शनिबार, वैशाख १५, २०८१
21:50 | ०२:३५

शुक्रबारदेखि दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन

रासस अक्टोबर ८, २०२०

न्यूयोर्क । गैरआवासीय नेपाली संघको आयोजनामा दोस्रो विश्व ज्ञान सम्मेलन असोज २३ देखि २५ सम्म हुने भएको छ । दुई वर्षअघि संघले पहिलो ज्ञान सम्मेलन आयोजना गरेको थियो । हरेक दुई वर्षको फरकमा ज्ञान सम्मेलन गर्ने संघको पूर्वयोजनाअनुरुप दोस्रो विश्व ज्ञान सम्मेलन आयोजना गरिएको सङ्घले जनाएको छ ।

कोभिड–१९ महामारीका कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गर्दै अनलाइन प्रविधिका माध्यमबाट सम्मेलन गर्न लागिएको संघले जनाएको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार गर्ने कार्यक्रम छ ।  

संघका अनुसार सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च अधिकारी र नेपाल तथा नेपाल बाहिर रहेका  विज्ञको सहभागिता रहनेछ । सम्मेलनका निम्ति आवश्यक सम्पूर्ण तयारी पूरा भएको संघका महासचिव एवं सम्मेलन संयोजक डा हेमराज शर्माले जानकारी दिए । 

संघका अध्यक्ष कुमार पन्तले नेपालको विकास र समृद्धिका सहयात्रीका रुपमा गैरआवासीय नेपाली रहेको बताउंदै  विदेशमा आर्जन गरेको ज्ञान, सीप, क्षमता र अनुभवलाई नेपालसँग जोड्नका लागि सम्मेलन उपयोगी बन्ने विश्वास व्यक्त गरे । पच्चीसभन्दा बढी देशका १०० भन्दाबढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रबाट ३०० भन्दाबढी प्रस्तोताको सहभागिता रहने विज्ञ सम्मेलनमा चारवटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र सञ्चालन हुन संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए   

सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिनेछन् । सम्मेलन विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम तथा नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा केन्द्रित हुनेछ । साथै संयुक्त राष्ट्रसंघको  दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् 

नेपाल सरकारको सहआयोजनामा हुने सम्मेलनमा काठमाडौँ विश्वविद्यालयको सहकार्य रहनेछ । परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता रहेको सम्मेलनमा मन्त्री, योजना आयोगका उपाध्यक्ष एवं सदस्य, सांसद, सचिव, विभिन्न सरकारी तथा गैरसरकारी निकायका अधिकारी, गैरआवासीय नेपाली विज्ञ, नेपालमा रहनुभएका विज्ञ र नेपालसँग जोडिएका विदेशी विज्ञ सहभागी हुने संघका महासचिव शर्माले बताए 

सम्मेलनको पहिलो दिन विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्र प्रस्तुत हुनेछन् । 

यस्तै नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा छलफल केन्द्रित गरिनेछ । सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थानलगायतका सत्र समावेश गरिएका छन् । 

यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, ऊर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि, वातावरण र समाज विज्ञानलगायतका समानान्तरसत्रमा विभिन्न विज्ञले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नेछन् । ती कार्यपत्रमाथि सम्बन्धित विषयका विज्ञले छलफल गर्नेछन् । साथै सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्ने तथा सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञबीच पनि छलफल र परामर्श हुने र सम्मेलनको निष्कर्षलाई एक श्वेतपत्रमार्फत नेपाल सरकारसमक्ष सुझावका रुपमा प्रस्तुत गरिन संघले जनाएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू