बिहीबार, वैशाख १३, २०८१
02:47 | ०७:३२

बेलायतमा नयाँ राजदूत जनवरीयता नआउने, डा सुवेदीको बसाइ लम्बियो

नेपाली लिङ्क नोभेम्बर ३०, २०२०


लण्डन । बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीको ४ वर्षे कार्यकाल गत सेप्टेम्बर महिनाको अन्त्यमै पूरा भयो । 

सुवेदीलाई प्रतिस्थापन गर्ने नयाँ राजदूतको नियुक्ति प्रक्रिया नटुंगिएका कारण कार्यकाल सकिएको २ महिना बितिसकेपछि पनि उनको नेपाल फिर्तीको दिन अझै जुरेको छैन ।  

नेपाली लिँकलाई प्राप्त सूचनाअनुसार कम्तीमा आउंदो अंग्रेजी नयाँ वर्षसम्म राजदूत डा सुवेदी बेलायतमै रहने भएका छन् । 

‘नयाँ राजदूत नियुक्त भएर बेलायत आइपुग्दा जनवरीको १५/२० हुन सक्ने देखिएको छ । त्यसैले जनवरीसम्म डा सुवेदी बेलायतमै रहने अवस्था छ’, स्रोतले भन्यो   

लण्डनस्थित नेपाली दूतावासले पनि राजदूत डा सुवेदीको नेपाल फिर्ती र नयाँ राजदूतको आगमन कहिले हुने भन्ने निश्चित भइनसकेको जनाएको छ । नयाँ राजदूत नियुक्तिको प्रक्रिया नटुंगिएसम्म राजदूत प्रतिस्थापन् कहिले हुने भन्नेबारे भन्न नसकिने दूतावासको भनाइ छ ।  

बेलायतका लागि नेपाली राजदूतमा सिफारिश भएका पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन भइसकेको छ । तर उनी राष्ट्रपतिबाट राजदूतमा नियुक्त भएर बेलायत आउन जनवरीसम्म लाग्ने परराष्ट्र मन्त्रालयनिकट स्रोतले बताएको छ ।  

संसदीय समितिबाट अनुमोदन भइसकेपछि राजदूत नियुक्त हुन सामान्यत: एक महिना लाग्ने गर्छ । यसबीचमा सम्बन्धित मुलुकबाट प्रस्तावित राजदूतको नाममा ‘एग्रिमा’ आएपछि मात्रै राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ ।  

गत असोज १६ मा नेपाल सरकारबाट बेलायतको राजदूतमा सिफारिश रेग्मीको नाम संसदीय समितिको सुनुवाईपछि दुई साताअघि अनुमोदन भएको थियो ।  

यसअघि कार्यकाल सकिएलगत्तै अक्टोबरमै नेपाल फर्किने तयारी गरेका राजदूत डा सुवेदीको बेलायत बसाइ पनि लम्बिदै गएको छ ।  

‘नयाँ राजदूत नियुक्तिको प्रक्रिया अघि बढेपछि डिसेम्वर महिनाको शुरुतिरै उहाँ फर्किने मनस्थितिमा हुनुहुन्थ्यो । तर अहिले कम्तीमा अंग्रेजी नयाँ वर्षसम्म उहाँ बेलायतमै रहने अवस्था देखिएको छ’, राजदूत सुवेदी निकट स्रोतले भन्यो ।  

सन् २०१६ सेप्टेम्बरमा नेपाली राजदूतका रुपमा डा सुवेदी बेलायत आएका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू