बिहीबार, वैशाख १३, २०८१
22:16 | ०३:०१

बेलायतबाट विदेशी डिपोर्ट गर्न एक वर्षमै झण्डै ५० लाख पाउण्ड खर्च

१३ महिनामा डिपोर्टेसनका लागि २३ विमान चार्टर

नेपाली लिङ्क सेप्टेम्बर २९, २०२०

लण्डन । बेलायतमा गैरकानूनी रुपमा बसिरहेका वा भिसा आवेदन अस्वीकृत भएका विदेशीहरुलाई उनीहरुकै मुलुक फर्काउन बेलायतले ठूलो धनराशी खर्चिने गरेको एक तथ्यांकले देखाएको छ ।

स्कटिश नेश्नल पार्टीले माग गरेको ‘फ्रिडम अफ इन्फोमेसन रिक्वेस्ट’ लाई प्राप्त सूचनामा गत एक वर्षमा मात्रै विदेशी नागरिक डिपोर्ट गर्न सरकारले ४७ लाख पाउण्ड भन्दा बढी रकम खर्च गरेको पाइएको हो ।

सन् २०१९ को जुलाई महिनायताको अवधिमा उक्त रकम खर्च भएको हो । जुन रकममा बेलायत सरकारले फरक फरक समयमा २३ वटा विमान चार्टर गरी ५ सय ४८ जना विदेशीलाई उनीहरुकै मुलुक फर्काएको थियो । यसरी डिपोर्टेसनमा परी बेलायतबाट निकाला हुनेमा कयौं बालबालिका र गर्भवती महिलाहरु समेत थिए ।

स्कटिश नेश्नल पार्टीलाई उपलब्ध गराइएको विवरणमा सरकारले हरेक चार्टर उडानको लागि २ लाख पाउण्ड भन्दा बढी रकम खर्च गर्ने गरेको देखिएको छ ।

सन् २०१९, जुलाई २४ देखि गत अगस्ट २७ सम्म १३ महिनाको अवधिमा डिपोर्टेसनका लागि २३ वटा विमान चार्टर गरिएको थियो । जसमध्ये धेरै उडान कोरोना भाइरस महामारी फैलिएपछि भएका थिए ।

महामारीका बेला जरुरीबाहेकका सबै यात्रामा सरकारले लगाएको रोकको उल्लंघन गर्दै केहि ‘डिपोर्टेसन उडान’ हरु सञ्चालन गरिएको थियो जुन उडानमा यात्रुभन्दा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रधानमन्त्री बोरिस जोन्सन नेतृत्वको कञ्जरभेटिभ सरकारले अवलम्बन गरेको डिपोर्टेसन नीतिको विपक्षी लेबर, स्कटिश नेश्नल पार्टी लगायतले चर्को आलोचना गर्दै आएका छन् ।

इमिग्रेसन नियन्त्रणको नाममा मानवअधिकार रक्षा गर्न नसकेको र कयौं अवस्थामा गलत मानिसहरुलाई जबरजस्ती देशनिकाला गरेको आरोप सरकारमाथि लाग्ने गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू