शुक्रबार, वैशाख ७, २०८१
11:46 | १६:३१

इंग्ल्याण्डमा दैनिक एक लाखको हाराहारीमा कोरोना संक्रमित

प्रत्येक ९ दिनमा दुई गुणाले संक्रमित बढ्दै

नेपाली लिङ्क अक्टोबर २९, २०२०

लन्डन । इंग्ल्याण्डमा कोरोना भाइरस (कोभिड १९) बाट दैनिक झन्डै  एक लाख संक्रमित  हुने गरेको एक अध्ययनले देखाएको छ । कोरोना संक्रमणको दोस्रो लहरको पूर्व सन्ध्यामा बेलायतमा संक्रमण दर तीव्र रुपमा बढ्दै गएको अध्ययनले देखाएको हो ।

इम्पेरीयल कलेज लन्डनले गरेको अध्ययन अनुसार महामारीको गति तीव्र रुपमा बढेको र प्रत्येक ९ दिनमा यो संख्या दुई गुणाले बढ्ने गरेको उल्लेख छ । हाल दैनिक झन्डै एक लाख जनामा कोरोना संक्रमण फैलिरहेको कलेजको अनुसन्धानले देखाएको छ ।

अहिलेको अवस्था निकै जटिल रहेको र चाडै केहि परिवर्तन गर्नुपर्ने बताइएको छ । कोरोनाको दोस्रो लहरमा हस्पिटल भर्ना हुने र मृतक संख्यामा उल्लेखनीय रुपमा वृद्धि हुनसक्ने कलेजले बताएको छ ।

कम्युनिटी सेक्रेटरी रोबर्ट जेनरीकले भने इंग्ल्याण्डमा राष्ट्रिय लकडाउन गर्ने सोच नरहेको बीबीसीलाई बताएका छन् । लकडाउनले जनताको जीवन, जीविकोपार्जन, स्वास्थ्य लगायत क्षेत्रमा ठूलो असर पर्न सक्ने उनले बताए ।

युरोपका फ्रान्स र जर्मनीले भाइरस नियन्त्रण गर्न दोस्रो पटक देशव्यापी लकडाउन घोषणा गरेका छन् । फ्रान्समा शुक्रबारबाट शुरु हुने नयाँ लकडाउनमा मानिसहरु अत्यावश्यक काम र स्वास्थ्य सम्बन्धि कामका लागि मात्र घर छाडेर निस्कन पाउनेछन् ।

उता, जर्मनीले पनि आपत्कालिन लकडाउन लागू गर्ने भएको छ । फ्रान्सको तुलनामा लकडाउन कम कडा भए पनि त्यहाँ जिम, रेस्टुरेन्ट र थिएटरहरु बन्द नै रहनेछन् ।

युरोपपछि कोरोना संक्रमणको प्रमुख केन्द्रको रुपमा रहेको  बेलायतमा बुधबार २४ हजार भन्दा बढी संक्रमित फेला परेका थिए भने ३१० को मृत्यु भएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू