शुक्रबार, चैत १६, २०८०
08:19 | १४:०४

कोरोना नियन्त्रणमा सरकार ‘असफल’, नेतृत्व विज्ञलाई दिन सुझाव

रासस अक्टोबर ११, २०२०
लन्डन । पूर्वशिक्षामन्त्री डा गङ्गालाल तुलाधारले कोभिड–१९ विरुद्ध सरकारी तयारीमा कमी रहेको टिप्पणी गरेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा आयोजित दोस्रो विश्व ज्ञान सम्मेलनमा उनले भने, ‘सरकार होपलेस देखियो । पूर्वतयारी र न्यूनीकरणको खासै काम भएन । सरकारसँग स्रोत पनि केही पनि छैन भन्नुपर्ने भो ।’
शनिबार सम्पन्न ‘महामारी र प्राकृतिक विपद् न्यूनीकरणका लागि पूर्वतयारी र न्यूनीकरण’ सत्रमा विपद् व्यवस्थापन विज्ञ समेत रहेका उनले विपद् व्यवस्थापन तीनवटै तहका सरकारको साझा अधिकार भए पनि समन्वय नै हुन नसक्दा कोरोनाबाट हालसम्म ६०० जनाको ज्यान गएको र सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको बताए ।
उनले संविधानले कल्पना गरेको संरचनालाई बेवास्ता गरी सिसिएमसी बनाइँदा अहिले यो अवस्था आइलागेको जनाए । ‘विपद् र महामारी नियन्त्रणका लागि तीनवटै सरकारका भूमिकाबारे संविधानमै स्पष्ट छ’-उनले भने ।
पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौँमा सघन उपचार कक्ष पाउन नसकिने अवस्था आइलागेको बताए । ‘अब काठमाडौँमा कोभिड, ननकोभिड कसैले पनि सघन उपचार कक्ष पाउनेवाला छैनन्’,  उनले भने, ‘जाडो आउँदैछ, शितलहर, भोकमरीको सामना गर्नुपर्ने अवस्था छ ।’
पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्माले राजनीतिक नेतृत्वले महामारी नियन्त्रणको नेतृत्व लिँदा सफल नभएको आरोप लगाइन् । लकडाउनको दुई महिना र लकडाउन पश्चातका दुई महिनामा कोभिड–१९ विरुद्ध तयारीका उल्लेखनीय काम हुन नसकेको उनको धारणा थियो ।
एनआरएनए आइसिसी उपाध्यक्ष डा बद्री केसीले एनआरएनलेले विपद्मा सहयोग गर्दै आएको बताए । एनआरएनएका स्वास्थ्य समिति संयोजक डा सञ्जीव सापकोटाले पूर्वतयारी विना महामारी नियन्त्रणको काम गर्न नसकिने बताए ।
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू