शनिबार, वैशाख ८, २०८१
16:58 | २१:४३

पूर्वसभामुख महरालाई पत्नी शोक   

रासस नोभेम्बर ४, २०२०

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरालाई पत्नी शोक परेको छ । उनकी पत्नी सीताको उपचारका क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

१० वर्षदेखि माइस्थेनिया रोगबाट पीडित महरालाई पछिल्लो समय श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि यही कात्तिक १४ गते थप उपचारका लागि दाङबाट काठमाडौँ ल्याइएको थियो । दशैँमा पुख्र्यौली घर रोल्पा मेवाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई यही कात्तिक १३ गते दाङमा रहेको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका क्रममा उनमा कोरोना पुष्टि भएको पारिवारिक स्रोतले जनाएको छ । पूर्वसभामुख पत्नी महरा ५९ वर्षकी थिइन् । उनको पूर्वसभामुख महरासँग २०३५ सालमा विवाह भएको थियो । उनका दुई छोरा र दुई छोरी छन् ।

प्रधानमन्त्री ओली दुःखी
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको निधनबाट आफूलाई अत्यन्त दुःख लागेको बताएका छन् । प्रधानमन्त्रीले ट्वीट गर्दै दिवङ्गत सीताप्रति श्रद्धाञ्जलि अर्पणका साथ प्रतिनिधिसभाका सदस्य महरासहित शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

उता, सभामुख अग्निप्रसाद सापकोटाले पनि सीताको निधनको खबरले आफू मर्माहत भएको बताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले स्व महराप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

सभामुख सापकोटाले विज्ञप्तिमा भनेका छन्, ‘स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको आफूले जानकारी पाएको थिएँ, स्वास्थ्यलाभ गरेर फर्कनुहुने विश्वास थियो । तर, आज बिहान दुःखद् निधन भएको खबरले स्तब्ध बनाएको छ ।’

अध्यक्ष दाहालद्वारा दुःख व्यक्त
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराको जीवन सङ्गिनी सीता महराको निधनको खबर आफूलाई दुःख लागेको बताएका छन् ।

अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकूल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन् ।

यसैबीच, नेपाली काँग्रेस संसदीय दलले पनि दुःख व्यक्त गरेको छ । काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू