शुक्रबार, वैशाख ७, २०८१
03:50 | ०८:३५

भूमि फिर्ताको पक्षमा एनआरएनले आवाज उठाउँदा सरकारलाई सहयोग: मन्त्री अर्याल

नेपाली लिङ्क नोभेम्बर २९, २०२०

कार्यक्रमका मुख्य वक्ताहरु मन्त्री पद्मा अर्याल, प्रा सूर्यप्रसाद सुवेदी, कुमार पन्त र पुनम गुरुङ ।

लण्डन । भारतबाट अतिक्रमित नेपाली भूमि फिर्ताको पक्षमा गैरआवासीय नेपालीहरुका तर्फबाट उठ्दै आएको आवाजले नेपाल सरकार र राजनीतिक नेतृत्वलाई नैतिक बल प्रदान गरेको नेपाल सरकारकी भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्यमा अर्यालले बताएकी छन् ।

एनआरएनए यूकेको आयोजनामा आइतबार सम्पन्न ‘नेपाल भारत सीमाना: यथार्थ र चुनौती’ विषयक अन्तरक्रियामा सम्बोधन गर्दै उनले आफ्नो तर्फबाट खबरदारी र सचेतना अभियानलाई निरन्तर राख्न गैरआवासीय नेपालीलाई आग्रह पनि गरिन् ।

‘नेपालको अतिक्रमित भूभाग फिर्ता आउनुपर्छ भनेर तपाईहरुले आवाज बुलन्द गर्नुभएको छ, ज्ञापनपत्रहरु बुझाउनुभएको छ । त्यसले हामीलाई उत्साहित बनाएको छ । विदेशमा बसेर पनि तपाईंहरुले नेपाली जनता र नेपाल सरकारलाई साथ दिइरहनुभएको छ । जसबाट हामीलाई ठूलो उत्साह र प्रेरणा मिलेको छ’, मन्त्री अर्यालले भनिन् ।

राष्ट्रियताको मुद्धामा वर्तमान सरकार गम्भीर र प्रतिबद्ध रहेको जनाउँदै उनले अहिलेको सरकारकै पालामा अतिक्रमित भूमि फिर्ता गराउने दृढता आफूहरुमा रहेको बताइन् । ‘विगतका दिनमा नक्सामा छुटेको हाम्रो भूभागलाई नक्सामा त ल्यायौं । तर अब नक्सा झुण्ड्याएर बस्ने मात्र होइन, गुमेको भूभाग फिर्ता गराएरै छोड्न हामी दृढ छौं’, उनले भनिन् ।

लामो समयदेखिको भारतसंगको संवादहिनता तोडिएको तथा दुई देशका उच्च अधिकारीहरुबीचको हरेक बैठकमा सीमाको विषय प्रवेश हुंदै आएको भन्दै मन्त्री अर्यालले अतिक्रमित नेपाली भूमि फिर्ताको सवालमा केही सकारात्मक संकेतहरु मिलेको समेत बताइन् ।

अन्तरक्रियामा बेलायतस्थित लिड्स विश्वविद्यालयका प्राध्यापक डा सूर्यप्रसाद सुवेदीले ऐतिहासिक प्रमाणहरुको आधारमा दुई देशबीच कूटनीतिक वार्ताकै माध्यमबाट सीमा समस्याको समाधान खोजिनुपर्ने बताए ।

अन्तर्राष्ट्रिय कानूनका ज्ञाता डा सुवेदीले भने, ‘अन्तरराष्ट्रिय कानून र अभ्यासहरुको रिफरेन्स लिएरै समाधान खोज्ने हो । यीनै आधारहरुमा टेकेर नेपाल सरकार परिपक्व र चतुर रुपमा भारतसंग प्रस्तुत हुन सक्यो भने भूमि फिर्ता हुन सम्भव छ ।’

कूटनीतिक माध्यमबाट गरिने पहलले काम नगरेको अवस्थामा अन्तराष्ट्रिय कानूनको सहायता लिन सकिने पनि उनले स्पष्ट पारे ।

गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले नेपालको राष्ट्रियता र सीमासंग सम्बन्धित विषय कूटनीतिक तहबाटै समाधान होस् भन्ने गैरआवासीय नेपालीहरुको चाहना रहेको बताए । नेपाल सरकारलाई आवश्यक पर्ने जुनसुकै सहयोगका लागि संघ सधैं तयार र ईच्छुक रहेको उनको भनाइ थियो ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले अतिक्रमित नेपाली भूमि फिर्ताको पक्षमा एनआरएनए यूकेले विरोध प्रदर्शनका साथै भारतीय हाई कमिसनमार्फत ज्ञापनपत्र बुझाउने जस्ता दबाबमुलक कार्यक्रम गरेको सुनाइन् । नेपालको सीमा फिर्ता नभइञ्जेल संस्थाका तर्फबाट दबाब र लबिङका कार्यक्रम निरन्तर राखिने उनले बताइन् ।

त्यस्तै, एनआरएनए यूके संरक्षक महेन्द्र कंडेलले छिमेकी मुलुकसंगको सीमाका सम्बन्धमा नेपालले सन्तुलित र स्थितर नीति अपनाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष रोजिना प्रधान राईले स्वागत तथा अर्का उपाध्यक्ष सुनिलबाबु खड्काले धन्यवाद मन्तव्य राखेका थिए । अन्तरक्रिया सञ्चालन महासचिव फडिन्द्र भट्टराईले गरेका थिए ।

सोहि अवसरमा हालै अक्सफोर्ड विश्वविद्यालयबाट महाविद्यारिधिको उपाधि हासिल गर्ने प्राध्यापक डा सूर्यप्रसाद सुवेदीलाई एनआरएनए यूकेको तर्फबाट सम्मान समेत गरिएको थियो ।

कार्यक्रममा एनआरएनए आइसीसीका उपाध्यक्ष बद्री केसी, महासचिव डा. हेमराज शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ, युरोप सह-संयोजक कृष्ण तिमल्सेनासहित आइसिसी पदाधिकारी, आइसीसी सदस्य, मानार्थ परिषद सदस्य, एनआरएनए यूकेका संरक्षकहरु सूर्य गुरुङ र योगकुमार फगामी, सल्लाहकार, कार्यसमितिका पदाधिकारी, इङ्ल्यान्ड राज्य परिषदका अध्यक्ष दिपक श्रेष्ठ, स्कटल्यान्ड अध्यक्ष छबिलाल अर्याल र नर्दन आयरल्यान्ड अध्यक्ष नारायण कुँवर एवम् बेलायतस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिसहित १ सय जनाको सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू