शनिबार, वैशाख ८, २०८१
10:02 | १४:४७

दूतावासमै सरकारी नियम बेवास्ता, जमघट निरन्तर

गीत, कला-संगीतमा रमाउँदै दूतावास

नेपाली लिङ्क अक्टोबर ८, २०२०

लन्डन । बेलायत कोभिड १९ महामारीको दोश्रो लहरबाट थप प्रताडित हुंदैछ । सरकारले संक्रमण नियन्त्रण गर्न विभिन्न प्रतिवन्ध लागू गरेको छ । गत १४ सेप्टेम्बर सोमबारदेखि ६ जनाभन्दा बढी जमघट गरे 
जरिवानासहित गैर कानूनी ठहरिन्छ ।

तर, लन्डनस्थित नेपाली दूतावासमा भने बेलायत सरकारको नियम बेवास्ता नै गरि पछिल्लो समय जमघट बढेको छ ।

आफ्नो चार वर्षे कार्यकाल सकेर नेपाल फर्कन लागेका राजदूत डा. दुर्गाबहादुर सुवेदीले विशेष गरि आफ्नो रुचीको क्षेत्र साहित्य र कला संगीतसम्बन्धि कार्यक्रमलाई तीव्रता दिएका हुन् ।

यसको पछिल्लो प्रमाण हो मंगलबार ६ अक्टोबर सांझ आयोजित चलचित्र महोत्सव । ‘कोभिड १९’ ले बेलायतमा नेपाली डायस्पोरा त्रसित छ किनकि पहिलोपटक धेरै वियोग भोग्नु परयो । उता विश्वविद्यालय अध्ययनरत नेपाली विद्यार्थी कन्सल्टेन्सीको ठगी र जागिर नपाएर तड्पिरहेका बेला आम सरोकार सम्बोधनको सट्टा महोत्सवका नाममा रमझम गरिएको हो ।

कूटनीति र पीडित नेपालीको हितको सट्टा अहिले दूतावास गीत, संगीत र कलामा रमाइरहेको कतिपयको आरोप छ । चलचित्र महोत्सवमा राजदूतको अधर गीतको म्यूजिक भिडियो सार्वजनिक भयो, जुन आफैंमा रोमान्टिक छ । राजदूतले आफैंले लेखेको र आफूसहित पत्नीको समेत अभिनय रहेको ‘दुख्ने मुटु’ गीतको म्यूजिक भिडियो पनि लोकार्पण गरे ।

सामाजिक दूरी र ‘रुल अफ सिक्स’ को वेवास्ता गर्दै कार्यक्रममा सम्मान र फोटोसेसन चलिरहेको देखिन्थ्यो । सम्मान लिंदा होस्  वा सँगसँगै तस्विर खिचाउँदा, न त राजदूतको मुखमा मास्क छ न सम्मानित चलचित्रकर्मीहरुको नै । कार्यक्रमका तस्विरहरु हेर्दा सामाजिक दूरी समेत कायम भएको देखिदैन ।  

बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्यूजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा नेपाली चलचित्रको बजार प्रवर्धन गर्ने उद्देश्यले पहिलोपटक चलचित्र महोत्सव गरिएको दूतावासले जनाएको छ । तर, यस्तो विषम परिस्थितिका बेला हतार-हतार कार्यक्रम गरिनुलाई ‘आश्चर्यजनक’ ठानिएको छ ।

‘महामहिमज्यूलाई फर्कने बेला आफ्ना रचना सार्वजनिक गरिहाल्न चटारो भएको होला । तर, महामारीका बेला स्वास्थ्य सचेतना, उद्दार वा अन्य प्रभावकारी कार्यक्रम छाडेर गानाबजाना प्राथमिकतामा पर्नु दुःखद कुरा हो’, एक सामाजिक अभियन्ताले गुनासो गरे ।

नेपाल चलचित्र कलाकार संघ यूकेकी अध्यक्ष रोमियन लिम्बुले विषम परिस्थितिमा चलचित्र महोत्सव भनेर दूतावासमा जमघट गरिनु समयानुकुल नभएको बताइन् । ‘अहिले फिल्म महोत्सव गर्न कुनै दिवस पनि थिएन । बाहिर निस्कन समेत डरलाग्दो भएका बेला आफ्ना सहयोगी बोलाएर आफ्नै भिडियो प्रदर्शनलाई महोत्सव भन्नु बिडम्बना हो’- लिम्बुको प्रतिक्रिया छ ।

यसअघि राजदूत डा. सुवेदीले राष्ट्रिय दिवस एवं पांचौं संविधान दिवसको अवसर पारेर दूतावासमा एक कार्यक्रम गरि आफैंद्वारा सम्पादित पुस्तक लोकार्पण गरेका थिए ।

नेपालको सांग्रिला बुक्सद्वारा प्रकाशित बेलायतका ७७ जना प्रतिनिधि नेपाली कथाकारका कथा संकलित ‘बेलायतमा नेपाली कथा’ नामक प्रतिनिधि कथा संग्रह राजदूतले सम्पादन गरेका हुन् ।

बेलायती प्रहरीका एक अधिकृत (नेपाली) ले दूतावासमा भएका कार्यक्रमका तस्विरहरु हेर्दा सामाजिक दूरी फलो नभएको देखिएको बताए । ‘नियमकै हिसाबले विदेशी कूटनीतिक नियोगका रुपमा दूतावासका लागि केही सहुलियत होला, तर स्वास्थ्य र सुरक्षाका दृष्‍टिबाट यस्ता कार्यक्रम र जमघट यो समयमा उपयुक्त हुँदैन’- उनले भने ।

दूतावासकी प्रवक्ता रोशन खनालले भने बेलायत सरकारले तोकेको नियम उल्लंघन नै हुने गरी कार्यक्रम नगरिएको बताइन् । ‘दूतावासलाई सरकारले तोकेको नियम लागू नहुने भन्ने हुँदैन । त्यसैले हामीले पनि सामाजिक दूरी र अन्य आवश्यक सतर्कता अपनाएका छौं । ठूलो कार्यक्रम गरेका छैनौँ । दूतावासबाहिरबाट आउने अतिथिहरुको संख्या पनि निकै थोरै छ’- प्रवक्ता खनालले भनिन् ।  

यस्तो बेला जमघट नगर्न जनस्वास्थ्यविदहरुको सुझाव

बेलायतमा कोभिड १९ संक्रमण बढिरहेका बेला जमघट नगर्न विज्ञहरुले सुझाएका छन् । बेलायतको युनिभर्सिटी अफ हडर्सफिल्डमा ग्लोबल पब्लिक हेल्थका प्राध्यापक डा. पदम सिंखडा अपवादबाहेक ६ जनाभन्दा बढीको सामाजिक जमघट गैरकानूनी हुने जनाउंदै सावधानी अपनाउन आग्रह गरे । ‘कतिपय अवस्थामा सामाजिक दूरी कायम गरि कार्यक्रम गर्न सकिने प्रावधान छ तर यसले संक्रमणको जोखिम बढ्न सक्छ’- उनले भने ।

उता, बेलायतस्थित बर्मिङघम विश्वविद्यालयका औषधि विज्ञानका वरिष्ठ उपप्राध्यापक एवं युरोपियन सोसाइटी फर क्लिनिकल फार्मेसीका अनुसन्धान विभाग प्रमुख डा. विभु पौड्याल पनि अहिलेको परिस्थितिमा सामाजिक जमघट उपयुक्त नहुने बताउंछन् । ‘बेलायतमा कोरोना भाइरस संक्रमण फेरि दोहोरिंदा हामी सचेत भएनौं भने यसपटक झन् डरलाग्दो स्थिति आउने सम्भावना छ’- पौड्यालले भने ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू