शुक्रबार, वैशाख १४, २०८१
14:30 | १९:१५

बाइडेनलाई नेपालबाट पनि बधाई, सम्बन्ध थप प्रगाढ हुने विश्वास

रासस जनवरी २१, २०२१

फाइल तस्विर: राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली ।

काठमाडौं । नेपालको उच्च नेतृत्वबाट संयुक्त राज्य अमेरिकाको नवनिर्वाचित नेतृत्वले कार्यभार सम्हालेकामा शुभकामना सन्देश पठाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जोसेफ रोबिनेट्टी वाइडेनले अमेरिकाको  ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हालेकोमा बधाई ज्ञापन गरेकी छन्  ।

नेपाल–अमेरिका सम्बन्ध सुमधुर रहेको जनाउँदै राष्ट्रपति भण्डारीले बिहीबार बाइडेनलाई पठाएको बधाई सन्देशमा नेपालको सामाजिक–आर्थिक विकासका लागि अमेरिकाबाट प्राप्त सहयोगको सराहना गरेकी छन् । 

उन्नत एवं बहुआयमिक नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा अझ विस्तृत एवं घनीभूत हुने विश्वास व्यक्त गर्दै राष्ट्रपतिले  कोभिड–१९ समस्या सम्बोधन गर्न नवनेतृत्वलाई सफलता मिल्ने कामना गरेको  परराष्ट्र मन्त्रालयले जनाएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले आफ्ना अमेरिकी समकक्षीको कार्यकालको सफलताको कामना पनि गरेकी छन् । 

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कमलादेवी ह्यारिसलाई बधाई सन्देश पठाउँदै अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति निर्वाचित भएकामा प्रशंसा गरेका छन्  । लैंगिक  समानता, सामाजिक न्याय र जलवायु परिवर्तनजस्ता विषयलाई अमेरिकाको नयाँ नेतृत्वले प्राथमिकतामा राखेकामा उपराष्ट्रपति पुनले सराहना गरेका छन् । 

पुरानो मैत्रीलाई सबल तुल्याइने छः प्रम

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति बाइडेनको सक्षम नेतृत्वमा अमेरिकाले निरन्तर प्रगति र समृद्धि हासिल गर्ने विश्वास व्यक्त  गरेका छन् । अमेरिकासँगको पुरानो मैत्री सम्बन्धलाई सबल तुल्याउने प्रतिबद्धता व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले पारस्परिक हित र चासोका विषयमा द्विपक्षीय तथा अन्तरराष्ट्रिय महत्वका मामिलालाई अघि बढाउन  बहुपक्षीय तहमा अमेरिकी नयाँ नेतृत्वसँग सहकार्य गर्ने नेपालको चाहना व्यक्त गरेका छन् । 

सहयोग, आर्थिक साझेदारी तथा दुई देशबीच जनस्तरको सम्बन्धमा आधारित नेपाल-अमेरिका सम्बन्धले आगामी वर्षमा नयाँ उचाइ चुम्ने विश्वास पनि उनले व्यक्त गरेका छन् । 

यसैगरी राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उपराष्ट्रपति ह्यारिसलाई बधाई सन्देश पठाउँदै नेपाल–अमेरिका सम्बन्ध अझ सुदृढ तुल्याउन तथा नेपालको सङ्घीय संसद् र अमेरिकी संसद्बीच सहयोग अभिवृद्धि गर्ने आफ्नो अभिलाषा प्रकट गरेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू