शुक्रबार, चैत १६, २०८०
13:33 | १९:१८

बेलायतमा फेरि होला त देशव्यापी लकडाउन ?

सरकारकै विज्ञ सल्लाहकार लकडाउनको पक्षमा

नेपाली लिङ्क अक्टोबर ३०, २०२०

लन्डन । कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने प्रयासमा अहिले बेलायतमा विभिन्न तह र स्वरुपका प्रतिवन्धहरु लागू छन् । तर, सबै प्रयासका बाबजुद संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।  

अहिलेकै दरमा संक्रमण बढ्दै जाने हो भने अबको केही समयमा बेलायतमा दैनिक १ लाखसम्म संक्रमित थपिने आंकलन छ ।  

देशले महामारीको दोस्रो छाल सामना गरिरहंदा अहिले लागू विभिन्न तहका क्षेत्रगत प्रतिवन्धहरु नै पर्याप्त छन् वा अब राष्ट्रिय  लकडाउन आवश्यक छ भन्ने बहस चलिरहेको छ ।  

प्रधानमन्त्री बोरिस जोनसन र उनका मन्त्रीहरु फेरि पूरै देश लकडाउन गर्नुहुन्न भन्ने पक्षमा अझै पनि अडिग देखिन्छन् । तर स्थिति नियन्त्रणमा लिन देशव्यापी लकडाउन नै अपरिहार्य छ भन्ने मत चर्को बन्दै गएको छ र यसले सरकारमाथि दबाब बढाउँदै लगेको छ ।  

छिमेकी मुलुक फ्रान्समा लागू गरिएको क्षेत्रगत लकडाउन प्रभावकारी नभएपछि अब देशव्यापी लकडाउन गरिंदैछ । जर्मनीको पनि अवस्था उस्तैउस्तै छ । यो सन्दर्भले बेलायतमा पनि क्षेत्रीय लकडाउनले  मात्र काम गर्दैन, सिंगो देशव्यापी लकडाउन आवश्यक छ भन्ने पक्षमा बल पुर्याएको छ ।  

बेलायत सरकारकै विज्ञ सल्लाहकारहरुमध्ये धेरैले पनि देशव्यापी लकडाउनकै पक्षमा सरकारलाई सल्लाह दिएका छन् ।  

सरकारका मन्त्रीहरुलाई सल्लाह दिने ‘साइन्टिफिक एडभाइजरी ग्रुप फर इमर्जेन्सी’ का एक सदस्य सर जेरेमी फरार भन्छन्, ‘यो पहिल्यै नै गरिसकेको हुनुपर्थ्यो । अझ अब त ढिलो गर्नै हुँदैन । ढिलाई भयो भने हामीले झन् बढी मुल्य चुकाउनुपर्नेछ । त्यो अवस्थामा प्रतिवन्धहरु थप कडा र लामो समय गर्नुपर्ने हुन्छ ।’ 

त्यसो त अहिले क्षेत्रगत रुपमा लागू गरिएका प्रतिवन्धहरु कत्तिको प्रभावकारी हुन्छन् भन्ने आधारमा पनि सरकारले देशव्यापी लकडाउनबारे भावी नीति तय गर्न सक्छ । क्षेत्रगत प्रतिवन्धहरुको पूरै नतिजा हेर्न केही समय पर्खिनैपर्छ । झिनो संख्यामा त्यस्ता केही क्षेत्रमा अस्पताल भर्ना हुने संक्रमितहरु घटेको तथ्यांकले भने थोरै नै सही, आशा जगाएको छ ।  

सरकारले यथासम्भव अर्थतन्त्र चलायमान राख्ने र पूरा लकडाउनमा नजाने कोशिश् गरिरहेको छ । तर सरकारका मन्त्रीहरु समेत देशव्यापी लकडाउनबिना संक्रमण नियन्त्रण गर्न सकिन्छ भन्नेमा ढुक्क छैनन् ।

लकडाउनबारे एक प्रश्नमा गृहमन्त्री प्रीति पटेलले भनेकी छन्, ‘अहिले हामी सिंगो देश नै लकडाउन गर्ने योजनामा छैनौँ । तर वास्तविकता यो हो कि सरकारले सबै विकल्प खुला राख्नुपर्छ । अवस्था र आवश्यकताअनुसार सरकारले उपयुक्त कदम चाल्नेछ ।’ 

यी सबै सन्दर्भहरु केलाउँदा अहिले बेलायतमा तीव्र रुपमा बढिरहेको संक्रमण सजिलै नियन्त्रण होला भन्ने आशा गर्न मुस्किल छ । जसकारण अन्तिम अस्त्रका रुपमा देशव्यापी लकडाउनमा जान सरकार बाध्य बन्ने उच्च सम्भावना देखिन्छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू