मंगलबार, वैशाख ११, २०८१
15:50 | २०:३५

कोरोना भाइरसको नयां भेरियन्ट ३० प्रतिशत बढी घातक, ७१ प्रतिशत बढी संक्रामक

डा. ओम कुर्मी जनवरी २६, २०२१


बेलायतमा कोरोना भाइरसको नयां भेरियन्ट देखिएपछि यसले यहांको जनजीवनमा ठूलो असर पारेको छ । शुरुमा यो नयां भेरियन्ट लगभग ७१ प्रतिशत बढी संक्रमित भएको देखाइएको थियो । तर, हालको तथ्यांकले के देखाउंछ भने यो बढी संक्रमितमात्र नभएर यसले मानिसमा बढी असर पारेको पनि देखिन्छ । यो नयां भेरियन्टबाट संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि भएको हुनाले कोभिड १९ रोग लागेर यहांको अस्पतालमा भर्ना हुनेको संख्यामा धेरै वृद्धि भएको छ । त्यसैगरी मृत्यु हुनेको संख्यामा पनि वृद्धि भएको छ । यो नयां भेरियन्टद्वारा संक्रमित भएका व्यक्तिहरुको मृत्युदर पुरानो कोरोना वाइरसद्वारा मृत्यु हुनेको तुलनामा ३० प्रतिशत बढी पाइएको छ । पुरानो कोरोना भाइरसको संक्रमण दर कम उमेरका मानिसहरुमा अथवा बालबालिकामा थोरै भएपनि नयां भेरियन्टको चाहिं बढी देखिएको छ । बालबालिकामा संक्रमण बढी हुनुको कारण अहिले नै यकिनका साथ भन्न नसके पनि बैज्ञानिकहरूले नयां भेरियन्ट मानिसको कोषहरुमा छिटो र सजिलै छिरेको भेटाएका छन् ।

हालै बेलायतमा गरिएको एक अध्ययन अनुसार इंग्ल्याण्डमा ५५ जनामा एकजना, उत्तरी आयरल्याण्डमा ६० मध्ये एकजना, वेल्समा ७० जनामा एकजना र स्कटल्याण्डमा एक सय जनामा एकजना कोरोना भाइरसबाट संक्रमित भएको पाइएको छ । 

२४ जनवरी आइतबारसम्मको तथ्यांक हेर्दा बेलायतमा गत ७ दिनमा ३९ लाख ४७ हजार २३२ व्यक्तिमा गरिएको कोभिड परीक्षणमा २ लाख ५१ हजार ५०४ व्यक्ति संक्रमित भएका पाइएको छ । गत ७ दिनमा ८ हजार ६७८ जनाको मृत्यु भएको छ र २७ हजार ५३१ जना अस्पताल भर्ना भएका छन् । यो तथ्यांक अघिल्लो ७ दिनसंग तुलना गर्दा लगभग संक्रमितको संख्यामा २२ दशमलव ३ प्रतिशत कमी आएको छ । त्यस्तै अस्पताल भर्ना हुने संख्यामा पनि ६ दशमलव ३ प्रतिशत कमी भएको देखिएपनि मृत्यु हुनेमा १० दशमलव ८ प्रतिशत वृद्धि भएको पाइएको छ । मृत्यु हुने संख्या अझै २ हप्तासम्म उच्च रहने जस्तो देखिएको छ ।

अहिले बेलायती अस्पतालमा भर्ना भएका सिकिस्त बिरामीमध्ये ४ हजार ७६ जनालाई भेन्टिलेटर बेडमा राख्नु परेको छ जुन बेलायतमा कोरोना भाइरस देखिएपछि शुरुवातको उच्चतम विन्दु (१२ अप्रिल) मा रहेको ३ हजार ३ सय १ भन्दा ७ सय बढी देखिन्छ । अहिले बेलायतको सबै ठाउंहरुमा लकडाउन छ, स्कूलहरु बन्द छन् र मानिसहरूलाई अतिआवश्यक सामग्री किन्न र दिनको एकपटकसम्म कसरत गर्न बाहेकको समय घरभित्र नै बस्न सुझाव दिइएको छ। त्यसैगरि अहिलेसम्म बेलायतले हवाई उडानको माध्यमबाट बेलायत छिर्न धेरै कडा प्रतिवन्ध नलगाएपनि एक हप्ता देखि धेरै कडाइ गरेको छ ।

बेलायतमा बस्ने नेपालीहरुको संक्रमित र मृत्यु हुने संख्याको औपचारिक तथ्यांक नभएपनि अहिलेसम्म करिब ७५ जना नेपालीमुलका व्यक्तिको मृत्यु भइसकेको अनुमान छ । केही समय अगाडि प्रकाशित तथ्यांक अनुसार अफ्रीकी, एसियाली, मुस्लिम र अल्पसंख्यक जातजातिमा कोरोनाको संक्रमण र कोभिड-१९ का कारण मृत्यु हुनेको संख्या बढी पाइएको थियो। हालै संयुक्त राज्य अमेरिकामा गरिएको अध्ययनमा धूम्रपान गर्ने ब्यक्तिहरूमा कोरोना भाइरस लागिसकेपछि अरुको तुलनामा मृत्युदर धेरै उच्च रहेको उल्लेख छ।

अहिले बेलायतमा फाइजर बायोएनटेक र अक्सफोर्ड एस्ट्राजेनेकाद्वारा विकास गरिएको खोप तीव्र रुपमा दिइएको छ । १५ फेब्रुअरीसम्म एक करोड ५० लाख मानिसमा खोपको कम्तीमा पहिलो डोज दिने लक्ष्य सरकारको छ । पहिलो डोज धेरैभन्दा धेरै व्यक्तिहरुमा दिन सकियोस् भनेर पहिलो र दोश्रो डोजको अन्तर ३ महिनासम्म बढाइएको छ । अक्सफोर्ड एस्ट्राजेनेका खोपको दोश्रो डोजको दुरी ६ देखि ८ हप्तासम्म राख्दा खोपको प्रभावकारितामा कमी नदेखिएपनि फाइजर बायोएनटेकको अध्ययन गर्दा पहिलो र दोश्रो डोजको दुरी ३ हप्ता राख्दा प्रभावकारी देखिएको थियो । यसरी यी दुईवटा खोपहरुको दुईवटा डोजको दुरी ३ महिना राखिएकोमा धेरै विज्ञहरुले दोश्रो डोजको प्रभावकारितामा कमी आउने शंका व्यक्त गरेको पाइएको छ । 

बेलायतमा आइतबारसम्म ६३ लाख ५३ हजार ३२१ जनालाई खोपको पहिलो डोज दिइसकिएको छ । आइतबारको तथ्यांकले २४ घण्टाभित्र नै ४ लाख ९१ हजार ९७० जनाले पहिलो डोज प्राप्त गरेको देखाउंछ । खोप प्राप्त गर्नेहरुमा स्वास्थ्यकर्मी, अस्पतालका कर्मचारी, वृद्धाश्रममा काम गर्ने कामदार, ८० वर्षमाथिका वृद्धवृद्धा र विभिन्न रोग लागेका र कोरोना भाइरसको जोखिममा रहेका व्यक्ति पर्छन् । 

हालसम्म बेलयतमा ८० बर्षका ८० प्रतिशतभन्दा बढी ब्यक्तिहरूलाई कम्तीमा पहिलो डोजको खोप दिइसकिएको छ। यो खोप गर्भवती महिला र बालबालिकामा परीक्षण नगरिएकाले यो समूहमा पर्नेलाई हाललाई नदिने निर्णय भएपनि पछि दिने नदिने भन्नेबारे निर्णय गरिएको छैन् ।  

हालसम्मको अध्ययनले माथि भनिएका दुवै किसिमका खोपहरु कोरोना भाइरसको पुरानो र नयां भेरियन्टहरुमा प्रभावकारी भएको देखिएको छ । पहिलो डोज पाइसकेका व्यक्तिहरुमा कोभिड १९ रोगका लक्षणहरु कम सिकिस्त खालको भेटिएको छ । त्यस्तै पहिलो डोज पाइसकेपछि अस्पतालमा भर्ना हुने संख्यामा पनि कमी र कम घातक देखिएको छ, जसलाई यो खोप प्रभावकारी भएको शुभ संकेतका रुपमा लिन सकिन्छ । खोप पाएको लगभग ३ हाप्तमा दुईवटै खोपले कोरोना भाइरससंग लड्ने क्षमताको विकास गर्छ भन्ने कुरा अध्ययनले देखाएको छ तर खोप लगाएको ब्यक्तिहरुले यदि संक्रमित भएमा अरुलाई कोरोना भाइरस सार्छन् कि सार्दैनन् भन्ने कुराको अझै अध्ययन भैरहेको छ । त्यसकारण खोप लगाइसकेपछि पनि बाहिर जाँदा अनिबार्य रुपमा मास्क लगाउने, एक अर्काबीच सामान्य हिडडुल गर्दा २ मिटर सम्मको दूरी बनाइराख्ने, बारम्बार हात साबुनपानीले धुने र सकेसम्म भीडभाडमा नजाने जस्ता कुरामा ख्याल गर्नुपर्दछ।

बेलायतमा खोप लिने बिभिन्न जातजातिका मानिसहरुमा धेरै भिन्नता पाइएको छ। हालसम्म खोप लिने समूहहरुमा गोरा जातिहरुमध्ये ७० प्रतिशत, एसियाली ६० प्रतिशत र काला जातिको ५० प्रतिशत ब्यक्तिहरुले मात्र खोप लिएको पाइएको छ। खोप लिन ७० प्रतिशत काला जातिको मानिसहरु, ४० प्रतिशत एसियाली र १५ प्रतिशत गोराहरु हिचकिचाएका छन्। हिचकिचाउने बिभिन्न कारणमध्ये खोपमा विश्वासको कमी, धेरै संचार माध्यमहरूमा झूटो प्रचार प्रसार, खोपमा मिसाइएको बस्तुको भ्रामक प्रचार र खोपबारे ज्ञानको कमी मुख्य देखिएका छन् । 

संयुक्त राज्य अमेरिकामा खोपप्रतिको विश्वासमा निकै कमी आएको देखिएको छ। अमेरिकामा दुईवटा खोप (फाइजर बायोएनटेक र मोडेर्ना) लाई आपतकालीन अनुमति दिइएको छ र दुबैको प्रभावकारिता लगभग ९५ प्रतिशत छ। महामारीको सुरूवातमा खोप प्रतिको विश्वास ७४ प्रतिशत थियो भने हाल त्यो ५६ प्रतिशतमा झरेको छ । 

संयुक्त राज्य अमेरिकामा खोप प्रतिको विश्वासमा गोरा जाति, काला जाति, हिस्पानिक र एसियाली मूलका ब्यक्तिहरू बीचमा ठुलो भिन्नता छ । बेलायतको तुलनामा संयुक्त राज्य अमेरिकामा एसियाली मूलका ब्यक्तिहरूले खोप स्वीकार गरेको प्रतिशत सबैभन्दा धेरै छ । एसियाली मूलका ब्यक्तिहरूमा गत बर्षको जुन महिनामा खोपप्रतिको विश्वास ९० प्रतिशत थियो भने त्यो डिसेम्बर महिनामा घटेर ८० प्रतिशतमा झरेको छ। 

त्यसैगरि डिसेम्बर महिनामा गोरा जाति, हिस्पानिक र काला जातिहरूमा खोप प्रतिको विश्वास घटेर क्रमश ५९, ५३ र ३८ रहेको छ। यसको मुख्य कारण शिक्षाको कमी रहेको अध्ययनले संकेत गरेको छ।

हालै गरिएको एक अध्ययन अनुसार स्नातकसम्म अध्ययन गरेका ब्यक्तिहरुमा डिसेम्बर महिनामा खोप प्रतिको विश्वास  ७० प्रतिशत थियो भने हाइस्कूल वा त्यो भन्दा कम अध्ययन गरेको ब्यक्तिहरुमा जम्मा ४८ प्रतिशत थियो। यसबाट कम शिक्षित ब्यक्तिहरुमा खोप प्रतिको विश्वास बढाउनका लागि उचित प्रचार प्रसारको ठुलो महत्व देखिन्छ । 

(लेखक बेलायतस्थित कोभेन्ट्री विश्वविद्यालयमा इपिडिमियोलजी तथा हेल्थ केयर रिसर्च विषयका एसोसिएट प्रोफेसर हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू