शुक्रबार, चैत १६, २०८०
14:49 | २०:३४

तमुधिं यूके नयाँ अध्यक्षको अठोट: तमु मात्र भन्दिन, सबै नेपाली समेट्छु

नेपाली लिङ्क डिसेम्बर २४, २०२०

तमुधिं यूके नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङ

लण्डन । बेलायतको सबैभन्दा ठूलो र प्रमुख नेपाली संस्थामध्येको एक तमुधिं यूकेमा अहिले नयाँ नेतृत्व आएको छ । दुई दशकअघि संस्था स्थापना हुँदादेखि नै विभिन्न पद र जिम्मेवारीमा रहँदै आएका हित काजी गुरुङ सर्वसम्मत रुपमा संस्थाको एघारौं अध्यक्ष निर्वाचित भएका छन् ।

ल्होछारका अवसरमा कार्यभार ग्रहण गर्ने संस्थाको परम्परा पछ्याउँदै यही डिसेम्बर २६ शनिबारदेखि हित काजी नेतृत्वको कार्यसमितिले आफ्नो २ वर्षे कार्यकालका लागि संस्थाको कार्यभार लिंदैछ ।

नवनिर्वाचित अध्यक्ष हित काजीले सन् २००० मा स्थापित तमुधिं यूकेको संस्थापक कार्यसमितिमै सचिवको जिम्मेवारी सम्हालेका थिए । त्यसपछि संस्थाको कोषाध्यक्ष र उपाध्यक्षका रुपमा पनि एकएक कार्यकाल काम गरे उनले ।

व्यक्तिगत कामले केही समय नेपाल जानुपर्ने भएपछि भने हित काजीले कार्यकारी जिम्मेवारीबाट ब्रेक लिए र ८ वर्षसम्म सल्लाहकारको भूमिकामा रहे । सल्लाहकारका रुपमा पनि संस्थामा सधै सक्रिय रहँदै आएका उनी पछिल्ला दुई कार्यकालमा भने उपाध्यक्षको पदमा कार्यसमितिभित्रै रहेर काम गरे ।

पर्वत वेल्फेयर सोसाइटी यूकेका संस्थापक अध्यक्ष रहेका हित काजी अन्तरराष्ट्रिय पर्वत समाजमा प्रमुख संरक्षक छन् । बेलायतकै ग्रेटर रश्मोर नेपाली समाजका संस्थापक सल्लाहकार हुन् ।

बेलायतको नेपाली समुदायकै सबैभन्दा अग्रणी संस्थाको नेतृत्व सम्हाल्दै गरेका तमु धिं यूकेका नवनिर्वाचित अध्यक्ष हित काजी गुरुङलाई उनको २ वर्षे कार्यकालका प्रमुख योजनाहरुमा केन्द्रित रहेर नेपाली लिंकले केही प्रश्नहरु सोधेको छ ।

के छन् दुई वर्षे कार्यकालका तपाईंका प्रमुख योजना ?

हाम्रो संस्थाको विधान र नीतिले निर्दिष्ट गरेको दिशामै संस्थालाई अघि बढाउनु मेरो पहिलो दायित्व हो । लामो इतिहास र गरिमा बोकेको संस्थाको नेतृत्व काँधमा लिंदा पक्कै पनि ठूलो जिम्मेवारीबोध भएको छ । त्यहि जिम्मेवारीलाई व्यवस्थित र फलदायी रुपमा पूरा गर्नु नै अबको मेरो एउटै संकल्प हो ।

हाम्रो संस्थाका अग्रजहरुको सल्लाह, आम सदस्यहरुको अपेक्षा र हाम्रो समुदायको आवश्यकता र हितलाई नै सर्वोपरी राखेर काम गर्ने मेरो अठोट छ ।

प्राथमिकताहरु के के छन् ?

मैले नेतृत्व गर्ने दुई वर्षको कार्यकालमा संस्थाको आर्थिक पक्षलाई थप सबल पार्ने कोशिस मेरो रहनेछ । हाम्रो संस्था आफ्नो गौरवपूर्ण विगत र प्रतिष्ठा कमाउँदै आज यो ठाउँसम्म उभिन सफल छ । एक स्थापित सामाजिक वा च्यारिटी संस्थाको रुपमा अब आर्थिक पक्ष पनि अझै बलियो पार्दै जान जरुरी मैले देखेको छु ।

संस्थाको आर्थिक सबलिकरणका लागि स्रोत नै प्रमुख कुरा रहन्छ । त्यही स्रोत व्यवस्थापन कसरी गर्ने भनेर हामीले उपयुक्त योजना र कार्यक्रमहरु बनाउन गृहकार्य गरिरहेका छौं ।

त्यसबाहेक बेलायतको प्रमुख नेपाली संस्थाको हैसियतले हाम्रो संस्थाले अब तमुहरु मात्र नभएर गैरतमुहरुसहित बेलायतको सिंगो नेपाली समुदायलाई एकताबद्ध गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भन्ने मलाई लागेको छ ।

तमु धिं ले गैरतमुहरुलाई कसरी एकताबद्ध गर्छ ?

तमुधिं यूकेको आजसम्मको यात्रा र यसका गतिविधिहरुलाई नियाल्दा पनि यो एक जातीय संस्था मात्र होइन भन्ने स्पष्ट हुन्छ । बरु एक सामाजिक संस्थाका रुपमा यसको आफै पहिचान र महत्व स्थापित भइसकेको छ । तमु धिं यूकेले हरेक वर्ष आयोजना गर्ने नेपाली मेला, गोर्खाकप र ल्होछार जस्ता प्रमुख कार्यक्रममा पनि यहाँको सिंगो नपाली समुदायको सहभागिता रहने गरेको छ ।

त्यसैले मेरो धारणा के छ भने तमुधिं भन्दैमा तमुहरुमै मात्र केन्द्रित र सिमित हुनुपर्छ भन्ने छैन । बेलायतस्थित अन्य नेपाली संघसंस्थाबीच समन्वय गर्न र सिंगो नेपाली समुदायलाई एकताबद्ध गर्न पनि तमुधिं यूकेजस्तो संस्थाले नेतृत्वदायी भूमिका खेल्न सक्छ र खेल्नुपर्छ भन्ने मेरो मान्यता हो ।

अन्य नेपाली संघसंस्थासंगको समन्वय, सहकार्य कसरी अगाडि बढाउनुहुन्छ ?

बेलायतमा रहेका सबै नेपाली संघसंस्थाबीच एक आपसमा समन्वय र सहकार्य हुनु निकै महत्वपूर्ण छ । त्यसो हुन सके मात्रै हामीले लक्ष्य राखेअनुसार हाम्रो समुदाय र समुदायका सदस्यहरुको हित सोचेर गरिने कामहरु प्रभावकारी हुन सक्छन् ।

समन्वय र सहकार्य भन्दैमा सबैजना एउटै संस्थामुनि आउनुपर्छ भन्ने पनि होइन । सबै संघसंस्थाका आआफ्नै पृष्ठभुमि, आधार र लक्ष्यहरु छन् । तर जब हाम्रो सिंगो समुदायको लागि केही गर्न सकिने साझा मुद्धाहरु आउँछन्, हामीहरु सबै एकठाउँमा उभिन सक्नुपर्छ ।

तमुधिं यूकेले वर्षेनी आयोजना गर्दै आएको नेपाली मेलालाई नै हेरौं न । हाम्रो समुदायका सबै पक्ष, समूह, जाति, संस्कृतिको प्रतिनिधित्व हुने कार्यक्रम हो । समुदाय र यहाँका जति धेरै संघसंस्थाको सहभागिता गराउन सक्छौं, कार्यक्रम त्यति बढी सफल र प्रभावकारी हुन्छ भन्नेमा कुनै आशंका छैन ।

कार्यक्रमहरुबारे पनि केही विशेष योजना छन् कि ?

तमुधिं यूकेले वर्षेनी रुपमा गर्दै आएका नेपाली मेला, गोर्खाकप, ल्होछार जस्ता कार्यक्रम बेलायतको सिंगो नेपाली समुदायकै आफ्नै कार्यक्रम बनेका छन् । यी सबै कार्यक्रममा तमुहरु मात्र नभएर गैरतमुहरुको पनि उत्तिकै सहभागिता र साथ, सहयोग रहँदै आएको छ ।

हाम्रो कार्यकालमा पनि यी कार्यक्रमहरुको निरन्तरता त हुन्छ नै, अझै बढी व्यवस्थित र थप सहभागितामुलक बनाउने हाम्रो कोशिस रहनेछ । यी नियमित कार्यक्रमहरुबाहेक मेरो नेतृत्वको दुई वर्षभित्र एउटा विशेष कार्यक्रम पनि गर्ने मेरो योजना छ । हाम्रो कार्यकालमा त्यस्तो केही गर्न सकियोस्, जसले गर्दा संस्था र समुदायलाई लामो समयसम्म लाभ मिलिरहोस् भन्ने चाहना छ ।

त्यसबाहेक, संस्थाको सदस्यता विस्तार, संगठनात्मक सुदृढिकरण लगायतका विषयलाई पनि प्राथमिकतासहित अघि बढाउनेछु ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू