बिहीबार, चैत १५, २०८०
13:54 | १९:३९

बेलारुसका राष्ट्रपतिको गोप्य शपथ, युरोपेली मुलुकद्वारा अस्वीकार

विपक्षीहद्वारा चुनावमा धाँधली भएको आरोप लाउँदै धर्ना र जुलुस

रासस / एपी सेप्टेम्बर २४, २०२०


किभ, ८ असोज–बेलारुसका नवनिर्वाचित राष्ट्रपति अलेक्जान्डर लुकाशेन्कोले बुधबार छैटौं पटक राष्ट्रपति पदको शपथ ग्रहण गरेका छन् ।

विपक्षीहरुले चुनावमा धाँधली भएको आरोप लगाएर निरन्तर जुलुस र धर्ना गरिरहेको अवस्थामा राष्ट्रपति लुकाशेन्कोले पूर्व घोषणा नगरी सामान्य कार्यक्रमबीच शपथ लिएका हुन् ।

एक जना विपक्षी नेताले राष्ट्रपतिको शपथ ग्रहण समारोह ‘गोप्य’ रुपमा गरिएको र त्यो नौटंकी मात्र रहेको जिकिर गरे । धेरै युरोपेली मुलुकहरुले राष्ट्रपतिको चुनावी नतिजालाई अस्वीकार गर्ने र लुकाशेन्कोलाई वैधानिक राष्ट्रप्रमुखका रुपमा मान्यता नदिने पुनः दोहोरयाएका छन् ।

राष्ट्रपतिको शपथ भइरहँदा राजधानी मिन्स्कमा हजारौं व्यक्ति प्रदर्शनमा उत्रिएका थिए भने सडकमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

मिन्स्कस्थित राष्ट्रपति कार्यालयमा आयोजित शपथ ग्रहण समारोहमा ठूलो संख्यामा समाजका लब्धप्रतिष्ठित व्यक्ति उपस्थित भएको राज्य संचालित समाचार समिति बेल्टाले जनाएको छ ।

६६ वर्षीय लुकाशेन्कोले दाहिने हातमा संविधान राखेर बेलारुसी भाषामा शपथ लिएका थिए । त्यस अवसरमा केन्द्रीय निर्वाचन आयोग प्रमुखले बेलारुसको राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र लुकाशेन्कोलाई हस्तान्तरण गरेका थिए । त्यस अवसरमा सम्बोधन गर्दै राष्ट्रपति लुकाशेन्कोले निर्वाचनमा मुलुकको राष्ट्रपतिमा विजयी हुनु ठूलो कुरा होइन भन्दै आफूले राष्ट्रको मूल्यमान्यता, हाम्रो शान्तिपूर्ण जीवन, सार्वभौमसत्ता र स्वतन्त्रता रक्षाको प्रतिरक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

पूर्व सोभियत युनियनबाट अलग भएयता २६ वर्षदेखि लुकाशेन्को बेलारुसको राष्ट्रपतिमा छन् । गत अगष्ट ९ मा सम्पन्न राष्ट्रपतिको निर्वाचनमा लुकाशेन्कोले ८० प्रतिशत मत प्राप्त गरेका थिए ।

उनकी कट्टर विरोधी स्भितलाना चिखानोस्कायाले १० प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । विपक्षी नेत्री स्भितलाना हाल छिमेकी मुलुक लिथुआनियामा निर्वासनमा छिन् ।

उनले निर्वाचनमा व्यापक धाँधली भएको जनाउँदै चुनावी परिणाम अस्वीकार गर्ने बताएकी छन् । उनका दशौं हजार समर्थकले छ हप्तादेखि लुकाशेन्कोको राजीनामा माग गर्दै निरन्तर प्रदर्शन गरिरहेका छन् । उनले भनिन्, ‘जनताले लुकाशेन्कोलाई जनादेश दिएका छैनन् । शपथ ग्रहण कार्यक्रम नौटंकी मात्र हो र यो आफूलाई वैधानिक दाबी गर्ने चालबाजी मात्र हो ।’

लिथुआनियाको राजधानी भिल्न्सबाट भिडियो सम्बोधन गर्दै विपक्षी नेत्री स्भितलानाले आफूलाई बेलारुसका जनताले निर्वाचित गरेको दाबी गरिन् । उनले सबै मिलेर नयाँ बेलारुस बनाउने समय आएको बताएकी छन् ।

युरोपेली युनियनले समेत लुकाशेन्कोलाई बेलारुसको राष्ट्रपतिका रुपमा मान्यता दिन अस्वीकार गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू