेन । बिएस्सी पढाइको अन्तिम स्टेजको प्रोजेक्ट वर्क पूरा नगरी उनी कुम्लो कुटुरो बोकेर घर फर्के । धरान झर्नुअघि केही समय गाउँमै शिक्षण पेशामा लागेका डा. लक्सम्बा पुनः विज्ञानका मास्टरबा बने । त्यसपछि, केही समय घोपाको ब्रिटिश मिलिट्ररी अस्पतालमा थियटर टेक्निसयनको तालिम गरे ।

डा. लक्सम्बाको तीन पटकको प्रयासपछि मात्र लाहुरे हुने सपना साकार भयो । अरु युवाहरूजस्तो छनौंट प्रक्रियामा असफल भएर नभई आफ्नै कारण रहेछ । अघिल्ला दुई अवसरहरू त उनले आफै त्यागेका रहेछन् । गोर्खा कन्टिन्जेण्ट सिंगापुरमा सेवा गरिरहेका आफ्नो पिता इन्सपेक्टर आसबहादुरको करकापमा सन् १९७७ र १९८० दुईपटक छनौटमा परेर पनि उनी आफैंले त्यागेका थिए । एक समय उनी पाइलट तालिमका लागि सिंगापुर गएका थिए । तर स्वास्थ्य परीक्षणमा असफल भएपछि उनको जहाज उडाउने सपनाको पखेटा सधैँका लागि भाँचियो ।

कलिलो उमेरमै जीवनका अनेक उकाली ओराली भोगेका डा. लक्सम्बा बीचैमा अध्ययनलाई थाँती राखेर बन्दुक समात्न ब्रिटिश सेनामा लागे । सेनाको बन्द कोठामा बसी ९ वर्ष क्लर्क भएर विभिन्न प्रशासनिक कार्यहरू जिम्मेवारीपूर्वक सम्हाले । डा. लक्सम्बाभित्र गोर्खा सेनाको लडाकुपनको थुप्रै गुणहरू लुकेर बसेको अंग्रेज अधिकृतका तेजस्वी आँखाले देखेपछि उनलाई राइफल कम्पनीमा सरुवा गरियो । कुनै समय विद्यार्थी आन्दोलनमा नायक भइसकेका डा. लक्सम्बाले छोटो समयमा सोचेभन्दा राम्रै सफलताको शिखर उक्लन थालेका थिए ।

नेतृत्वदायी भूमिकामा अब्बल र कुशल प्रशासनिक क्षमताका कारण ब्रिटिश अधिकृतहरू उनलाई फास्ट ट्रयाकमा पदोन्नति गर्ने सोचमा थिए । उनको सफलता गोर्खा अफिसरका लागि आँखाको कसिङ्गर बन्यो । उनलाई सिध्याउन पर्दा पछाडि षडयन्त्रका अनेक खेलहरू हुन थालेको देखेर डा. लक्सम्बाले आफ्नो करिअरलाई स्वास्थ्य विभागमा स्थानान्तर गर्न वाध्य भए । स्वास्थ्यसम्बन्धी केही तालिममा विशिष्ठ श्रेणी परिणाम आएपछि उनलाई डिफेन्स मेडिकल टे्रनिङ सेन्टरमा प्रशिक्षणको काम दिइयो । सेनामा भएका बेला लण्डन विश्वविद्यालय सोआसको एक्सटर्नल प्रोगामद्वारा पाश्चात्य दर्शनशास्त्रमा अन्डरग्य्राजुएट र पब्लिक पोलिसीमा पोस्टग्य्राजुएट डिग्री गरे ।

परिश्रमी डा लक्सम्बालाई भाग्यले साथ दियो र डिफेन्स मेडिकल ट्रेनिङ सेन्टरले सरे विश्वविद्यालयबाट पिजीसीइ (द पोस्ट्ग्रयाजुएट सर्टिफिकेट इन एजुकेसन) गरायो । सैन्य जिम्मेवारीसँगै अध्ययनलाई निरन्तरता दिँदा अन्तमा उनले बन्दुकसँगै बेलायतको सरे विश्वविद्यालयबाट ‘लाइफ लङ लर्निङ’ मा विद्यावारिधि गरी छाडे ।

सेना निवृत्त भएपछि डा. लक्सम्बा केही वर्ष गोर्खा आन्दोलन, राजनीति, सामाजिक संघसंस्थाहरूमा खुलेरै लागे । एनआरएन् यूकेको प्रथम निर्वाचित उपाध्यक्ष उनी त्यसयता लगातार सल्लाहकार रहँदै आएका थिए । बिना कार्यक्रम र पारदर्शिता शून्य देखेपछि वाक्क भएर पछिल्लो समय उनी अलग्गै रहेर हेर्नमात्र रुचाउंथे । यद्यपि समाजका कमी कमजोरीहरूलाई पहिल्याएर यसको निराकरण कसरी गर्न सकिन्छ भन्दै दिन रात अध्ययन, अनुसन्धान, विश्लेषण एवम् विवेचनामा लागे । आवश्यकता अनुसार निरन्तर सहयोग र सुझाव दिइरहेका थिए ।

परिवारसहित बेलायत बसेका डा लक्सम्बा लामो समयदेखि प्रवासी नेपालीहरूको जनजीवन अध्ययनमा व्यस्त थिए । उनी नेपाल अध्ययन केन्द्र (सेन्टर फर नेपाल स्टडिज् ’सिएन्एस्’ यूकेका संस्थापक कार्यकारी निर्देशक र यसका सिनियर शोधकर्ता हुन् । उनकै अगुवाईमा प्रकाशित ‘ब्रिटिश –गोर्खा पेन्सन एण्ड एक्स गोर्खा क्याम्पियन अ रिभ्यू’ नामक पुस्तकले ब्रिटिश–गोर्खा सेनाहरूका लागि बनाइएको विवादास्पद पेन्सन नीतिको शल्यक्रिया गरेको छ । विस्तृत खोज तथा अनुसन्धान गरी तयार गरिएको यो पुस्तकले गोर्खा सेना र ब्रिटिश सरकारबीच लामो समयदेखि कायम विवादलाई निकास दिनका लागि प्रशस्त मार्ग निर्देशन गरेको छ । उनैको संयोजकत्वमा सिएनएस् यूकेले सन् २००७–२००९ मा बेलायतमा बसोबास गर्ने नेपालीहरूको जनगणना गरेको थियो ।

डा लक्सम्बा अक्सफोर्ड युनिभर्सिटी र सिएन्एस् यूकेले जारी गरेको ‘भर्नाकुलर रिलिजन प्रोजेक्ट’ सन् २००९–२०१२ का एक सक्रिय सोधकर्ता सदस्य पनि हुन् । नेपाल अध्ययन केन्द्रले गरेको सन् २०१५–२०१६ बिग लटरी फन्डेड् नेपाल अध्ययन केन्द्रको बेलायतमा रहेका सोसियल मोबिलिटी रिसर्च प्रोजेक्टका प्रमुख रिसर्चर हुन् । यो प्रोजेक्ट प्रवासी नेपालीहरूको सामाजिक जीवनमा आउने उथलपुथलबारे अर्को महत्वपूर्ण दस्ताबेज बन्न सक्छ । ‘द लिम्बू पिपल इन डकुमेन्ट यूके’ ( हिस्टोरिकल ब्याकग्राउन्ड) उनको पछिल्लो अनुसन्धानात्मक लेख हो । यसले बेलायतवासी, खासगरी, पछिल्ला पुस्तालाई आफ्नो मौलिक संस्कृति, संस्कार, इतिहास, सभ्यता बुझ्न ठूलो सहयोग पुरयाएको छ ।

(लेखक स्वर्गीय लक्सम्बाका सहकर्मी एवम् भूतपूर्व गोर्खा आन्दोलनका बेलायतस्थित एक अभियन्ता हुन्) 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू