शनिबार, वैशाख १५, २०८१
22:36 | ०३:२१

बेलायतमा कोरोनाबाट अकल्पनीय क्षति, एकैदिन १६१० को मृत्यु

३३ हजार ३५५ नयाँ संक्रमित

नेपाली लिङ्क जनवरी १९, २०२१

लण्डन । बेलायतमा एकैदिन कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय नाघेको छ, जुन अहिलेसम्मकै रेकर्ड उच्च हो  ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप १६१० जना कोरोना संक्रमितको मृत्यु भएको हो । यससंगै बेलायतमा कोरोनाका मृतक संख्या पनि ९१ हजार नाघेको छ ।

यसअघि गत जनवरी १३ का दिन एकैदिन १५४५ जनाको मृत्यु भएको थियो । मंगलबार सार्वजनिक तथ्याँकअनुसार बेलायतमा कोरोना मृतकको संख्या ९१ हजार ४७० पुगेको  छ ।

यसैगरी पछिल्लो २४ घन्टामा ३३ हजार ३५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित संख्या गत वर्ष डिसेम्बर २७ पछिकै  न्यून हो । योसंगै बेलायतमा कोरोना संक्रमितको संख्या ३४ लाख ६६ हजार ८४९ पुगेको छ ।

कोरोना संक्रमण बढेसंगै बेलायत सरकारले कोरोना विरुद्धको खोपलाई पनि तीव्रता दिंदै आएको छ । एक मिनेटमा १४० जनालाई कोरोना विरुद्धको खोप दिइएको सरकारी तथ्यांकमा उल्लेख छ ।

बेलायतमा हालसम्म ४२ लाख ६६ हजार ५७७ जनाले  कोरोना खोपको पहिलो डोज लिइसकेका छन् । यसैगरी चार लाख ५६ हजार ८६६ जनाले दोस्रो तथा अन्तिम डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू