शुक्रबार, वैशाख ७, २०८१
05:00 | ०९:४५

बेलायतमा ‘स्टक’ थुपार्ने क्रम बढेपछि घरायसी सामग्री खरिदमा नियन्त्रण

नेपाली लिङ्क सेप्टेम्बर २५, २०२०

लन्डन । बेलायतमा कोरोना संक्रमण बढ्न थालेपछि केहि सुपर मार्केटहरुले उपभोग्य वस्तु खरिदमा नियन्त्रण गर्न थालेका छन् । कोरोनाको बढ्दो संक्रमण र यसको त्रासका कारण मानिसहरुले अत्यावश्यक सामग्री अनावश्यक रुपमा ‘स्टक’ राख्ने गरेकोले समयमा नै यसको नियन्त्रण गर्न खोजिएको उनीहरुले बताएका छन् ।

स्थानीय सुपरमार्केटहरु टेस्को तथा मोरिसन्सले पास्ता, ट्वाइलेट रोल, बेबी वाइप्स तथा एन्टी ब्याक्टेरियल जस्ता उत्पादन खरिदमा नियन्त्रण गर्न थालेका छन् । एकै व्यक्तिले चाहिने भन्दा बढी सामान खरिद गरेर अनावश्यक स्टक राख्ने र बजारमा आतंक फैलिने भएकोले सबैलाई सहजता प्रदान गर्न यसो गरिएको सुपर मार्केटहरुको भनाई छ ।

तोकिएका वस्तुहरु खरिद गर्दा एक जना ग्राहकले एउटै सामान एकपटकमा तीनवटा भन्दा बढी खरिद गर्न नपाउने सुपरमार्केटले बताएका छन् ।

आफूहरुसंग पर्याप्त स्टक रहेको र आवश्यकता अनुसार सामान्य तरिकाले खरिद गर्न उनीहरुको आग्रह छ । अनलाइन खरिदमा पनि  चामल, क्यानमा राखिएका भेजिटेबल उत्पादन जस्ता सामग्रीहरुमा समेत नियन्त्रण गरिएको छ ।

यसअघि बेलायतमा लकडाउन घोषणा हुनु अघि घरायसी सामग्री खरिदमा व्यापक खिचातानी भएको समाचार माध्यममा बाहिरिएको थियो । बेलायतमा पछिल्लो समयमा विगत ६ महिना यताकै सबै भन्दा बढी संक्रमित देखिन थालेपछि जनजीवन थप प्रभावित बन्दै गएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि  सरकारद्वारा लागू थप प्रतिबन्धका कारण मानिसहरु लकडाउन हुनसक्ने त्रासमा छन् । तर प्रधानमन्त्री बोरिस जोन्सनले भने सकेसम्म लकडाउन नगर्ने पक्षमा आफू रहेको बताउंदै आएका छन् । जोन्सनले संक्रमण नियन्त्रण प्रयास सफल पार्न सबैलाई आग्रह पनि गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू