बुधबार, वैशाख १२, २०८१
17:11 | २१:५६

नेपालमा थप एक हजार ९५४ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु

रासस अक्टोबर २८, २०२०

काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ९५४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । आज मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा आठ हजार २४८ जनाको पिसिआर परीक्षण गरिएको छ ।

यसैगरी आज दुई हजार ९८१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार ६४३ रहेको मन्त्रालयद्वारा आज आयोजित नियमित प्रेस बिफ्रिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९६, ललितपुरमा ११८ र भक्तपुरका २९ गरी काठमाडौँ उपत्यकामा कूल ८४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या एक लाख २१ हजार ८२४ रहेको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ८८७ पुगेको छ । कोरोना सङ्क्रमित मध्ये हाल २९० जनाको आइसियुमा र ७२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको गौतमले जानकारी दिए । यसैगरी संस्थागत आइसोलेसनमा सात हजार ७०९ जना र होम आइसोलेसनमा ३१ हजार ९३४ जना रहेको मन्त्रालयले जनाएको छ । मुलुकभरका विभिन्न क्वारेन्टिनमा रहेका हाल दुई हजार ८८९ जना रहेका छन् ।

अब हप्ताको दुई दिनमात्र प्रेस बिफ्रिङ हुने
यसैगरी मन्त्रालयले कोभिड–१९ सम्बन्धी नियमति प्रेस बिफ्रिङको तालिका परिवर्तन गरेको छ । अबदेखि हप्ताको दुई दिन आइतबार र बुधबार मात्र साबिकको समयमा कोभिड–१९ सम्बन्धी नियमति प्रेस विफ्रिङ हुने र अन्य दिन भने ४.३० बजे मन्त्रालयको वेभसाइटमा कोभिड–१९ सम्बन्धी तथ्याङ्क अपलोड गरिने प्रवक्ता गौतमले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू