शुक्रबार, वैशाख १४, २०८१
03:21 | ०८:०६

उपाधि नजिते पनि नेपाली खाना चिनाउन पाएकोमा गौरवान्वित छु

नेपाली लिङ्क डिसेम्बर १८, २०२०


लण्डन । बिहीबार बेलुका सम्पन्न मास्टर सेफ प्रोफेसनल्स् २०२० मा उपविजेता बने नेपाली सेफ सन्तोष ।

मास्टर सेफमा नेपाली खानासहित सहभागी हुने पहिलो नेपाली सेफको रेकर्ड बनाएका उनी फाइनलसम्मको गौरवपुर्ण यात्रा गर्न सफल भएका छन् । मास्टर सेफको प्लेटफर्ममा मौलिक नेपाली खानाका दर्जनौ परिकार पस्किएका सन्तोषले संसारभरका नेपालीबाट ठूलो चर्चा र माया बटुलेका छन् ।

फाइनलसम्म आइपुग्दा हरेक एपिसोडमा निर्णायकहरुबाट उत्साहप्रद प्रतिक्रिया पाएका उनलाई धेरैले विजेताकै रुपमा अनुमान गरेका थिए । आफ्नो सीप र कौशलले नेपालीहरु मात्र नभइ विदेशीहरुमाझ पनि राम्रो प्रभाव छोड्न सफल सन्तोषसंग मास्टर सेफको फाइनल नतिजा सार्वजनिक भएलगत्तै नेपाली लिंकले गरेको संक्षिप्त संवाद:

प्रतियोगिताको नतिजाप्रति तपाईंको प्रतिक्रिया के छ ?

म एकदमै खुशी छु । उपाधि जितेको भए अझै राम्रो हुन्थ्यो होला । तर पनि म कत्ति दुखी छैन । किनकी मैले शुरुदेखि नै मास्टर सेफलाई एक प्रतियोगिताको रुपमा मात्र लिइन । यो त विश्वको नजरमा ओझेलमा परेको हाम्रो नेपाली खानालाई सबैमाझ चिनाउने एउटा अवसर थियो मेरो लागि । सोही अवसरलाई सक्दो सदुपयोग गर्ने कोशिस गरेको छु । त्यसैमा म खुशी छु ।

मास्टर सेफमा धेरैले तपाईंलाई नै विजेता हुने अड्कल काटेका थिए, किन पछि पर्नुभयो ?

मैले पछि परेको महशुस गरेकै छैन । जुन स्थानसम्म पुगें र जति उपलब्धि हासिल गरें, त्यसमा नै म आफूलाई निकै भाग्यशाली ठानेको छु । आज लाखौं नेपाली दाजुभाइ, दिदीबहिनीहरुको मनमा बस्न सफल भएको छु, मेरो लागि त्योभन्दा ठूलो जीत अरु केही हुन सक्दैन ।

तैपनि उपाधि जित्न नसकेको दुःख त लागेको होला नि ?

म मास्टर सेफमा उपाधि जित्न भनेर गएको होइन । म त नेपाली खाना र नेपाललाई संसारभरका मानिसहरुमाझ चिनाउने लक्ष्य बोकेर गएको थिएं । उपाधि नजितेपनि आफ्नो लक्ष्य पूरा गर्न पाएको छु, त्यसैले म दुखी भएको छैन ।

मास्टर सेफमा भाग लिने पहिलो नेपाली सेफ हुनुहुन्थ्यो । शुरुमा फाइनलसम्मको यात्रा गर्छु भन्ने आशा थियो ?

मैले मास्टर सेफलाई जीत हारको खेलका रुपमा साचेकै थिइन । मेरो त एक मात्र ध्यान कसरी नेपाली खानालाई इन्ट्रोड्युस गरौं, कसरी प्रमोट गरौं भन्ने थियो । मलाई प्रतिस्पर्धामा जुन चरणसम्म पुगेपनि विश्वका दर्शकमाझ नेपाली खानालाई ‘नोटिस’ गराउन सकुं भन्ने मात्र थियो ।

मास्टरसेफका कुन क्षण विशेष र यादगार छन् ?

मास्टरसेफको पूरै यात्रा मेरो लागि यादगार र विशेष छ । मेरो जीवन नै परिवर्तन गराउने एउटा मोड बनेको छ यो प्लेटफर्म । त्यसैले यहाँका सबै सम्झनाहरु मेरो जीवनभर याद भइरहनेछन् । त्यसमा पनि मैले मेरी आमाको लागि समर्पण गरी खाना बनाएको क्षण सबभन्दा विशेष रह्यो जस्तो लाग्छ । मास्टरसेफकै कारण देश विदेशका नेपालीले मप्रति जति माया र शुभेच्छा देखाउनुभएको छ, त्यसलाई पनि म कहिल्यै बिर्सिन सक्नेछैन ।

अबका भावी योजना के छन् ?

हाम्रो नेपाली खानामा जुन मौलिकता र विविधता छ, त्यो सायदै संसारका अन्य कुनै कुइजिनहरुमा होला । तर पनि हाम्रो खाना किन अझै ओझेलमा छ भन्ने कुरा मेरो मनमा बिझाइरहन्थ्यो । त्यसैले हाम्रो नेपाली खानालाई विश्वबजारमा चिनाउन मैले पनि सक्दो योगदान गर्नुपर्छ भन्ने लाग्यो । मास्टर सेफ मेरो लागि महत्वपुर्ण प्लेटमफर्म थियो, जति सकें, उपयोग गरेको छु । अब पनि जे, जसरी हुन्छ म नेपाली खानाकै प्रवर्द्धनमा निरन्तर लागिरहनेछु ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू