शनिबार, वैशाख ८, २०८१
16:57 | २१:४२

सोफियाको प्रेम कथा

प्रमोद राजको लन्डन डायरी ६

नेपाली लिङ्क डिसेम्बर २०, २०२०

लण्डनको दक्षिणपूर्वी क्षेत्रमा चल्ने फिप्टी थ्री नम्बरको बसबाट एलिफेन्ट एन्ड कासल नजिकैको स्टपमा झरेपछि हतारहतार बाटो काटें । काममा पुग्न ढिला भइसकेको थियो । १-२ मिनेट मात्रै ढिलो भएपनि सुपरभाइजरसंग लेट इन्टरभ्यूको सामना गर्नु पर्दथ्यो । त्यसमाथि पहिले नै दुईपटक ढिलो पुगेको रेकर्ड मेरो फाइलमा बसिसकेकाले पनि आज कुनै पनि हालतमा समयमै पुग्नु थियो । आज पनि ढिलो भएमा फेरि अर्को समस्या हुन सक्थ्यो । त्यसैले अब दौडिनु सिवाय अर्को उपाय थिएन म संग । सामान्य रुपले हिंड्दा १० मिनेट लाग्ने बाटो मैले अब दौडेर पांच मिनेटमा पुरा गर्नु थियो । हस्याङफस्याङ गर्दै बेतोडले 
दौंड्दा छाती निकै भारी भएर आयो । तर, पनि दौड्नु को अर्को विकल्प थिएन ।

बिहान ८ः३० बजे सुरु हुन्थ्यो काम । हाम्रो अफिसलाई हामी बेस भन्थ्यौं । भित्र छिर्न एकदमै अग्लो फलामको निकै गह्रौं गेट खोल्नु पर्दथ्यो । स्यां स्यां र फ्यां फ्यां गर्दै आइपुगेको म बल लगाएर गेट खोल्दा सासै रोकिएला जस्तै भयो । यस्तै अवस्था एकपटक मेरो नेपालमा पनि भएको थियो । रेडियो सिटी एफएममा काम गर्थें म । बिहान ८ बजे परिशिष्ट नामको साहित्यिक कार्यक्रम चलाउथें । एकपटक खोइ के कारणले हो ढिला भयो । एफएमको स्टुडियो चार तला माथि थियो । एकै सासमा दौड्दै भरयाङ चढेर स्टुडियोमा पुग्दा टेक्निसिएन भाइ विकासले कार्यक्रमको फिलर म्यूजिक बजाई राखेको ४-५ मिनेट भइसकेको रहेछ । त्यस्पछि त ला धेरै नै ढिला भैसकेछ भन्ने लागेर कन्ट्रोल रुमतिर नपसी सिधै स्टुडियोभित्र छिरें र हतार हतार कार्यक्रम सुरु गर्न थालें । सास यसरी फुलेर आयो कि म त सासै फेर्न नसकेर मर्छु कि जस्तो लाग्यो । बोल्न नसकेपछि फेरि रोकिएर केही मिनेट फिलर उठाउनु परेको थियो । आफ्नो बानी घीउ खानी भनेजस्तै समयमा पुग्न नसक्ने नेपाल देखिको मेरो पुरानो बानीले लण्डनमा पनि बेलाबेला दुःख दिइराखेको थियो मलाई ।

बेसभित्र छिरेर हतार हतार आफ्नो नामको हाजिर गर्ने क्लक कार्ड मेसिनमा छिराएं । कार्डमा समय छापिएर आयो ८ः २९ः ३० ।  ब्रिफिङ सुरुङ हुन अब केवल तीस सेकेन्ड बांकी थियो । एकदमै हुर्रिएर चेन्जिङ रुम तिर जांदै गर्दा देखें ब्रिफिङ रुमको ढोकैमा सुपरभाइजर घडी हेर्दै भित्र जान तयारी अवस्थामा ठिङ्ग उभिएको थियो । म चाहन्थें म तयार भएर आइन्जेल केही सेकेन्ड उसले मलाई कुरोस् । त्यसैले जानीजानी मैले उसंग आंखा जुधाएं । स्कटिस गोरे थियो ऊ । तर धेरै समय इङ्ल्यान्ड मै बसेकोले होला स्कटिस लवज चाहिं खासै थिएन उसको बोलीमा । एकदम मुडी किसिमको मान्छे थियो । कुनै भर नभएको । मुड खराब भाको बेला उसंग कुनै सहयोग र सपोर्टको आशा नगरे पनि हुन्थ्यो । तर खुसी भएको बेला भने निकै सपोर्टिभ, सहयोग पनि गर्दथ्यो । थाहा छैन आज ऊ कुन मुडमा छ ।

युनिफर्मको ट्राउजर र जुत्ता घरबाटै लगाएर गएकाले सकेसम्म छिटो सर्ट लगाएर ज्याकेट र त्यसमाथि लगाउने हाइ भिजन हातैमा लिएर हत्तारिएर आएं । सुपरभाइजर घडी हेर्दै अझै पनि ढोकैमा थियो । सबैजना तयार भएर भित्र बसिसकेका भए पनि बाहिरै उभिएर सुपरभाइजरले मलाई भित्र छिर्ने मौका दिएको हो भन्ने बुझें । भित्र जांदैगर्दा मैले उसंग फेरि अँखा जुधाएं र सानो स्वरमा धन्यवाद भनेर आभार व्यक्त गरें । जवाफमा उसले टाउको मात्र हल्लायो र मेरो पछिपछि भित्र छिर्दै ड्याम्म ढोका लगायो ।
उबचब अजबलनभ 

ट्राफिक वार्डेनको काम सडकमा नियमविपरीत पार्क  गरिएका गाडीहरुमा जरिवाना टिकट टांस्ने । हरेक दिन सडकमा निस्कनुअघि यसरी नै सुपरभाइजर र कहिले काहिं म्यानेजरबाट ब्रिफिङ हुन्थ्यो र कुन क्षेत्रमा काम गर्ने भनेर हामीलाई बिट दिइन्थ्यो । र दिनभरिका लागि कतिपय महत्वपूर्ण जानकारी पनि दिइन्थ्यो । हामीले काम गर्ने लन्डनको सदक काउन्सिललाई विभिन्न बिट्मा बांडिएको थियो । सुपभाइजरले धमाधम बिट दिंदै थियो । आज कुन बिट्मा पर्छ होला भनेर कान ठाडो पारेर सुन्दै थिएं । मेरो पालो आएपछि मलाई हेर्दै भन्यो उसले 921 Echo zone अर्थात इ-जोन । मेरो सोल्जर नम्बर ९२१ थियो । पुलिसको जस्तै सबै अफिसरको सोल्जर नम्बर हुन्थ्यो । अफिसियल्ली रेडियोमा बोल्दा होस् या सर्वसाधारणसंग बाटोमा बोल्दा हामीले आफ्नो नाम प्रयोग नगरी यही नम्बर भन्थ्यौं ।

इ-जोनमा प्रायः दुईजना राख्ने भएकाले अर्को को पर्छ होला भनेर ध्यान दिएर सुन्दै थिएं । मलाई चाहिं कोहि नेपाली साथी नै परे हुन्थ्यो भन्ने लागिराथ्यो । किनभने बाटोमा बेलाबेला संगै हिंडिन्थ्यो । पार्कमा र म्याक्डोनल्डभित्र बसेर गफ चुट्न खुब मज्जा आउंथ्यो । तर आज भने नेपाली साथीहरु अरुनै बीटमा परे । कोइ माइकतिर, कोइ जुलिएटतिर र कोइ चाहिं नोभेम्बर चार्लीतिर परे । मसंगै इ बिट्मा चाहिं सोफिया परि । रोमानियाबाट आएकी त्यस्तै आठ दश महिनाअघि मात्रै यो जागिर सुरु गरेकी थि उसले । पढेलेखेकी र हेर्दा परिपक्व खाल्की आइमाई थिइ उ । त्यस्तै ५० वर्ष जतिकी देखिन्थी । एउटै बिट्मा परेपछि एकअर्कालाई हेरेर टाउको हल्लायौं हामीले । अंग्रेजी राम्रै बोल्थी । मैले देखेका प्राय रोमानियनहरुको अंग्रेजी राम्रो हुन्थेन । आफ्नो कुरा राख्न नडराउने हक्की स्वभावकी थिई उ । म आफैं पनि सही कुरा गर्न नडराउने र अन्याय पटक्कै सहन नसक्ने स्वभावको भएकाले होला सोफिया को त्यो बानी मन पथ्र्यो मलाई ।

‘

ब्रिफिङ’ सकिएपछि बाहिर निस्कियौं । वाल्वर्थ रोड भन्ने हाइ स्ट्रिटको म्याक्डोनाल्डको अगाडिसम्म नेपाली साथीहरु र अरु २-३ जना संगै थियौं । यहींबाट सबै छुट्टिएर आ आफ्नो बिटतर्फ लागे । एउटै बिट भएकाले सोफिया र म संगै थियौं । हाम्रो इ बिट म्याकडोनाल्ड रेस्टुरेन्टको पछाडिको क्षेत्र थियो । दुबैजना गफ गर्दै संगै हिडे पनि एकैछिनमा हामी छुट्टियौं । किनकि काम शुरु गरेपछि सुरुको समयमा हाम्रो ध्यान गफमा भन्दा पनि बढी टिकट तिरै हुन्थ्यो । बिहान फटाफट ३-४ ओटा टिकट हान्न सकियो भने दिनभरिलाई हाइसन्चो हुन्थ्यो । ढुक्क हुन्थ्यो । त्यही भएर सोफिया अमेलिया स्ट्रिटबाट क्र्याम्टन स्ट्रिटको दायां पट्टि लागि भने मचाहिं देब्रेतिरबाट म्यानोर प्लेसतिर हिंडे ।

यतिबेला दिउसो एक घण्टाको लन्च ब्रेकपछि बाहिर निस्केर फेरि पेट्रोलिङमा लागिसकेको थिएं । लन्च अघि नै चार वटा टिकट हानी सकेकोले अब टिकटका लागि धेरै दौडधूप गर्ने पक्षमा थिइन् म । पाए पनि ठिकै नपाएपनि बालै भएन भन्ने मुडमा हिंड्दै थिएं । ब्यस्त हाइ स्ट्रिट भएकोले वाल्वर्थ रोड छेउछाउका भित्री सडकहरुतिर मान्छेहरु गाडी रोकेर किनमेलका लागि हिडेका हुन्थे । त्यसैले यतिबेला हाम्रो गस्ती यिनै ठाउंतिर केन्द्रित हुन्थ्यो । कार्टर प्लेस पछाडि हाउजिङको भित्री बाटो हुंदै पेनरोज स्ट्रिटतिर निस्कदै थिएं । तल हाइस्ट्रिटबाट सोफिया आउंदै गरेको देखें । घडी हेर्दा त्यस्तै ३ः२० जस्तो हुंदै थियो । दुई बजेको लन्च सकेर सायद भर्खर बाहिर निस्केकी हुनुपर्छ । एकछिन त्यही उभिएं । 
मेरो नजिकै आएपछि उसले भनि, के हो बिहान छुटेपछि त भेटै भएन त । टिकट टन्नै हान्यौ कि क्या हो ? 
मैले भनें, होइन होइन जम्मा ५ वटा मात्रै हो । 
सोफियासंग मात्र होइन हामी बाटोमा एकअर्कासंग जम्काभेट हुंदा यसरी नै टिकट कति हानियो त भनेर सोध्थ्यौं । विशेषगरी
आफूसंग कुरा मिल्ने अलि नजिकका साथीभाईसंग । मैले सोध्न नपाउंदै उसले भनि, मेरो त जम्मा ४ ओटा भयो । अब भेटिएको पहिलो टिकट सोफियाले हाल्ने समझदारी गरेर हामी पेन्टन रोडबाट अगाडि बढ्यौं ।

अलि अगाडि रोड मर्मतको काम भइरहेको थियो । त्यहां काम गरिरहेका ३ जना युरोपियनहरुलाई देख्नेबित्तिकै सोफिया आफ्नै भाषामा गफ गर्न थाल्छे । आफ्नै देशको मान्छे भएर होला निकै उत्साही हुंदै ठूल ठूलो स्वरमा एकछिन गफिए उनीहरु । उनीहरुले बोलेको एक लाइन निक्कै ध्यान दिएर याद गरेको थिएं मैले । त्यहांबाट हिंडे पछि त्यही याद गरेको लाइन बोलेर सोफियालाई जिस्क्याएं मैले । त्यो सुनेर उ पनि छक्क पर्दै तिमलाई त अलिअलि आउंछ कि क्या हो भनेर भनि । 
मैले भने, आउंछ नि अरुले बोलेको सुनेर भन्न के 
गार्हो भो र ? के भनेको हो अर्थ पो आउंदैन त ।  
यो सुनेर ऊ बेस्सरी हांसी । मैले उसलाई तिमीले उनीहरुलाई पहिल्यै चिनेको हो भनेर सोधें । 
उसले भनि, होइन नि कहां चिन्नु ?  
त्यसो भए कसरी थाहा पायौ त उनीहरु रोमानियन नै हुन भनेर ? 
मेरो प्रश्नको जवाफमा उसले हांस्दै भनि, ‘आफ्नो देशको मान्छे त्यत्तिकै चिनिन्छ नि । त्यसमाथि यहां लण्डनमा धेरै जसो रोमानियन केटाहरु निर्माणको काम गर्छन् ।’

सोफिया मलाई अरु रोमानियन भन्दा अलि फरक लाग्थी । कमजोर अंग्रेजी, अग्ला बलिया भएकाले शारीरिक परिश्रम पर्ने खालका अदक्ष किसिमका काम गर्ने, कतिपय त बाटोमा माग्न समेत बस्ने, र कोहि कोहि चाहिं व्यक्तिगत सरसफाइमा त्यति ध्यान नदिने हेर्दै फोहोरी  जस्ता देखिने । मैले देखेका कतिपय रोमानियनहरु यस्ता थिए । मलाई नै घटेको एउटा घटनाका कारण पनि रोमानियनहरुप्रति मेरो त्यति राम्रो अनुभव चाहिं थिएन । त्यतिबेला ग्रीनवीचमा हामीले भर्खरै एउटा पसल किनेका थियौं । केही समयअघि देखि बन्द रहेको पसल थियो त्यो । पसल खोल्नु अघि भित्र कैयन मर्मतसम्भार गर्नुपर्ने र केही केही कुरा भने नयां बनाउनुपर्ने देखियो । त्यसै कारण एकजना पहिले नै चिनेको रोमानियन बिल्डर लाई पसल देखाउन बोलाएको थिएं । आफ्नी गर्लफ्रेन्ड र गर्लफ्रेन्डका दुईजना भाईहरुसंगै आएको थियो उ । पसलमा के के बनाउनुपर्छ सबै कुरा एक एक गर्दै उसलाई देखाएं । अरु तीन जना चाहिं पसलको काउन्टर नजिकै उभिएका थिए । सबै कुरा हेरेपछि के कति लाग्छ दुई दिनमा कोटेसन दिन्छु भन्दै उ निस्क्यो ।

एकछिनपछि म पनि पसलबाट निस्कन लाग्दा काउन्टरको टपमा राखेको मेरो ह्याट र चश्मा खोजें । एकै ठाउंमा राखेको मेरो टोपी चाहिं त्यहीं थियो तर चस्मा गायब थियो । भर्खर मात्रै किनेको नयां रेबनको चस्मा । कतै खस्यो कि भनेर वरिपरि सबैतिर खोजें । तर कतै भेटिएन । एकैछिन घोत्लिएं र सम्झिएं, चस्मा भएकै छेउमा उभिएका थिए ती तीन जना । भनेपछि मलाई बुझ्न गार्हो भएन । काम लिन आएकाहरुले काम होइन चस्मा पो झ्याप पारेछन् त । यसरी हाकाहाकी चोर्ने हिम्मत देखेर छक्क परेको थिएं म । पसल बन्द भएकोले सिसिटिभी पनि चलेको थिएन । त्यो बिल्डरलाई तुरुन्त फोन गरेर भनें, मेरो चश्मा भर्खरै हराएको छ । पक्कै तिम्रो मानिसहरुले लगेको हुनुपर्छ । फिर्ता नगरे पुलिस बोलाउछु भनेर धम्की दिएं । तर उसले चोरेको कुरा पटक्कै स्वीकार्न मानेन । सिसिटिभी रेकर्ड नभएपछि पुलिसलाई खबर गर्नुको कुनै अर्थ पनि भएन ।

यिनै कारणहरुले गर्दा पनि यिनीहरुको बारेमा मलाई थप कुरा थाहा पाउन मन लाग्यो । सिधै सोध्न अलि अप्ठेरो लागेकोले घुमाउरो शैलीमा सोधें, ‘भनेपछि रोमानियाबाट धेरै जसो बिल्डरहरु आउने रैछन् है यहां लन्डनमा ?’ यो सुनेर उसले केहि कुरा बुझाउन खोजे जसरी भनि, त्यसो होइन प्रमोद । मुख्य कुरा देश छोडेर कस्ता मान्छे बाहिर काम गर्न जान्छन् भन्ने बुझ्नुपर्छ पहिला । तिमीहरूको तिर के हुन्छ मलाई थाहा भएन तर रोमानियाबाट यहां काम गर्न आउने अधिकांश मानिस एकदमै निम्नस्तरका, खासै सीप नभएका, नपढेका र आर्थिकस्तर निकै कमजोर भएकाहरु हुन्छन् । यस्ता धेरैले प्राथमिक शिक्षा समेत पुरा गरेका हुंदैनन् । विशेषगरी गाउंतिर बच्चाहरु स्कुल नै जांदैनन् र गए पनि बीचैमा छाड्छन् । पढाइ पूरा गर्दैनन् । यहांसम्म कि उनीहरुका बाबुआमा समेत बच्चाहरुलाई विद्यालय पठाउन चाहदैंनन् । उनीहरु गरीब हुन्छन् त्यसैले विद्यालय पठाउनु भन्दा खेतबारीमा काम लगाउन रुचाउंछन् । उसले अझै अगाडि भनि, ‘रोमानियाका धेरै गाउंघरमा पर्याप्त डाक्टर छैनन् । भएपनि उनीहरुले अति नै न्यून तलब पाउंछन् त्यसैले धेरैजसो उनीहरु युरोपका विकसित देशमा कामका लागि जाने गर्छन् ।
’ म छक्क परेर सुनि रहें । रोमानिया होइन, उसले त हाम्रै देश नेपालको बारेमा कुरा गरेजस्तो लाग्यो मलाई । कस्तो ठ्याक्कै हाम्रै गाउंघरको कथा जस्तो । मेरा आंखा अगाडि नेपालका दुरदराजमा शिक्षाको अवसरबाट बन्चित, पर्याप्त पौष्टिक आहार र उपचार नपाएका बालबालिकाहरु, बालश्रमिकहरु र आफ्ना सन्तानलाई शिक्षादीक्षा दिन नसकेका निरीह र लाचार बाबुआमाको तस्विर नाच्न थाल्यो।  मैले त्यतिबेला झल्झल्ती नेपालमा रोजगारी नपाएर कतारमा ५० डिग्रीको गर्मीमा काम गर्ने नेपाली दाजुभाइहरुलाई पनि सम्झें ।

त्यति नै बेला एउटा गाडी अपाङ्गता भएका व्यक्तिहरूका लागि मात्रै छुट्याइएको ठाउंमा पार्क गरिराखेको भेटियो तर अगाडि ड्यासबोर्डमा यस्तो ठाउंमा पार्क गर्न आवश्यक ‘डिसेबल्ड’ ब्याज राखेको देखिएन । टिकट पाएमा उसैले हान्ने कुरा भए अनुरुप सोफिया अगाडि सरि । सोफिया हतार हतार गाडीको डिटेल हातमा लिने सानो कम्प्युटरमा हालेर टिकट निकाल्न तिर लागी । म भने उसले अघि भनेका कुरामा घोत्लिन थालें । कस्तो अचम्म । युरोप भनेर मात्र पनि नहुने रैछ । आज पहिलोपल्ट थाहा पाएं युरोपभित्रै पनि यो स्तरको आर्थिक असमानता र पछौटेपन हुंदो रैछ । शिक्षाको कुरामा बरु नेपालमा धेरै विकास भए जस्तो लाग्यो मलाई । आजकल विद्यालय नजाने र बीचैमा पढाइ छोड्ने बालबालिकाहरुको संख्या नेपालमा धेरै कम भइसके जस्तो लाग्छ ।
टिकट इस्यू गरेर सोफिया म भएतिर आउंदै थिइ । मैले चाहिं एकचोटी उसले आफ्नै बारेमा भनेको कुरा सम्झें । रोमानियामा एउटा कम्पनीको म्यानेजर थिइ उ । उसको मातहतमा २०-२२ जना कर्मचारी हुन्थे । म्यानेजर भएपनि तलब मुस्किलले १५० पाउन्ड जति हुन्थ्यो । तर पनि उसलाई पुगेकै थियो । मैले सोचें अरु त नपढेका र कुनै सीप नभएकाहरु जागिर नपाएर लन्डनतिर आए होलान् तर सोफिया किन आइ त ? 
हामी यति बेला फेरि संगै हिडिरहेका थियौं । मैले अघिकै प्रसङ्ग फेरि जोड्दै उसलाई सोधें ।  
सोफिया तिम्रो त राम्रै जब थियो क्यारे । फेरी किन आयौ त लण्डन ? भर्खर एउटा टिकट पाएर हो कि अलि गजबको  मुडमा थिइ उ । उत्साहित हुंदै उसले भनि, ‘ओ के तिमले सोधी हाल्यौ उ यो पार्कमा एकछिन ब्रेकमा बसेर कुरा गरौंन त ।’ नजिकैको पार्कभित्र एउटा खाली बेन्चमा बस्यौं हामी । पार्कमा पर दुई-चारजना बल हान्दै  थिए । झलमल्ल घाम लागेकाले मानिसहरूको राम्रै चहलपहल थियो । कुकुर डुलाउन हिंड्नेहरु, कुकुरलाई बलसंग कुदाउनेहरु र यतिकै टहलिनेहरूका कारण पार्क रमाइलो देखिन्थ्यो ।

सोफियाले कुरा सुरु गरि । तिमीले ठिकै भन्यौ । काम नपाएर र पैसा कमाउने बिचारले लण्डन आएको होइन म । ‘लामो कथा छ…’ सुस्केरा हाल्दै भनी उसले । त्यतिकैमा एउटा कुकुर उसको नजिकै आयो । कुकुर भनेपछि हिरिक्कै गर्थि । आफ्नै कुकुर जस्तो गरि एकछिन सुमसुम्याउन थाली । एकैछिनमा ‘ओ सरि अबाइट दयाट’ भन्दै कुकुरको मालिक आउंछ । सोफिया अब कुकुरको मालिकसंग कुरा गर्न थाल्छे । कस्तो राम्रो कुकुर कतिमा किनेको ? कहां किनेको ? अनि कति भयो यसको उमेर ? आदि इत्यादि । एकैछिनको वार्तालाप पछि कुकुर त्यहांबाट दौडिंदै गयो । मालिक पनि कुकुरलाई पछ्याउंदै गयो । कुकुर गएको दिशातिर हेर्दै  मुसुक्क हासेर भनि, मेरो कथामा यो कुकुर पनि धेरै ठाउंमा जोडिएको छ बुझ्यौ ? कुकुरको रमाइलो प्रसङ्ग पनि छ । सुन्यौ भने तिमी त मरिमरि हांस्ने छौ । त्यो सुनेर मैले रुचीपूर्बक सोधें । के हो त्यस्तो कुरा ? सुनौं न त । रमाइलो कुरा भए त हांसौला नि ।

तिमीलाई थाहा छ नि मेरो २२ वर्षकी छोरी छ भनेर । अहिले त २५ पुगिसकि । सोफियाको प्रश्नमा मैले टाउको हल्लाएं र भने, हो तिमीले भनेकी थियौ । 
एकछिन पर एकतमासले हेर्छे र लामो सास तानेर भन्न थाल्छे, तर तिमीलाई सुन्दा अचम्म लाग्ला मैले मेरो जीवन, मेरो भविष्य र मेरो प्रेमको खातिर आफ्नै छोरीलाई समेत त्याग्ने निर्णय गरेर लन्डन आएको हुं । जीवनले यस्तो मोडमा उभ्याइदियो जहां मैले मेरी छोरी वा मेरो प्रेम, मेरो पार्टनरमध्ये एकजना रोज्नुपर्ने भयो । मैले मेरो भविष्य र मेरो प्रेम रोजें । किनकि मैले पनि बांच्नु पर्दथ्यो र खुशी हुन मैले पनि पाउनु पर्दथ्यो । सोफियाको कुरा सुन्दा मैले बोल्ने कुरा केहि थिएन । केवल रुचीपूर्वक उसलाई सुनिराखें ।
उबचब अजबलनभ 

केही वर्षअगाडि मेरो डिभोर्स भयो । केही समय म 
सिंगल नै थिएं । छोरी र म संगै बस्थ्यौ । एउटा कम्पनीको म्यानेजर थिएं । घर र काममै केहि समय बित्यो । ४८ वर्षको उमेरमा आएर मैले नयां पार्टनर भेटें । उसको नाम अलेक्ज्यान्ड्रु थियो । हामी दुवैले केही समय डेट गरेपछि एक अर्कालाई मन परायौं र संगै बस्ने निर्णय गर्यौ । अलेक्ज्यान्ड्रुलाई मैले मेरै घरमा राख्ने विचार गरें र ऊ पनि राजी भयो । मैले उसलाई मेरो घरमा स्वागत गरे जहां म मेरी छोरी र मेरो प्यारो कुकुर संगै बस्थें ।

अघि तिमीलाई भनेको थिएं नि कुकुरको कुरा । हो त्यो यही कुकुर थियो । उ संगै म एकदमै नजिक थिएं सांच्चै माया गर्थे । डिभोर्सपछि त झन् मेरो एक्लोपनाको नजिकको साथी बनेको थियो त्यो कुकुर । मेरो खुशी, हांसो र रमाइलोको साथी थियो । त्यसैले ऊ मसंगै एउटै बेडमा सुत्थ्यो । 
मैले अलि अनौठो मान्दै सोधें, एउटै रुममा कि एउटै बेड मा ? जवाफमा उसले एकदमै स्वाभाविकरुपमा भनि- होइन होइन रुम मात्र होइन, मेरै बेडमा सुत्थ्यो । डिभोर्स पछि त झनै एक्लो भएकी थिएं म । कुकुर नै मेरो साथी थियो । मलाई थाहा छ म कुकुरसंगै सुत्ने कुरा सुन्दा तिमीलाई अचम्म लागेको छ । एकचोटी सोच त पहिलो रात जब अलेक्ज्यान्ड्रु मसंग मेरो घरमा बिताउंदै थियो उसलाई कस्तो लाग्यो होला ? उ त तीनछक्क परेको थियो । उसले त्यो कुरा पटक्कै मन पराएन । त्योभन्दा पनि बढी आघात उसलाई त्यति बेला पर्यो जब मैले भने कि मसंग मात्र होइन अब तिमी आएपछि पनि कुकुर हामीसंगै सुत्ने छ । उ यो कुरा मान्न कुनै हालतमा तयार थिएन । म अझै सम्झन्छु कुकुर हामी संगै सुत्छ अब भनेर मैले भन्दा उसको अनुहार हेर्न लायक भएको थियो। म कुकुर भनेपछि हुरुक्कै हुने उसलाई चाहिं कुकुर मनै नपर्ने । त्यसैले कुकुरलाई कोठाबाट भगाउन चाहन्थ्यो उ । जुन कुरालाई मैले ठाडै अस्वीकार गरिदिएं । मैले मान्दै नमानेपछि अब उसंग सम्झौता गर्नुको अर्को विकल्प पनि थिएन ।

रमाइलो कुरा तब के भने अलेक्ज्यान्ड्रु मात्रै होइन मेरो कुकुरले पनि उसको आगमनलाई मन पराएको थिएन । बास्तवमा यि दुवै जना एक प्रकारले एक अर्काप्रति एकदमै इष्र्यालु थिए । मसंगै एउटै बेडमा सुतेको देख्दा कुकुरले एलेक्ज्यान्ड्रुलाई बेस्सरी भुक्ने गर्दथ्यो । बिचरा उ कैयौं पटक सुतेको मान्छे डरले उठेर बस्थ्यो । वास्तवमा त्यसपछि जति समय हामी संगै बस्यौं यी दुवैले एकअर्कालाई कहिल्यै स्वीकार गरेनन् । यस्तो लाग्थ्यो कि मेरा लागि दुवैले एकअर्कालाई झेल्ने सम्झौता मात्र गरेका थिए ।
सोफियाको कुरा सुनेपछि मैले भनें, ‘कुकुर र आफ्नो पार्टनर पनि एउटै हुन्छ र ?
 तिमी एक्लै हुंदा त ठिकै हो तर तिम्रो नयां पार्टनर आएपछि त कुकुरलाई बाहिर निकाल्नु पर्दथ्यो नि तिम्ले ।
’ जवाफमा उसले भनि, ‘त्यतिका समय म एक्लो हुंदा मलाई साथ दिएको कुकुरलाई अहिले आएर बाहिर निकाल्न कहां सक्थे र ? अहं सक्दिनथे नि ।
’

एकैछिनमा केही सम्झे जस्तो गरि एक्दमै उत्साहित हुंदै भनी उसले अझै रमाइलो कुरा के थाहा छ ? बिचरा  अलेक्ज्यान्ड्रु उसले मलाई अंगालो हालेको र किस गरेको त देख्नै हुन्थेन । कुकुर भुक्न थालिहाल्थ्यो । म त उसलाई हेरेर मरी मरी हांस्थे । बुझ्यौ जब हामी 
राती सेक्स गर्न थाल्थ्यौं नि कुकुरले के गर्दथ्यो थाहा छ ? ओह माइ गड आइ कान्ट एक्स्प्लेन । त्यो कस्तो हांसो उठ्दो कुरा छ । यिनीहरुले के गरेका होलान् भनेर अचम्म मानेर, एकदमै मन नपरेको जस्तो गरेर हेर्दथ्यो। कुकुरले हेरिरहेको देखेपछि बिचरा अलेक्ज्यान्ड्रु अप्ठ्यारो मान्दै रोकिन्थ्यो । म भने रमाइलो मानेर हांस्दै  जिस्क्याउथे उसलाई । उ भने कमसेकम यो बेला त बाहिर निकाल न कुकुरलाई भन्थ्यो । 
मैले भने उसलाई हांस्दै भन्थें, ‘चिन्ता नगर डार्लिङ यो एउटा कुकुर हो मान्छे होइन, त्यसैले यसले तिमीलाई केहि गर्दैन, खुरुखुरु आफ्नो काम गरन ।’ मेरो कुरा सुनेर ऊ मुख बिगार्दै मुड नै हरायो भन्दै घरि मलाई घरि कुकुरलाई हेर्दै आफ्नो काम पुरा गर्दथ्यो ।
उबचब अजबलनभ 

अलेक्ज्यान्ड्रु र मेरो कुकुरले नचाहेर पनि मेरा लागि एक अर्कासंग सम्झौता गरे । तर समस्या मेरो छोरीसंग भयो । मेरी छोरी अलेक्ज्यान्ड्रुलाई आफ्नी आमाको नयां पार्टनरको रुपमा स्वीकार्न पटक्कै तयार भइन । उ एकदमै इष्र्यालु भइ । अलेक्ज्यान्ड्रुलाई घरमा देख्ने बित्तिकै उ पागल हुन्थी । झगडा गर्थी, चिच्याउथी, कराउथी । बिस्तारै उसलाई अपशब्द बोल्ने र दुरव्यबहार समेत गर्न थाली ।
 उ भन्थी म तिम्रो छोरी हुं । त्यो मान्छे हाम्रो सम्पति देखेर आएको हो । त्यस्ताका लागि तिमी कसरी आफ्नी छोरीको चित्त दुखाउन सक्छ्यौ ? के तिमीलाई मेरो माया लाग्दैन ? लाग्छ भने उसलाई तिमीले छोड्नुपर्छ । त्यसलाई म यो घरमा ज्यान जाला बस्न दिन्न । मारिदिन्छु म । यति भन्दै गर्दा सोफियाका आंखा रसाएका थिए । बोली बेला बेलामा अवरुद्ध होला होला जस्तो  भएको थियो। एकछिन हामी दुवै मौन भयौं । मैले पनि केही बोल्नु भन्दा मौनताले नै उसलाई साथ दिनु उपयुक्त ठानें ।

एकैछिन पछि फेरी सम्हालिदै भनि उसले, मैले मेरी छोरीलाई धेरै सम्झाउन खोजें कि अलेक्ज्यान्ड्रुलाइ म प्रेम गर्छु भनेर ।  मैले पनि त मेरो जीवन बाच्नु परयो नि । तर उ पटक्कै सम्झने पक्षमा थिइन् । एक दिन त यति सम्म  भयो कि उ पुरै पागल जस्तै भएर झगडा गर्न थाली । जे पायो त्यसैले आक्रमण गर्न थाली । झगडा यति भयानक भयो कि उसले म माथि एउटा एकदमै घातक केमिकलले मेरो अनुहार भरि छ्यापिदिइ र म उत्तिन्खेरै फेन्ट भएर ढलेछु । तुरुन्तै अलेक्ज्यान्ड्रुले हस्पिटल दौडाएछ । डाक्टरले भन्यो, केमिकलको कारणले मेरो मुटुमा गम्भीर किसिमको क्षति भएको छ । जसको कारणले मैले अब जीवन भरी औषधि खानु पर्छ । जुन मैले अहिले पनि खांदै छु। त्यस घटनापछि मैले मन बलियो बनाएर संकल्प गरें । मेरो आफ्नो पनि महत्व छ, अर्थ छ, म पनि बांच्नु छ, हांस्नु छ । सबै भन्दा ठूलो कुरा शान्तिसंग जिउनु छ । त्यसैले मैले निर्णय गरे कि बाकी जिन्दगी म आफ्नो लागि, मेरो प्रेम, मेरो मुटुको साथी र मेरो जिन्दगीको सुख दुःखको सहयात्रीसंग बिताउने छु । मेरो प्रेमको लागी, मेरो माया र विश्वासको लागि मैले मेरी आफ्नी छोरी, मेरो प्यारो कुकुर र आफ्नै देश छोडेर लन्डन आउने निर्णय गरें ।

त्यही निर्णय, त्यही संकल्प र त्यहींबाट शुरु भएको मेरो नयां प्रेमिल यात्राको कारण आज म यहां छु । मैले कहिलै नसोचेको र नदेखेको काम गर्दै छु । जसको कारण तिमीहरु जस्तो साथीहरु भेटेको छु । यहां मेरा पुराना साथीहरु कोहि छैनन्, नाता गोता पनि छैनन् । आफ्नो भन्ने अलेक्ज्यान्ड्रु भन्दा बाहेक अरु कोहि छैन् । मलाई मेरो देश पल-पल मिस हुन्छ । मलाई मेरो करिअर सम्झदा अहिले पनि माया लाग्छ । मलाई झन्डै मृत्युको मुखमा पुरयाए पनि मेरी छोरीको मलाई बिछट्टै माया लाग्छ । यो बिरानो देशमा म पटक्कै खुशी छैन तर पनि म यो बेखुशी सहर्ष स्वीकार्दै छु । यो खल्लोपन, यो पट्यार लाग्दो जीवनशैली झेल्न तयार छु ,केवल मेरो प्रेमको लागि, मेरो नयां जिन्दगीको लागी, मेरै खुशीको लागि र सबै भन्दा धेरै मेरो अलेक्ज्यान्ड्रुका लागि ।

सुनौं प्रमोद राजको लण्डन डायरी  भाग -६ :

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू