शुक्रबार, वैशाख १४, २०८१
22:22 | ०३:०७

‘सगुनको लगानीमा जोखिम छ तर उच्च प्रतिफलको सम्भावना पनि बढी छ’

नेपाली लिङ्क सेप्टेम्बर १४, २०२०

लन्डन– संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सोसल इ-कमर्स कम्पनी सगुनका लगानीकर्ताहरुले सगुनको लगानीमा जोखिम रहेको भएपनि उच्च प्रतिफलको सम्भावना पनि बढी रहेको जनाएका छन् । अमेरिकाको ओहायो राज्यमा बस्दै आएका भूटानी मूलका नेपाली चिन्ता बजगाई सगुनमा लगानी गर्न पाएकोमा खुशी छन् । विश्वका अन्य १ सय १२ स्टार्ट अप् कम्पनीमा लगानी गरिसकेका बजगाई सगुनको भविष्य उज्जवल देखेर आफूले लगानी गरेको बताउँछन् ।

भनिन्छ, मानिस उसलाई प्राप्त हुने परिस्थितिको परिणाम हैन, बरू उसले लिने फैसलाको परिणाम हो । प्रतिकूल परिस्थितिलाई पनि उसको सही फैसलाले अनुकूलतामा परिवर्तन गर्न सक्छ । बजगाईले मानेको शाश्वत सत्य पनि यही नै हो, तब त उनी भन्छन्, ‘जोखिम नमोलिकन कुनै पनि काम गर्न सकिन्न, त्यसैले जोखिम मोलेरै मैले सगुनमा लगानी गरेको हुँ, समयको कालखण्डमा आइपर्ने कुनै पनि भयले आजैबाट आत्तिएर लगानीबाट पछि हट्नु राम्रो हैन ।’

बजगाईं लगानी र त्यसपछिको प्रतिफलमा विश्वास गर्छन्, त्यसैले त्यस्ता कुनैपनि अवसर उनी गुमाउन चाहंदैनन् । सन् २०१६ को अन्त्यदेखि नै स्टार्टअप कम्पनीमा लगानी गर्दै आएका बजगाईले हालसम्म ११२ वटा त्यस्ता कम्पनीमा लगानी गरिसकेका छन् । यसै क्रममा उनी अहिले सगुनसँग जोडिएका छन् ।

सगुनको विश्वसनीयता र सगुनको सफल भविष्यप्रति आफू शतप्रतिशत विश्वस्त रहेको उनी बताउँछन् । बजगाई भन्छन्,  ‘स्टार्टअप कम्पनीमा जोखिम हुन्छ, तर त्यही जोखिम मोलेर काम गरियो भने भोलिका दिनमा ठूलो प्रतिफल आउन सक्छ । सन् १९३४ देखि २०१६ सम्म स्टार्टअप कम्पनीमा लगानी गर्न पाइँदैनथ्यो, तर अमेरिकामा Jobs Act आएपछि सबैले लगानी गर्न पाइयो र मैले पनि जोखिम मोलेरै २०१६ नोभेम्बरदेखि  हालसम्म सगुनसहित ११२ वटा स्टार्टअप कम्पनीमा लगानी गरेको छु । यतिबेलाको मेरो रोजाई सगुन हो ।’ उनी थप्छन्, ‘मैले लगानी गरेका ११२ कम्पनीमध्ये सगुनलाई मैले उत्कृष्ट पाँचमा राखेको छु ।’

बजगाई एक जना परिचित लगानीकर्ता मात्रै होइनन्, लगानी कहाँ र किन गर्ने भन्ने विषयका ज्ञाता पनि हुन् । सगुनमा लगानी सम्बन्धमा बजगाई भन्छन्,‘अहिले सगुन नेपालसहित अमेरिका, भारत, चीन र दक्षिण एसियाली साथै अन्य मुलुकमा पनि पुगिसकेको छ । तसर्थ पनि ती क्षेत्रका दशौँ लाख प्रयोगकर्तामाझ पहुँच स्थापना गर्ने मौका प्रशस्तै छ । अझ अहिले सगुनका नयाँ फिचर, प्रोडक्टहरु समेत ‘लञ्च’ भइरहेका छन् जसले यसप्रति प्रयोगकर्ताको ध्यान आकर्षित गर्न सजिलो पनि छ, केही समय लाग्ला, तर अबको सात आठ वर्षसम्म सगुन विश्व बजारमा योगदान गर्ने महत्वपूर्ण कम्पनी बन्न सक्छ ।’

फेसबुक, ट्वीटर,  ह्वाट्सएप, स्न्यापच्याट, मेसेन्जर लगायतको उदाहरण दिँदै बजगाईं ती कम्पनीले पनि सुरुवाती दिनमा सगुनकै जस्तो अवस्था भोगेको बताउँछन् । ‘स्टार्टअप  कम्पनीमा जोखिम धेरै छ यो सत्य हो’- उनी भन्छन्,‘तर यसका साथै रिवार्ड लगायत आकर्षक पक्ष पनि ठुलो छ । स्टार्टअप कम्पनीमा लगानीको प्रतिफल आउने ३ किसिम छ–पहिलो स्टक एक्सचेन्जमा सूचीकृत हुने, दोस्रो आफ्नो कम्पनीलाई अर्को कम्पनीले किन्यो भने र तेस्रो त्यो कम्पनीले सेकेन्डरी मार्केट क्रिएट गरयो भने । र मैले यी सबै सम्भावना सगुनमा देखेको छु ।’

अन्य थुप्रै लगानीका ठाउँ हुंदा हुँदै सगुनलाई किन रोज्ने त ? बजगाईं भन्छन्,  ‘हो तर पहिले नै स्थापित भइसकेका कम्पनीका सुरक्षित लगानीमा प्रतिफल पनि कम हुन्छ । सगुन जस्तो उदाउँदै गरेको कम्पनीमा गर्नुभयो भने सगुनको विकास मात्रै नभई स्वयं लगानीकर्ताको पनि वृत्तिविकास हुन्छ । अर्को महत्वपूर्ण कुरा तपाईले प्रतिफल पनि राम्रो पाउनुहुन्छ ।’ ‘घर, जग्गा, बैंकमा शेयरमा लगानी गर्नु भन्दा स्टार्टअप कम्पनीमा लगानी गर्दा धेरै माथि पुग्ने प्रबल सम्भावना रहन्छ, यो मैले आफ्नै अनुभवबाट सिकेको कुरा हो ।’

एकजना लगानीकर्ताले बारम्बार स्टार्ट अप कम्पनीमा लगानी गर्न मिल्ने भएको र US Securities and Exchange Board ले मान्यता दिएकोले पनि सगुनमा ढुक्क भएर लगानी गर्न बजगाईं सबैलाई सुझाउँछन् ।

‘सगुनप्रति प्रयोगकर्ताको आर्कषण बढीरहेको छ’

सगुनका मुख्य लगानीकर्तामध्येका एक हुन्, बेलायतमा रहेका युवराज सेढाइँ । सगुनका यूरोप संयोजक समेत रहेका सेढाइँ सगुनका फिचरहरु नवीनतम भएकै कारण यसप्रति प्रयोगकर्ताको आर्कषण बढेको बताउंछन् । सगुनका फिचरबारे जानकारी दिँदै सेढाइँ भन्छन्, ‘प्रोडक्ट र फिचरको कुरा गर्दा सगुन प्रोडक्ट अनुसार कनेक्ट, शेयर, र अर्न भन्ने सिद्धान्त बोकेर अघि बढेको छ । यसमा हामीले यस्तो सिस्टम ल्याएका छौँ, जसमा प्रयोगकर्ताले सिस्टम प्रयोग गर्दा कमाउने मौका पाउनेछन् । भन्नुको मतलब यसमा कम्पनी मात्रै होइन प्रयोगकर्ता पनि प्रत्यक्ष लाभान्वित हुन्छन् ।’ उनले थपे-‘फिचरको कुरा गरिरहँदा हामीले सामान्य फिचरहरू यसअघि नै प्रयोगमा लिएर आइसकेका थियौँ, तर अहिले यसको सबैभन्दा फरक र आकर्षक फिचर चाहिँ ‘सामाजिक स्मार्ट कार्ड’ (Social Smart Card) हो ।’

सगुनले अहिले सगुन लाइट नामक अर्को एप ल्याएको छ । यी दुईमा खासै धेरै  फरक छैन । सगुन एप्पल स्टोरमा छ भने सगुन लाइट एन्ड्रोइडमा । सेढाइँका अनुसार यी दुवै एउटै  प्रोडक्ट हुन् । यी दुईमध्ये कुनलाई बढी प्राथमिकतामा राखेर अघि बढ्ने भन्नेमा गृहकार्य भइरहेको उनले बताए ।

सेढाइँ सगुनप्रति यसकारण ढुक्क छन् किनकी यो एक Social Gifting को रुपमा अघि बढेको छ । जुन निकै आकर्षक र प्रयोगकर्तामाझ लोकप्रिय हुने र पहुँच स्थापना गर्ने प्रमुख कडी पनि हो । सेढाइँ भन्छन्, ‘अरू एपमा जस्तै सगुनमा सबै फिचर र सुविधा उपलब्ध छ । हामीले सामाजिक स्मार्ट कार्डमार्फत गिफ्ट गर्न पाउने व्यवस्था ल्याएका छौँ र गिफ्टिङलाई इ-कर्मशमै हेर्न मिल्ने व्यवस्था पनि मिलाएका छौँ । सगुनको अहिलेको सबैभन्दा राम्रो पक्ष भनेकै गिफ्टिङको फिचर हो ।’

सगुनजस्तो स्टार्ट अप कम्पनीमा किन लगानी गर्ने त? यसको जवाफमा सेढाइँ भन्छन्, ‘अन्तर्राष्ट्रिय बजारमा उदाएको सगुनको संघर्षकै दिनमा जोडिन पाउनु सौभाग्यको कुरा हो, नत्र भने विश्वका कयौं कम्पनी छन् जसको बारेमा त हामीले बजारमा आइसकेपछि मात्रै थाहा हुन्छ ।’

के सगुनले नेपाली समुदायलाई मात्रै लक्षित गर्छ?

सगुन विदेशमा रहेका नेपालीको नवीनतम सोचको उपज पक्कै हो, तर यसले नेपाली समुदायलाई मात्रै लगानीका लागि जोड दिन्छ भन्नु चाहिँ गलत हुने सेढाइँ बताउँछन् । शेयर सबैका लागि खुल्ला रहेको उनको भनाइ छ । ‘अहिले नै भारतका चर्चित व्यक्तिदेखि अमेरिकाका लगानीकर्ताले सगुनमा लगानी गरिसकेका छन्’- उनी भन्छन्, ‘नेपाली समुदायले सुरु गरेको प्रोजेक्ट भएकाले नेपाली लक्षित हुनु स्वाभाविक हो । तर हाम्रो लक्ष्य नेपाली समुदाय मात्रै होइन, विश्वका जोकोही लगानीकर्ता भित्र्याउन सगुन सदैव तयार छ ।’

तर नेपालीहरुकै प्रोजेक्ट भएको र सगुनमार्फत नेपालीलाई आर्थिक लाभ हुने भएकाले यसको पहिलो प्राथमिकता नेपाली नै हुने सेढाइँ बताउँछन् ।

सगुन सफल हुन्छ भन्ने आधार के छ ?

सगुनको ठूलो धन भनेकै प्रयोगकर्ताहरू हुन् । सुरुवाती दिनहरुमा ६ लाखको हाराहारीमा रहेका प्रयोगकर्ता अहिले ८१ लाख भन्दा धेरै पुगिसकेका छन् । जब प्रयोगकर्ताको संख्या वृद्धि हुन्छ, नयाँ फिचरहरु पनि क्रमशः थपिँदै जाने सेढाइँको भनाइ छ । यूनिक फिचरहरु दिने भएकाले सगुन सफल हुने कुरामा दुईमत नरहेको अर्का लगानीकर्ता चिन्ता बजगाई बताउँछन् । बजगाई भन्छन्, ‘ठुलो कम्पनीले किनिदिन सक्ने एउटा पाटो त छँदैछ, यदि त्यस्तो भयो भने सगुन अन्तर्राष्ट्रिय प्लेटफर्म बन्ने पक्का छ ।’

सन् २०१५ देखि अहिलेसम्म सगुनले एक पैसापनि मुनाफा गरेको छैन, न त कुनै आय गरेको छ, जोखिम युक्त कम्पनीमा किन लगानी गर्ने त? भन्ने सवाल कतिपय सम्भाव्य लगानीकर्ताहरुको छ । तर यसबारे प्रष्ट पार्दै बजगाईं भन्छन्, ‘हो, यतिबेला हामीले जोखिम लिएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेका हौँ । प्रयोगकर्ताको पावर भनिन्छ नि हो त्यही ‘पावर अफ कमन युजर्स’ को विश्वास र उनीहरुले उठाएको जोखिमबाटै स्टार्टअप कम्पनी सफल हुने हो । यस्ता कम्पनीले सुरुवातमा आय वा मुनाफा लिन नसकेपनि प्रयोगकर्ताकै कारण कालान्तरमा त्यसको भ्यालू बढ्दै जान्छ र कम्पनी सफल हुन्छ ।’

सगुनले सन् २०२३ सम्ममा दस करोड प्रयोगकर्ता बनाउने र न्यूयोर्क स्टक एक्सचेन्जमा जाने लक्ष्य राखेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू