मंगलबार, वैशाख ११, २०८१
08:13 | १२:५८

विद्यालयमा आक्रमणपछि ३ सय बढी विद्यार्थी बेपत्ता

रासस-सिन्ह्वा डिसेम्बर १४, २०२०

लागोस ।  नाइजेरियाको लागोसमा शुक्रबार र आइतबार अज्ञात बन्दुकधारीहरुले गरेको आक्रमणपछि कम्तीमा पनि ३०० जना विद्यार्थी बेपत्ता भएका छन् । 

यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार बन्दुकधारीहरुले गरेको सो हमलामा परी ती बालबालिका हराएका हुन् । 

नाइजेरियाको उत्तर पश्चिमी राज्य कातसिनाको एक प्राथमिक विद्यालयमा हमला भएको राज्यका गभर्नर अमिनु मासारीले सो जानकारी दिए ।  उनले शुक्रबार र आइतबार विद्यालयमा गरिएको हमलापछि  विद्यालयका ३ सय भन्दा बढी विद्यार्थी सम्पर्कहिन भएका बताए । 

विद्यालयमा ८३९ जना विद्यार्थी अध्ययनरत छन् । अज्ञात बन्दुककारीहरुले ती विद्यार्थीहरुलाई अपहरण गरेर लगेको हुनसक्ने अनुमान गरिएको छ । ती बालबालिकाका अभिभावकहरुले आफ्ना छोराछोरी अपहरणमा परेकोले तत्कालै खोजी गरिदिन आग्रह गरेका छन् ।नाइजेरियाका राष्ट्रिय सुरक्षा सल्लाहकारले पनि अपहरणमा परेका ती बालबालिकाको उद्धारका लागि कडा सुरक्षाका साथ काम गर्न राज्यको सरकारलाई आग्रह गरेका छन् । 

गभर्नर मासुरीले भने राज्यका सबै बोर्डिङ स्कुलहरु बन्द गर्न सबैलाई आग्रह गरेका छन् । पछिल्लो समयमा विद्यालयमा असुरक्षा बढेको भन्दै अब विद्यालय नै बन्द गरेर खोजी कार्य जारी राखिने उनको भनाइ छ   

नाइजेरियाको बोको हराम आतंककारी समूहले विद्यालयबाट विद्यार्थीहरुलाई अपहरण गरेर लैजाने र आफ्नो सैन्य समूहमा भर्ती गर्ने गरेको छ । सरकारले सोही समूहले ती बालबालिका अपहरण गरेको हुनसक्ने भनेपनि उसले अहिलेसम्म केही बताइसकेको छैन ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू