शनिबार, वैशाख १५, २०८१
23:28 | ०४:१३

बेलायतका काभ्रेली संगठित : जन्मियो ‘काभ्रे सोसाइटी यूके’

रविन्द्र शर्माको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति

नेपाली लिङ्क अक्टोबर १२, २०२०

लन्डन  । नेपाल  काभ्रेपलाञ्चोक जिल्ला घर भइ हाल बेलायतमा स्थायी वा अस्थायी बसोबास गर्दै आएका काभ्रेलीहरुलाई एकबद्ध गर्ने उद्देश्यले काभ्रेली सोसाइटी यूके गठन भएको छ । सोमबार  ‘भर्चुअल’ माध्यमबाट भएको काभ्रेलीहरुको दोस्रो बैठकले संस्थाको तदर्थ समिति गठन गरेको छ ।

रविन्द्र शर्माको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति गठन भएको हो । नवगठित  समितिको सदस्यहरुमा  बलराम मैनाली, मिलन शर्मा (वाग्ले ), दाबा लामा, गोकर्ण हुमागाई, नारायण फुयाँल, जीवन थापा, रामचन्द्र अधिकारी र पुरुषोत्तम आचार्य छन् ।

गाह्रो साह्रो परेको अवस्थामा सहयोग आदानप्रदान गर्न सकियोस् र आफ्नो जिल्ला र जन्मभूमिको उत्थानमा हातेमालो गर्न सकियोस् भन्ने मुख्य उद्देश्यका साथ बेलायतका काभ्रेलीहरुको प्रतिनिधि संस्थाको रुपमा सोसाइटी गठन गरिएको बताइएको छ ।

निष्पक्ष, गैर राजनैतिक र भविष्यमा परोपकारी  संस्थाको रुपमा पहिचान  बनाउन  सक्ने काभ्रेलीहरुको एक संस्थाको खाँचो निकै पहिलादेखि महसुस हुदै आइरहेकोमा यसपटक सोसाइटी गठन गरिएको अध्यक्ष शर्माले बताए ।

‘केहि व्यक्तिहरुको पहलमा आज हामी  त्यो सम्भावनाको ढोका खोल्न अग्रसर भएका छौं  बेलायतमा हामी काभ्रेली त्यति धेरै  संख्यामा नभएपनि करिब ४५ जना संस्थामा सदस्य भइसकेका छौं  र यो संख्याअब बढ्ने क्रममा छ’, उनले भने 

काभ्रेली सोसाइटीमा आबद्ध हुन चाहने  सबैले आफ्नो राजनीतिक आस्थालाई बाहिरै राखेर आउन अध्यक्ष शर्माले आग्रह गरेका छन् ।

नवगठित तदर्थ समितिमा आफूलाई विश्वास गरी नेतृत्व सुम्पिएकोमा आभार प्रकट गर्दै उनले संस्थालाई निश्चित लक्ष्यमा पुर्याउने अठोट व्यक्त गरे ।  

तदर्थ समितिले आगामी नोभेम्बर ९ तारिख हुने तेस्रो बैठकमा  धेरै भन्दा धेरैको सहभागिता गराउने र संस्थाको  विधान, बैंक खाता, सदस्यहरुको विवरण प्रस्तुत गरिने जनाएको छ 

संस्थाका सदस्य बलराम मैनालीले सम्पूर्ण काभ्रेली एक भएर अगाडि आउन आव्हान गरेका छन्  । त्यस्तै, अर्का सदस्य नारायण फुयाँलले काभ्रेली समाजलाई यूकेमा नमुना  समाज बनाएर देखाउने प्रण गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू