शुक्रबार, वैशाख १४, २०८१
05:58 | १०:४३

सन् २०२० मा यूकेवासी नेपालीले मिस गरेका लोकप्रिय कार्यक्रमहरु

नेपाली लिङ्क डिसेम्बर ३१, २०२०

लण्डन । सन् २०२० को लगभग सिंगो वर्ष नै कोरोनाको चपेटामा पर्‍यो । बेलायतमा मार्च महिना शुरु हुन नपाउँदै कोरोना संक्रमण तीव्र दरमा फैलिएर महामारीकै रुप लियो । जसको मारमा वर्षेनी बेलायतको नेपाली समुदायमा आयोजना हुने केही ठूला र लोकप्रिय कार्यक्रम पनि परे । 

मार्च २३ बाट बेलायतमा पहिलो लकडाउन लागू हुनुपूर्व नेपाली समुदायमा केही कार्यक्रमहरु आयोजना गरिएपनि वर्षेनी आयोजना हुने अरु ठूला र लोकप्रिय कार्यक्रम भने कोरोनाकै कारण रोकिन पुगे । मार्चको पहिलो साता नारी दिवसको सन्दर्भ पारेर आयोजना भएका एकाध कार्यक्रमपछि अन्य कुनै कार्यक्रम हुन पाएनन् । 

विभिन्न संघसंस्थाका वार्षिक भेला तथा कार्यक्रमदेखि नेपाली नयाँ वर्ष, दशैंतिहार, ल्होसार, उधौली-उभौली सहितका पर्व विशेष कार्यक्रम, नेपालबाट आएका कलाकारको प्रस्तुतिमा हुने दर्जनौं कन्सर्ट तथा फिल्म प्रदर्शनी लगायतका कार्यक्रम पनि हुन पाएनन् । यहाँको नेपाली समुदायमा आयोजना हुने ग्रीनवीचकप, भिसी कप, पाँचथर कप लगायतका फुटबल, ग्रीनवीच, अल्डरसट, रेडिंग लगायतमा आयोजना हुने भलिबल प्रतियोगिता जस्ता कार्यक्रम पनि स्थगित भए । 

बेलायतको नेपाली समुदायमा विगतमा वर्षेनी आयोजना हुंदै आएका तर यो वर्ष कोरोना महामारीका कारण बेलायतवासी नेपालीले मिस गर्नुपरेका केही लोकप्रिय कार्यक्रमलाई नेपाली लिंकले सम्झिने कोशिस गरेको छ । 

नेपाली मेला:


बेलायतको नेपाली समुदायमा आयोजना हुने वर्षकै ठूलो र लोकप्रिय कार्यक्रम हो नेपाली मेला । तमुधिं यूकेको आयोजनामा हरेक वर्ष अगस्ट महिनाको अन्तिम आइतबार आयोजना हुंदै आएको नेपाली मेलाको यस वर्ष ११ औं संस्करण थियो । अगस्ट महिनाको २५ तारिख आइतबारका लागि तय समेत भइसकेको नेपाली मेला कोरोना महामारीका कारण सम्भव हुन सकेन । 

नेपाली मेलामा हुने गरेको बेलायतस्थित हजारौं नेपालीको सहभागिता, दर्जनौं नेपाली संघसंस्थाका झाँकी प्रस्तुति, नेपाली खाना तथा सामग्रीका स्टलहरुसहितका मनोरञ्जनात्मक कार्यक्रमहरु यस वर्ष बेलायतका नेपालीले मिस गरे । 

गोर्खाकप 


तमु धिं यूकेकै आयोजना रहने गोर्खाकप पनि अर्को ठूलो कार्यक्रम हो जहाँ बेलायतका नेपालीको उल्लेख्य सहभागिता रहन्छ । वर्षेनी मुख्य तथा भेटेरान गरी बेलायतभरका तीन दर्जन बढी समुहसम्मको फुटबल प्रतिस्पर्धा समुदायका युवाहरुमाझ अझ बढी लोकप्रिय रहँदै आएको छ । 

गोर्खाकपमा फुटबलका अलावा विभिन्न व्यवसायिक तथा च्यारिटी स्टल, सांस्कृतिक प्रस्तुति, प्यारासुट प्रदर्शन लगायतका आकर्षण पनि रहने गरेका छन् । मे महिनाको २६ तारिखलाई लागि तय भएको गोर्खाकपको १७ औं संस्करण पनि महामारीका कारण स्थगित हुनुपरेको थियो । 

नेपाली ओपन कन्सर्ट- 


नेपाली ओपन कन्सर्ट पनि कोरोना महामारीका कारण स्थगित भएको बेलायतको अर्को लोकप्रिय कार्यक्रम हो । मगर संघ यूकेको आयोजनामा वर्षेनी  हुंदै आएको यो कार्यक्रममा नेपालबाट ल्याइएका चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुति रहने गरेको छ । खुला चौरमा आयोजना हुने यही सांगीतिक उत्सवमा रमाउन बेलायतका हजारौं नेपाली दर्शक आउने गरेका छन् । 

यस वर्ष जुन महिनाको ६ तारिख शनिबारका लागि तय भएको कन्सर्ट कोरोनाका कारण सम्भव हुन सकेन । यहाँको नेपाली दूतावासको समन्वयमा यस वर्ष कार्यक्रमका लागि विशेष आकर्षणका रुपमा वरिष्ठ कलाकार महजोडीलाई ल्याउने तयारी समेत थियो । 

जुन फेस्टिबल


बेलायतका नेपाली युवाहरुमाझ वर्षकै सबैभन्दा बढी लोकप्रिय कार्यक्रम हो जुन फेस्टिबल । चर्चित कलाकार तथा ब्याण्डहरुको प्रस्तुतिमा खुला चौरमा आयोजना हुने यो सांगीतिक महोत्सवमा झुम्न बेलायतका हजारौं नेपाली युवाहरु जम्मा हुने गर्छन् । 

यस वर्ष जुन महिनाको २० तारिखका लागि तय कार्यक्रमका लागि अग्रिम रुपमा सयौं टिकट बिक्री समेत भइसकेका थिए । कोरोना महामारीका कारण फेस्टिबल स्थगित भएपछि आयोजक दर्शकको चाहनाअनुसार रिफण्ड वा अहिलेको टिकटलाई अर्को वर्षको कार्यक्रममा प्रयोग गर्न पाउने सुविधा दिन बाध्य भए । 

ट्राफल्गर स्क्वायरको बुद्धजयन्ती


विगत केही वर्षदेखि लण्डनकै मुटु मानिने ट्राफल्गर स्क्वायरमा हुंदै आएको बुद्धजयन्ती कार्यक्रम पनि महामारीका कारण यस वर्ष स्थगित भयो । बुद्ध फाउण्डेसन यूकेले कपिलवस्तु समाज यूके, नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड समेतको सहकार्य र समन्वयमा गर्ने यो कार्यक्रममा बेलायतका दर्जनौं नेपाली संस्थाको पनि सहभागिता रहने गर्छ । 

बेलायत मात्र नभएर विश्वभरकै मानिसहरुको आवतजावत हुने लण्डनको केन्द्रमा आयोजना हुने कार्यक्रमबाट नेपालको पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुर्याउने लक्ष्य आयोजकको रहन्छ । विगतका वर्षमा सयौं मानिसहरुको सहभागिता रहने कार्यक्रम पनि कोभिडका कारण बेलायतवासी नेपालीले यो वर्ष मिस गर्न पुगे । 

गुल्मेली भेला 


लोकप्रियता र सहभागिताको दृष्टिले बेलायतको गुल्मेली भेलालाई पनि यहाँको एक प्रमुख कार्यक्रमका रुपमा लिन सकिन्छ । गुल्मी जिल्ला समाज यूकेले हरेक वर्ष अगस्ट महिनाको पहिलो आइतबार गर्दै आएको भेलामा नौमती बाजादेखि नेपालबाट आएका चर्चित कलाकारका लोकदोहोरी, मौलिक गुल्मेली झयाउरे, भजन किर्तन र तीज गीतसम्मका रमाइला प्रस्तुतिहरु हुने गरेका छन् । 

लण्डन, अल्डरसट आसपास मात्र नभएर मिडल्याण्ड, स्कटल्याण्ड लगायतबाट समेत उल्लेख्य संख्यामा गुल्मेलीहरुको भेला हुने यो कार्यक्रमको रमाइलो हेर्न बेलायतका गैरगुल्मेली नेपालीहरु समेत जम्मा हुने गरेका छन् । 

हाइक फर नेपाल


पोखरेली मञ्च यूकेको आयोजनामा हुंदै आएको ‘हाइक फर नेपाल’ पनि कोरोना महामारीले यस वर्ष हुन दिएन । जुलाई १ शुक्रबारदेखि अगस्ट २ आइतबारसम्मको लागि तय भएको यो च्यारिटीमुलक पदयात्रा स्थगित गरियो । 

मञ्चले हरेक वर्ष वेल्समा यो पदयात्रा आयोजना गरेर नेपालमा समााजिक कार्यका लागि सहयोग गर्दै आएको छ । मञ्चकै आयोजनामा हुंदै आएको नेपालकप क्रिकेट पनि यस वर्ष महामारीका कारण स्थगित भएको थियो । 

र, यो पनि 

नेपाल-इंग्ल्याण्ड फुटबल 


कोरोना महामारीले बेलायतमा हरेक वर्ष हुंदै आएका नियमित कार्यक्रमहरु मात्र होइन, यस वर्ष तय एक ऐतिहासिक कार्यक्रमलाई पनि रोकिदिएको छ । 

मे महिनाको २५ तारिख शनिबारका लागि निर्धारित नेपालको राष्ट्रिय फुटबल टोली र इंग्ल्याण्डको राष्ट्रिय टोलीकै सी टीमबीचको मैत्रीपूर्ण खेल महामारीका कारण स्थगित भयो । 

नेपालको राष्ट्रिय टिमले दुईपटक बेलायतमा आएर खेल्ने अवसर पाएपनि फुटबल टोलीका लागि यो वर्ष पहिलोपटक दुर्लभ अवसर जुरेको थियो । 

अल्डरसट फुटबल ग्राउण्डमा खेल्ने भनिएको खेललाई सफल पार्ने उद्धेश्यले सहारा यूकेले संयोजनकारी भूमिका निभाउने तयारी थियो । नेपाली टोलीको समर्थनमा बेलायतभरका हजारौं नेपाली जम्मा हुने अपेक्षा गरिएको खेल कोरोनाले हुन दिएन । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू