बुधबार, मंसिर २२, २०७८
05:58 | ११:४३

बेलायतको कोरोना जितेर ‘बोनसको जीन्दगी’

भीम राई जनवरी ९, २०२१

‘यदि ज्ञान बांड्न सकिंदैन भने त्यो महत्वहीन हुन्छन् ।’

भौतिकशास्त्री मिचीको काकुको उक्त्त भनाइले मलाई जिन्दगीमा यदाकदा घचघच्याइ रहेको हुन्थ्यो । आफ्नो जीवन कालमा मानिसले जे अध्ययन एवं अनुभव गरेका हुन्छन् ति सबै बांड्न सके भने समाजले राम्रो फाइदा लिन सक्छ होला जस्तो मेरो मनमा लागिरहन्थ्यो । त्यसैलाई आधार मानेर मैले भर्खरै लिएको कोरोना अनुभवलाई अक्षररुपी भाषामा परिणत गर्ने जमर्को यहां गरिरहेको छु ।

हुन त यस धर्तीमा जीवनरुपी भरयाङ्गको पचपन्न खुटकिलाहरु मैले पार गरिसकेको थिएं । तैपनि वास्तविक जिन्दगीको परिभाषा अझै खोजिरहेको थिएं । झन् कुनै कुनै बेला यस्तो लाग्ने गर्दथ्यो कि जन्मदेखि मृत्युसम्मको समय मात्र ‘जीवन’ हो र बांकी सबै परिभाषित नगरिएको एउटा कथा जस्तै ।

अं यसरी नै मेरो जिन्दगी एउटा ९० डिग्रीको कोण झैं सिधै उंभो चढिरहेको थियो । तर, अनायसै एकदिन जिन्दगी खाली पानामा सिसाकलमले कोरिएका बक्ररेखा झैं लरबरिंदै आयो । अकस्मात त्यसरी कोरिएका बक्ररेखा आर्थिक, सामाजिक र राजनैतिक धरातलभन्दा सोर्है आना फरक भएर आएको थियो । तर त्यसले पारेको असरले जीवनमा एउटा नरमाइलो छाप छाडिराखेर सधैं सधैंको लागि बिदा भएर गयो ।

१८ डिसेम्बर २०२०, कृष्णपक्षको एउटा कालोदिन थियो । कोरोना महामारीको बेला अग्रपंक्तिमा रहेर कर्तब्यपथमा लडाईं लडिरहेको दुःखी छोरो शिथिल र क्लान्त शरिर लिएर त्यस बेलुकी घर आएको थियो । त्यसै त बेलायती डिसेम्बर महिना दिउसोको चार बजे नै रात पर्ने गर्दथ्यो । त्यसमाथि झन् कालो, मैलो र धमिलो कुहिरोले छपक्कै ढाकेको उसको अनुहार घरभित्र छिर्दा सदाझंै अनुहारमा दिप्त प्रकाशका ज्योति देखापर्न सकिरहेका थिएनन् ।

घर भित्र पस्ने बितिक्कै, ‘खत्तम भइयो ?’ भन्ने एउटा शकांस्पद प्रश्न हावाको गति संगसंगै उसले पठायो । निमेषभरमा उसको त्यो प्रश्नबाचक शब्द तारा र मेरो कानसम्म पुगेर ठोकियो, किनभने हामी दुवैजना उसको नजिकै कुर्सीमा आराम गरेर बसिरहेका थियौं । एकान्त जङ्गलमा कोइलीको बिरहलाग्दो भाकाझैं छोराको बिरहलाग्दो भाकाले किन त्यसो भनेको होला भनेर हामी दुवैजना एकछिन चुपचाप बस्यौं र घोस्सेमुन्टो लगाएर भुईंतर्फ हेरेर घोप्टिरह्यौं ।

‘ड्याडी थर्ममिटर कहां छ ?’

उसले मधुरो स्वरमा दोश्रो चोटी मुख खोलेपछि, सायद उसलाई ज्वरो आएको हुनसक्छ भन्ने मैले आकलन गरिहालें । प्रश्नको उत्तर दिन जरुरी ठानिन त्यसैले चांडोचांडो घरको तलामाथि चढेर थर्ममिटर झारें र उसलाई थपक्कै टक्रयाइ दिएं । थर्ममिटर हातमा पर्ने बितिक्कै उसले आफ्नै ज्वरो नाप्न थाल्यो ।

‘ए ज्वरो त सय डिग्री भन्दा उकालो चढिसकेको रहेछ,’ उसले सानो स्वरमा बरबराएको मैले नजिकबाट सुनिरहें । त्यसपछि, उसको साथैमा बोकिरहेको झोलादेखि ल्यापटप निकालेर माउ पोथी कुखुराले मकैको दानो टकटक टिपे झैं औंलाले घोच्न थाल्यो । उसको साथमा अर्को एउटा सानो झोला पनि थियो । र, त्यस झोलादेखि ‘ल्याटेरल फ्लो टेस्ट’ (एलएफटी) निकालेर आफ्नै सिंगान जांच्न थाल्यो ।

केहि समयपछि एलएफटीको अनुहारमा दुईवटा काला धर्साहरु देखापरें । तिनै धर्सामा परिणत भएको नतिजालाई देखाउंदै कोरोना पोजिटिभ भएको दुःखद समाचार हामीलाई सुस्तरी सुनायो । उसको भनाइलाई मैले थोरै नरमाइलो मान्दै सुनिरहें र थोरै बेखुशी हुंदै एलएफटीको नतिजालाई एकचोटी राम्ररी हेरें ।

हामी त्यसबेला भान्सा कोठामा थियौं, र ताराले उसको लागि खाना तयार गर्दै थिइन् । छोराको दुःखद समाचार सुन्ने बितिक्कै उनी थोरै झस्किइन् र अतालिंदै हामी तिर फर्किइन् । तर, उनीहरु भन्दा म नै अलिक वृद्ध अवस्थामा पुगेको थिएं, त्यसैले भित्रभित्रै डराएको कछुवाझैं एकपोका परिरहें ।

‘मम्मी तपाईं पनि खोक्दै हुनुहुन्छ ? खै तपाईको पनि नाक जांच गरौं ?’

मधुरो स्वरमा छोरोले अर्कोचोटी मुख खोल्यो । अब एलएफटीले नतिजा के देखाउने होला भनेर मलाई पिरको बोझ थपिंदै गयो । ताराको जस्तो नतिजा आउंछ, मेरो पनि त्यस्तै हुन्छ भन्ने मैले भित्रभित्र अन्दाज लगाइसकेको थिएं । त्यसैले, ‘उनी हिउंदे खोकीले मात्र ग्रसित छिन्, अन्य केहि भएको छैन्, जांच नगरेपनि हुन्छ,’ भनेर थोरै सान्त्वना दिन खोजें ।

तर, मेरो भनाइलाई ताराले के मान्थिन् ? एउटा सिङ्गो चामल त के कनिका झैं पनि मानिनन् । त्यसपछि उनी पनि जांचको लागि तयार भइन् । छोराले ताराको नाकमा सिन्काले घोच्न थाले । मैले नरमाइलो मान्दै उसको कार्यगति नियालिरहें, किनभने उनको त्यो परीक्षा नै मेरो आफ्नै परीक्षा झैं मलाई लागिरहेको थियो ।

आधा घण्टाको हैरानीपछि एलएफटीले तारालाई पनि पोजिटिभ भएको परिणाम देखाइदियो । हाम्रो एकजना छोरी पनि थिइन् र उनी हामी भन्दा केहि टाढा अर्को सहरमा बस्थिन् । छोरीले घर छाडेपछि गत महिनादेखि छोरा हामीसंग बस्न आएको थियो । त्यसैले हामी तीन जना एउटा घरमा बस्दै आएका थियौं । ताराको नतिजा आएपछि, ‘मैले बुझें, अब मलाई जांच गरिरहन जरुरी छैन्,’ भनिहालें ।

भन्न त मेरो जांच गर्न पर्दैन भनें, त्यसपछि मेरो मन थोरै बेचैन हुन थाल्यो । ‘अब कुन समयमा के हुने होला ?’ भन्ने प्रश्नवाचक चिन्ह खडा भएर मेरा सामु ठिङ्ग उभिरह्यो । त्यसैले केहि बोलिन, तर थोरै आतंकित र भयभित मुद्रामा सुत्नका लागि आफ्नो कोठातर्फ लागें । तारा कुनबेला आएर मसंग सुतिन केहि चाल पाउन सकिन । जब मध्यरात ढल्कियो, तब म ब्युझंदा हनहनी ज्वरोसंग ब्युझिंरहेको थिएं । मैले गर्लम्मै ओढेको बेलायती जाडो महिनाको शिरक पसिनाले लुथुक्रै भिजेको अनुभव गरिरहें । त्यसपछि हरेक पटक ब्युझंदा खोक्न थालिसकेको थिएं र समय समयमा नाक बन्द हुन शुरु गरेका थिए ।

त्यसरात मानसिक रुपले म मरे तापनि भोलि बिहान सबेरै उठेर तातोपानी उमालेर पिएं । त्यसपछि कम्युटर भएको कोठामा गएर पिसिआर जांच गर्ने ठाउं पत्ता लगाउन थालें । बेलायत सरकारको बेवसाइटमा गएर ‘कोभिड १९’ जांच गर्ने स्थानीय स्थान पत्ता लगाएं । अनि तीनैजनाको परिक्षणका लागि ११ बजेको समय मिलाएं ।

त्यसदिनको मौसम ज्यादै नराम्रो थियो । कालोमैलो बादलले बानबुरी गाउं ढुस्स मात्र भएको थिएन्, सारा आकास रोइरहेको थियो । तिनै रोइरहेको आकाश र रोइरहेको मेरो दिललाई एक्लै कोठामा बसेर निक्कै लामो समयसम्म तुलना गरिरहें ।

यसवर्षको क्रिसमस चाड घरको मुख्यढोका अगाडि आइपुगेको थियो । हरेक वर्ष क्रिसमसको दिन बिजुली चुल्हामा ताराले एउटा भिमकाया टर्कीको ह्याकुल्ला पोल्ने गर्दथिन् । तिनै जिब्रोमा बिलाउने ह्याकुल्लालाई चिथोर्न र क्रिसमसको दुईहप्ता छुट्टी मनाउन घर आउन खुशी भइरहेकी छोरीलाई घरभरि कोभिड छ त्यसैले घर नआउनु है भन्नका लागि मेरा शब्दहरु कुन शब्दसागरबाट निकाल्ने होला भनेर पिरको भुमरीमा रुमलिन थाले । हुनत मेरो जाबो मन पनि उदेककै थियो । कुर्सीमा बसेर कम्युटर हेरिरहेको थिएं, किनकिन दुःखी छोरीको यादमा भुईंमा थचक्कै बसेर धेरै लामो समयसम्म क्वां क्वां रुन मन लागिरह्यो ।

त्यसदिनदेखि घडीको कांटा धिलो घुम्न थालेका जस्तो लाग्न थाल्यो । हरेक सेकेण्ड, मिनेट र घण्टा हुंदै बल्लबल्ल घडीले दिनको एघार बजायो । तारा केहिबेर अगाडि उठेकी थिइन्, तर छोरा त्यसबेलासम्म उठन सकिरहेको थिएन । म उसको कोठा बाहिर पुगेर तेश्रो चोटी कराएं । मैले ठूलो स्वरमा कराएपछि थरथरि काम्दै निक्कै मुश्किलले छोरो उठ्यो र एकचोटि आङ्ग तन्कायो । ऊ उठने बितिक्कै हामी ‘उडग्रीन मनोरन्जन केन्द्र’ बानबुरीमा पुगेर पिसिआर परिक्षण गरयौं । स्थानीय सरकारले उडग्रीन मनोरन्जन केन्द्रलाई अल्पकालिन ‘कोभिड केन्द्रमा’ परिणत गरेको थियो ।

पिसिआर परिक्षणपछि घर फर्किरहेका थियौं । तर, ज्वरो र सुख्खा खोकीले हामी सवैजना ग्रसित भएर थकित मुद्रामा थियौं । हामी कसैलाई बोल्ने जांगर चलिरहेको थिएन । मैले कार हांकिरहेको थिएं र आफ्नै धुनमा बीबीसी रेडियो एकोहोरो बजिरहेको थियो । रेडियोबाट ठिक १२ बजे आंफै समाचार भट्टिन थाल्यो । बेलायतमा कोभिड १९ ले हरेक दिन आठ नौ सय जनाको हाराहारीमा मानिसहरुले जीवन गुमाईरहेका छन् भन्ने समाचार फियोना ब्रुसले दुःखी हुंदै पढेको सुन्दा तारा झसंग भइन् र उनको कागखुट्टीलाई थोरै तन्काइन् ।

उनले त्यसबेला खुट्टी मात्रै तन्काएकी थिइनन्, ‘अब के हुन्छ ?’ भनेर मतर्फ इङ्गित गर्दै एउटा छोटो प्रश्न गरिन् । मैले प्रत्युत्तरमा, ‘जे नहुनु थियो, त्यो भइहाल्यो । आखिर कोही मानिस अजम्बरी हुंदैनन् र मर्न कसैलाई रहर छैन् । अहिले मृत सन्जिवनीको बुट्टीले पनि कसैलाई काम गर्नेवाला छैन् । तिम्रो जीवनको अन्तिम इच्छा के के छन् भनिराख्नु हामीमध्ये जो बांच्न सक्छौं उसले हाम्रा अभिष्ट इच्छाहरु पुरा गर्ने प्रयत्न गरौं । तर, त्यसो भनिरहंदा कुनैपनि मूल्यमा तीस वर्षे छोरोको मृत्यु चाहिं हेर्न म सक्त्तिन होला ?’ सुस्तरी उनलाई भनें ।

मैले त्यसरी छाड्दै गरेका शब्दहरुबाट निर्माण हुने बाक्यांश पुरा हुन नपाउंदै ताराका नयनहरु नराम्रोसंग रसाएको मैले दुर दृष्टिदेखि नजर लगाइरहें । गह भरिएका उनको आंशुले स्वस्थान छाडेर मुल फुटेपछि मलाई हल्का नरमाइलो लागेर आयो । हामी बानबुरी गाउंको एउटा सानो बाटोमा थियौं । त्यसै त छोरा आवश्यकता भन्दा पनि अझ थोरै बोल्दथे, झन बिमार भएपछि उसको मुखबाट एउटै शब्द फुत्किन सकेका थिएनन् ।

‘हेर गतवर्ष मात्र छोरोले बिहे गरेको भए सायद यो वर्षसम्ममा एउटा नाति जन्मन सक्थ्यो होला ?’

आंशुसंग मिश्रित भाषामा तारा दोश्रो चोटी बोलिन् । उनको भनाइ सुनेपछि कसको इहलिला कुनबेला समाप्त हुने र कुन शब्द अन्तिम हुनेहोला भनेर म भित्रभित्रै पिरोलिरहेको थिएं, त्यसैले उनको भनाईलाइ केहि वास्ता गर्न सकिरहेको थिइन् ।

केहि समयपछि हामी घरमा पुग्यौं । घरभित्र छिर्ने बितिक्कै छोरो उसको कोठामा पसिहाल्यो । म पनि कतिबेला घर पुगेर आराम गरौं भइरहेको थिएं त्यसैले केहि नबोलि सुत्न हिडिहालें ।

दुईघण्टा जति आराम गरेर म पुनः उठें र विस्तारै मुनी तला झरेर भान्सा कोठामा पुगें । किनभने तारा भान्सा कोठामा नै मज्जाले आराम गरिरहेकी थिइन् । हामी चारकोठे घरमा बस्दै आएका थियौं र हाम्रो घरमा चारैवटा शौचालयहरुको सुविधा पनि थियो । म ताराको सामुन्ने पुगेपछि अबदेखि को को कहांकहां सुत्ने र कसले कुन शौचालय प्रयोग गर्ने भनेर भाग लगाउन थालेको थिएं ।

तर ताराले, ‘आ… ठिक्कैछ, संगै जिउने संगै मर्ने हो,’ भनेपछि मेरो योजना भताभुङ्ग त यसै भयो । अझ उनको भनाइ सुनेर नेपालमा सतीप्रथा त उन्मुलन भइसकेको थियो । तैपनि बेलायती हजुर महारानीको देशमा छिट्टफुट्ट बांकी रहेछ भन्ने मलाई त्यसबेला लागि रह्यो ।

हाम्रो घरको पूर्व दिशामा हार्डवीक हिल थियो । तिनै हार्डवीक हिलको क्षितिजदेखि हरेकदिन एउटा कष्टकर बिहानी उदाउंथ्यो र पिरको भारी संगसंगै अंध्यारोमा परिणत भएर बेलुकी अस्ताउंथ्यो । निक्कै दुःखले ४८ घण्टा समय बितेपछि पिसिआरमा सबैको नतिजा पोजिटिभ भएको विधुतीय पत्रबाट हामीलाई जानकारी भयो । र, अगामी दश दिनसम्म घरदेखि बाहिर निस्कन निषेध गरिएको छ भन्ने खबर पनि तिनै राष्ट्रिय स्वस्थ्य सेवा विभागदेखि चाल पायौं । तर के गर्ने ? दुर्भाग्यवस त्यसबेलासम्म मैले मेरो जिब्रोलाई बिदा गरिसकेको थिएं । केहि खान मन लाग्दैन् थियो । अझ त्यतिमात्रै कहां हुनु कुनैपनि कुराको स्वाद पाउन छाडिसकेको थिएं ।

हामी शान्त वातावरण रोज्ने भएर शहरदेखि केहि टाढा एउटा गाउंमा बस्दै आएका थियौं । हाम्रो घरदेखि सबैभन्दा नजिकको अर्को नेपालीको घर कार यात्रामा लगभग चालिस मिनेट जति लाग्दथ्यो । तैपनि बेलायतमा ब्यस्त जिन्दगी ब्यतित गर्नुपर्ने भएकाले प्रायः भेटघाट शून्य हुन्थ्यो । अझ कोभिड सुरु भएपछि घरदेखि बाहिर निस्कन लगभग छाडिसकेका थियौं । जसले गर्दा बेलायतमा अर्को नेपालीसंग भेट नभएको लगभग एकवर्ष भइसकेको थियो । त्यसैले हरेक दिन घर पछाडिको बगैंचामा खङरङ्गै पात झरेर अर्धमृत अवस्थामा रहेका स्याउ, चेरी र आलुबखडाका बिरुवाहरु हेरेर मन भुलाउने प्रयत्न गरिरहेको हुन्थें ।

तारा र मलाई तीन दिनपछि ज्वरोले चट्टै छाड्यो । तर छोरालाई क्रमशः चार दिनसम्म सताइ रह्यो । ज्वरोसंग जुध्नको लागि घरमा भएको जति सिटामोल छोराले सबै खायो । मैले चाहिं पानीपट्टीले ठिक गरें । हामीबाट ज्वरोले त विश्राम लियो, तर मेरो नाकले भने हैरानी खेप्न थालिसकेको थियो । त्यस बेलादेखि मैले सबैप्रकारको सुगन्ध वा दुर्गन्ध लिन छाडिसकेको थिएं । गन्धले जिन्दगीमा त्यति धेरै असर नपारेपनि समय समयमा चल्ने खोकीले आन्द्राभुंडी नै उछिट्याउला जस्तो गर्दा अहिले नै मरि हालौं कि क्या हो भन्ने अनुभूत भइरह्यो ।

घर बाहिर जान निषेध थियो, तैपनि छडके जांच गर्नका लागि राष्ट्रिय स्वास्थ सेवाबाट समय समयमा फोन आइरहन्थ्यो । हरेकदिन एउटा नयां दिन आउथ्यो तर नयां हर्ष, उमङ्ग र खुशी आउंदैन थियो । त्यसको सट्टा प्रत्येक दिन झरी परिरहेको हुन्थ्यो र झरी नपरेको दिन आकाशदेखि हिउंका सेतासेता भुवाहरु झर्थे, तर हिउं जमिनमा अडिन नपाउंदै बिलाएर जान्थे । तिनै जमिनमा अडिन नसकेका हिउंसंग अस्ताउन लागेको हाम्रो जिन्दगीको नरमाइलो तुलना गरिरहन्थें ।

त्यस्तो पीर, भय र त्राशले सन्नाटा छाएको अमिलो दिनहरु धेरै लामोलामो हुने गर्दथे । हरेक मिनेट र घण्टा क्लान्त र शिथिल शरीरसंग पैंठैजोरी खेलिरहेका हुन्थे । अनि आलश्य, थकान र हैरानीसंग समय गुज्रिरहने गर्दथे । अझ कुटुकुटु खाइरहेको ह्दयमा कुनबेला कसको श्वासप्रश्वासमा समस्या आउने होला भनेर भयभीत मुद्रामा पीडादायी जीवन ब्यतित गरिरहेका थियौं ।

अलिक सन्चो भएपछि ताराले मिठा मिठा भोजन बनाउने प्रयत्न गरिन् । तर हामी कसैलाई केहि खान मन लागिरहेको थिएन् । किनभने हामी सबैले खानाका स्वाद गुमाइसकेका थियौं । बडो कष्टप्रदको १० दिन बितेपछि जिन्दगीमा थोरै खुशीका लहरहरु देखापर्न थालेका थिए ।

‘यतिन्जेल सम्म बांचियो, अब त के मरिन्थ्यो होला र ?’

अर्धमृत अवस्थामा जिइरहेकी ताराले त्यसरी एकाबिहानै मुख खोल्दा मलाई थोरै भएपनि राहत मिलेको थियो ।

समयले नेटो काटिरहेको थियो । कोभिड संक्रमणले दुईहप्ता पार गरेपछि पुनः कोभिड केन्द्र पुगेर दोश्रोचोटी स्वाब परिक्षण गरयौं । चिन्तित ७२ घण्टाको प्रतिक्षापछि नेगेटिभ नतिजा हात पारेर हामी ढुक्क भएका थियौं । निश्चय नै हामीले कोरोनापछि पुनर्जीवन पाउन सकेकोमा केहि हदसम्म खुशी त भएका छौं, तर महामारीले धर्तीका सबै मानिसहरु भाग्यमानी हुन नसकेकोमा धेरैधेरै दुःखी बनेका छौं ।

अक्सफोर्ड, बेलायत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू