बिहीबार, माघ ८, २०७७
19:56 | ०१:४१

सहमति र सहकार्य नै उपयुक्त विकल्प

पशुपति पोखरेल जनवरी ५, २०२१

सरसर्ती हेर्दा तत्कालिन नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेर सो पार्टी जनतामा जाने निर्णय गरेको थियो । सहमतिमा तत्कालिन एनेकपा माओवादीसंग सिटहरुमा तालमेल गर्दा पनि केपी ओलीनै प्रधानमन्त्री हुने भनेर दुबै पार्टीले सम्पूर्ण सिटमा जनतासंग सुशासन, सम्बृद्धि र स्थिर सरकारका लागि नेतृत्व ओलीले नै गर्ने भनेर नै मत मागेका थिए । जनताले यि दुई पार्टीको कुरामा विश्वास गरी अत्यधिक जनमतमार्फत स्पष्ट वहुमतका साथ धेरै निर्वाचन क्षेत्रमा यिनै दुई पार्टीका उम्मेदवारहरुलाई जिताए ।

दुई पार्टीहरुको बीचमा चुनावी तालमेलका साथ साथै पार्टी एकीकरण नै गर्ने आन्तरिक सहमति पनि बनेको थियो । पछि भयो पनि जसले गर्दा वामपन्थी मात्र होइन आम सर्वसाधारणमा पनि एक प्रकारको खुशी, आशा र विश्वास पलाएको थियो । 
एकीकरणको समयमा एमालेको बेलुन भरिंदै थियो भने माओवादीको बेलुनको हावा विस्तारै झर्दै थियो । यस्तो अवस्थामा पनि को ठूलो र को सानो नभनि दुई अध्यक्ष बनाइ पार्टी एकीकरण गर्ने तत्कालिन एमाले को विशाल ह्दय नै थियो ।

भलै पछि पहिलो र दोस्रो भन्ने बजारमा आयो तर सम्मानमा कसैले पनि पहिलो अध्यक्ष आउनुभो वा दोस्रो अध्यक्ष आउनु भयो भन्ने सुनिएन । आन्तरिक सहमति के थियो र भयो त्यो आम जन चासोको विषय हुने कुरा पनि भएन र थिएन पनि । थियो त केबल दुई कम्युनिष्ट पार्टीको एकतापछि अब देश एउटा गतिले अगाडि बढ्छ । हिजोको जस्तो ६-६ महिनामा सरकार परिवर्तन अब हुंदैनन्, राम्रो नराम्रो जे जस्तो गरेपनि यही सरकारले पांच वर्ष काम गर्छ । 
राम्रो गरे भने फेरी पनि सहयोग गर्ने र नराम्रो गरे भने सजाय दिने जनताको अधिकार छंदै थियो ।

सरकारले केही आंशिक सुधारका कामहरु अगाडि बढाउंदै थियो । बेथितिले थिचिएको प्रशासनिक तन्त्र कुनै जादुको छडीले तुरुन्तै सही लिकमा ल्याउन सकिने अवस्था थिएन । भूकम्प, बाढी पहिरो, जनताको 
निराशाको विशाल चाङ एकातिर थियो भने दुई पार्टीको भर्खरै भएको एकीकरणले विश्वासको वातावरण बनिसकेको पक्कै पनि थिएन । दुवै पार्टीको ‘स्कुलिङ’ जनताको वहुदलीय जनवाद र माओवाद प्रचन्डपथ फरक थियो । हिजो एक अर्कामा लडेको तिक्तता अझै मेटिएको थिएन । पूर्व माओवादीलाई नरूचाउने जमात पार्टी भित्रै ठूलो थियो भने बाहिर भन्नै परेन । यो अवस्थामा पार्टी र सरकारको नेतृत्व संगसंगै लैजानु चानचुने कुरा थिएन ।

पूर्व एमाले भित्रको पुरानो र अनुभवी जमातको ब्यवस्थापन पनि जटिल नै थियो । पाइलट र को पाइलट भएको भए जेट विमानको गन्तब्य सही दिशातिर मोडिन्थ्यो होला । तर, दुवै खेलाडी पाइलटले कति बेला कसलाई झ्यालबाट मिल्क्याउने भन्दै प्लेनको झ्याल खुल्लै राखी यात्रा अगाडि बढाउंदै लगे ।

पार्टी एकीकरणपछि गर्नुपर्ने कामहरु भन्दा राजदूत, जियम, सचिव, आइजिपी को कसलाई सरुवा बढुवा गर्दा आफूलाई बलियो बनाउन सकिन्छ त्यतै तिर लागे । आधा आधा प्रधानमन्त्री निर्वाचनको म्यान्डेट थिएन त्यो जनताको जनादेश विपरितको फगत सत्ता सम्झौता थियो । प्रत्यक्ष जनताबाट तिरस्कृतहरुलाई जस्केलाबाट फेरी ल्याउनु जनअभिमत विपरित धोखा थियो । सरकारको नेतृत्व एक पार्टी अध्यक्षले गर्ने र अर्कोले एकीकरण पछि गर्नुपर्ने कार्यहरु अगाडि बढाउनु पर्दथ्यो । महाधिवेशनपछि धेरै कुराको छिनोफानो हुने नै थियो यो चुनौतिको बीचमा अवसर पनि थियो ।

कुम्भ मेलाले महाधिवेशन नै नगरि लामो समय नेतृत्वमा रहनुहुने कमरेड प्रचन्ड र महाधिवेशनबाट हारेपनि अध्यक्ष हुन रहर गर्ने कमरेड माधव नेपाल दुवै जनाका लागि कार्यकर्ताको जनमत बुझ्ने कसी हुने थियो । कमरेड केपी ओली आफू अब न लड्ने घोषणा नै गर्नु भएकोले प्रचन्डको पल्ला नै भारी हुने सुनिश्चित थियो । महाधिवेशन अगाडि नै अध्यक्ष हुने माधव नेपालको इच्छा अगाडि प्रचन्ड नतमस्तक हुनुभो र सुनौलो मौका गुमाउनु भो ।

म ब्यक्तिगत रुपमा उहांको (व्यक्ति हत्या, हिंसाबाहेक) हरेक असम्भवलाई सम्भव बनाउने खेलको प्रशंसक नै 
हुं । उहांमा खटन छ, कसै कसैले परिवारवाद भन्छन् । म त्यो पनि मान्दिन किनकि जुनबेला उहांलाई असजिलो थियो परिवार विदेशमा थिएनन् युद्ध मैदानमा संगै थिए । आ आफ्नो ठाउंबाट दुःख झेले, लडे भलै त्यो लडाईं जायज थियो थिएन छुट्टै वहस गरौंला । लड्दा परिवार वाद नहुने अनि अवसर आउंदा कसरी भन्ने ? हाम्रो हेराइ र चेतना दुबैतिर समान हुन सक्नु पर्दछ । खाली विरोधका लागि विरोध अब कति गर्ने ?

प्रचन्डजी तपाईं एउटा चलायमान नेता हो । तपाईंमा गतिशीलता छ । घरि घरि छिट्टै भावुक हुनुहुन्छ । सबै कुरा माफी दिएर विश्वास गरी हाल्नुहुन्छ । तपाईंसंग तार्किक विश्लेषण गर्ने क्षमता छ । लिडरसीप पावर छ । यि सबै हुंदा हुंदै पनि कहिलेकाहीं यस्तो लाग्छ कि तपाईं धेरै भावनामा बग्नु हुंदैछ । तपाईंलाई एकल अध्यक्षको जिम्मेवारी सुम्पने म जस्ता धेरै पूर्वहरु आज बाहिरै छौं । एउटा सानो झुन्ड बारम्बार अवसर पाउंदा केही सिन्को भांच्न नसकेको, भोलि कुनै अवसर मिल्यो भने तपाईंलाई बीच बाटोमा छोडेर कुलेलम ठोक्ने स्वार्थी जमात हो त्यो तपाईंले परिकल्पना गरेको सारथी हुंदै होइन् ।

भोलि सांधमा नमिलेको झगडिया एउटा दुईटा काफलको दाना खान पाएमा सबै भुलेर नीति नियम, इमान जमान, सबै लिएर फर्कने छन् । दुई अध्यक्षबीचमा फाटो पारेर जे गर्न खोजिएको थियो आज ति सफल भएका छन् कोही अध्यक्ष बनेर त कोही महासचिव बनेर । राजनैतिक छलाङ जुन तपाईंमा छ त्यो प्रयोग गरी निकास निकाल्नु नै बुद्धिमता होला । त्यो आरोप पत्र तपाईंले जहांबाट सुरु गर्नु भो त्यसको फिर्ता नै निकासको पहिलो खुड्किलो बन्न सक्छ ।

मेरो बुझाइमा संसद विघटनका प्रमुख कारक
१) केपी ओली नै भावी प्रधानमन्त्री भनेर आएको जनमतको उपहास गरी सत्ता समिकरणको खेल, झेल दिन प्रतिदिन झांगिदै जानु

२) जनताले आफूलाई विश्वास गरी सुम्पिएको नासो जनतालाई नै फिर्ता गरी पुनः आफूले गरेका, गर्न खोजेका र गर्न नसकिएका, नदिइएका सबैको फेहरिस्तसहित जनमतको कसीमा तौलिन ।

३) बीच बीचमा प्रधानमन्त्री हुन खोज्ने, फेर्न खोज्ने र फेराउन खोज्ने सबैलाई जनताबाट नै अनुमोदन भई आउने सुनौलो अवसर प्रदान गर्न ।

४) भारतले नाकाबन्दी गर्दा लिएको अडानले अझै पनि लोकप्रिय नै छु भन्ने आत्मविश्वासका साथ साथै पूर्व एमालेका वहुसंख्यक कार्यकर्ताको विश्वास रहेको विश्लेषण ।

५) जनयुद्धको समयमा पेलाइमा परेका, पाखा लगाइएका, सतीसाल झैं पार्टीप्रति बफादार पुराना एमाले कार्यकर्ता, शुभचिन्तकहरुको आफूप्रति अझै पनि विश्वास रहेको विश्लेषण ।

६) पूर्व माओवादीभित्र संस्थापन पक्षबाट पेलिएका केही सारथीहरुको सहयोग र समर्थन ।

यी र यस्तै यस्तै धेरै कुराले काम गरे जस्तो देखिन्छ । वहुसंख्यक जनताहरुको केही गरे केपीले गर्छन् नत्र 
अरुप्रति रुची र आस्था नदेखिएको पनि पक्कै हो । चाहे त्यो संघीयताको खारेजी, हिन्दू राष्ट्रको परिकल्पना नै किन नहोस् ।

अन्त्यमा, जे भनेपनि देश लडाईं र मुठभेड तिर जाने देखिन्छ । यी दुवै पक्षले जे जस्ता संविधान गणतन्त्रको रटान लगाएपनि, जित्नेले हारे पनि र हार्नेले जितेपनि मेरो देश नेपाल र तपाईं हामीले सदैव हार्ने नै छौं । सहमति र सहकार्यमा बल गरौं । देशले 
हार्ने ब्यक्तिले जित्ने यो पक्षमा वादविवाद बन्द गरौं ।
पशुपति नाथले सबैको कल्याण गरुन् ।

(लेखक पोखरेल बेलायतस्थित एनआरएनए अभियन्ता एवं व्यवसायी हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू