शुक्रबार, भदौ २८, २०८१
23:58
|
०४:४३
ट्रम्प र बाइडेनको अन्तिम बहस, ट्रम्पको प्रस्तुति अपत्यारिलो
रासस/एएफपी/एएनआई
अक्टोबर २३, २०२०
टेनेसी, ७ कात्तिक– अमेरिकामा आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्व सन्ध्यामा बिहीबार अन्तिम बहस भएको छ । राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा उत्रिएका उम्मेदवारद्वय वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडेनका बीचमा टेलिभिजन बहस भएको हो ।
बहसमा बाइडेनले ट्रम्प प्रशासन र त्यसको कार्यशैलीप्रति चर्को आलोचना र टिप्पणी गर्नुभएको थियो । उहाँले विशेष गरेर कोरोना महामारी व्यवस्थापन गर्न तथा जनता र अर्थतन्त्र जोगाउन नसकेको आरोप ट्रम्पमाथि लगाउनु भएको थियो ।
जवाफमा राष्ट्रपति ट्रम्पले बाइडेनको आरोपको खण्डन गर्दै आफ्नो कार्यकाल अत्यन्त सफल भएको दावी गर्नुभएको थियो । उहाँले कोरोनाभाइरसका विरुद्धमा लगाइने खोप केही हप्तामा आउने र महामारी पूर्ण रुपमा नियन्त्रण हुने जिकिर गर्नुभएको थियो । तर चाँडै नै खोप आएर महामारी नियन्त्रण हुने ट्रम्पको दावीलाई भने बाइडेनले अविश्वास गर्दै उहाँले भनेजस्तो जादु नहुने टिप्पणी गर्नु भएको थियो ।
बहसका क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरु कोरोनाभाइरस सँगसगै बाँच्न सक्ने भइसकेको बताउनु भएको थियो । ट्रम्पको भनाइले महामारी विरुद्ध लड्न वा महामारीको सामना गर्न वा व्यवस्थापन गर्न ट्रम्प प्रशासनसँग कुनै योजना नरहेको पुष्टि भएको पनि बाइडेनको तर्क थियो । “उहाँको कुरा सुन्ने हो र मान्ने हो भने उहाँले कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि जादु गर्ने बाहेक अरु केही देखिएन,” बाइडेनले भन्नुभयो ।
टेनेसी राज्यको नेस्भिलमा भएको उक्त बहस कोरोना विरूद्धको लडाइँ, अमेरिकी परिवार, जातियता, जलवायु परिवर्तन, राष्ट्रिय सुरक्षा, नेतृत्वलगायतका विषयमा केन्द्रित भएको थियो । बहसको शुरुमा यसअघिको पहिलो राष्ट्रपतीय बहसपछि पनि अमेरिकामा थप १६ हजार अमेरिकीहरुले कोरोनाका कारण जीवन गुमाएको तथ्याँक प्रस्तुत गरिएको थियो ।
त्यसपछि नै ट्रम्पको प्रस्तुति खल्लो, हल्का र अपत्यारिलो भएको टिप्पणी गरिएको छ । अर्का प्रतिस्पधी बाइडेनलाई भने कोरोनाभाइरस उत्पत्ति गराएको चीनलाई सजाय दिन के गर्नुहुन्छ भनेर सोधिएको थियो ।
जवाफमा बाइडेनले व्यापार र अर्थतन्त्रलाई जोडेर व्याख्या गर्दै चीनले अन्तर्राष्ट्रिय नियम अनुसार चलोस् भन्ने आफ्नो चाहना हुने बताउनु भएको थियो । पहिलो राष्ट्रपतीय बहसभन्दा यस पटकको बहस बढी व्यवस्थित र अमेरिकी मूल मुद्दाहरुमा केन्द्रित भएको थियो ।
अमेरिकामा राष्ट्रपतिका दुई आकाँक्षीलाई सँगै उभ्याएर प्रश्न सोध्ने प्रचलन छ, र यो निकै लोकप्रिय हुने गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५