शुक्रबार, वैशाख १४, २०८१
18:43 | २३:२८

सन्दीपले विकेट लिएको खेलमा होबार्ट पराजित

रासस जनवरी ७, २०२१

सन्दीप लामिछाने

काठमाडौँ । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अस्ट्रेलियामा जारी बिग बास लिगमा विकेट लिए पनि उनी आवद्ध टोली होबार्ट हुरिकेन्स पराजित भएको छ ।

होबार्ट आज भएको खेलमा सिड्नी थन्डरसँग ३९ रनले पराजित हुन पुग्यो । पर्थमा टस हारेर ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ५ विकेट गुमाउँदै १६७ रन बनायो । एक सय ६८ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन मात्र बनाउनसक्यो । होबार्टका लागि कप्तान पिटर ह्यान्डस्कोम्बले ३०, बेन म्याकडरमोटले २२, डार्सी सर्टले १९, डेविड मलानले २० तथा कोलिन इनग्रामले १२ रन बनाए । बलिङतर्फ सिड्नी थन्डरका तनवीर सङ्घा, क्रिस ग्रिन र नाथन म्याकएन्ड्र्यूले दुई दुई विकेट लिए ।

यसअघि सिड्नीका लागि ब्याटिङ गर्ने क्रममा उस्मान ख्वाजाले ४९, एलेक्स रसले ४४, बेन कटिङले ३१, एलेक्स हेल्सले २१ तथा अर्जुन नायरले १५ रनको योगदान दिए । बलिङतर्फ होबार्टका लागि डार्सी सर्टले तीन तथा सन्दीप लामिछानेले एक विकेट लिए । लामिछाने खेलको छैटौं ओभरमा बलिङ गर्न आएका थिए । उनले आफ्नो पहिलो ओभरमा ६ रन खर्चिए । लामिछानेले आफ्नो दोस्रो ओभरमा सिड्नीका कप्तान कलुम फर्गुसनको विकेट लिए । सो ओभरमा उनले चार रन मात्र दिए ।

लामिछानेले आफ्नो तेस्रो ओभरमा ६ तथा चौथो ओभरमा सात रन खर्चिए । हाल जारी बिग बास लिगमा लामिछानेको यो तेस्रो खेल हो । उनले पहिलो खेलमा दुई तथा दोस्रो खेलमा एक विकेट लिएका थिए । लामिछाने आवद्ध होबार्ट हालसम्म ९ खेलमध्ये पाँचमा जित तथा चारमा हारका साथ १९ अंक जोड्दै आठ टोली सम्मिलित लिगको तेस्रो स्थानमा छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू