शुक्रबार, चैत १६, २०८०
12:19 | १८:०४

नेपालको कोभिड खोप अभियानमा बेलायतको सहयोग

नेपाली लिङ्क जनवरी २७, २०२१

लन्डन । नेपालमा कोभिड खोप अभियानका लागि बेलायतको तर्फबाट समेत आर्थिक सहयोग प्राप्त भएको छ ।  

विश्व स्वास्थ्य संगठनको संलग्नतामा शुरु ‘कोभ्याक्स फेसिलिटी’ कार्यक्रमअन्तर्गत बेलायतको सहयोग नेपाललाई पनि मिलेको हो ।  

आर्थिक कमजोरीका कारण आफ्नो देशको लागि आवश्यक खोप आफै जुटाउन असमर्थ मुलुकहरुको लागि लक्षित ‘कोभ्याक्स फेसिलिटी’ कार्यक्रमलाई  बेलायतले करिब ८५ अर्ब रुपिया (५ सय ५० मिलियन पाउन्ड)  सहयोग उपलब्ध गराएको छ । जसबाट नेपालको कोभिड खोप अभियानलाई पनि सहयोग भएको छ ।  

मंगलबार नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले काठमाडौंमा नेपाल सरकारका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई भेटी नेपालको खोप अभियानबारे छलफल गरेकी छन् ।  

मन्त्री त्रिपाठीसंगको भेटको तस्विर ट्वीटरमा सार्वजनिक गर्दै राजदूत पोलिटले बेलायतमै बनेको कोभिड खोप नेपाल पुगेकोमा खुशी समेत व्यक्त गरेकी छन् ।  

‘नेपालका फ्रन्टलाइन स्वास्थ्यकर्मीहरुको लागि बेलायतमा निर्मित खोप नेपाल आइपुगेको देख्दा खुशी लागेको छ’- उनले ट्वीटमा भनेकी छन् ।  

बेलायतको अक्सफोर्ड युनिभर्सिटी र अस्ट्राजेनेका कम्पनीले संयुक्त रुपमा निर्माण गरेको खोप बुधबारदेखि नेपालमा पनि वितरण शुरु गरिएको छ ।  

यसअघि महामारीका कारण नेपालमा दैनिक गुजाराकै लागि संघर्ष गर्न बाध्य विपन्न मानिसहरुको सहयोगका लागि ‘विश्व खाद्य कार्यक्रम’ अन्तर्गत बेलायत सरकारले करिब ६८ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको थियो ।

त्यस्तै, बेलायत सरकारले कोभिड महामारी नियन्त्रणका लागि भन्दै यसअघि १८ मिलियन पाउण्ड बढीको आर्थिक सहयोग नेपाल सरकारलाई प्रदान गरिसकेको छ । नेपालको प्रमुख दाता राष्ट्र बेलायतले ‘डिएफआइडी’ मार्फत् वर्षेनी सरदर ९२ मिलियन पाउण्ड सहायता दिँदै आएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू