शुक्रबार, कार्तिक १४, २०७७
23:26 | ०५:११

राजनीतिमा युवा पुस्ताको पालो कहिले ?

बेलायतमा युवा नेताले नै हांकेका छन् देश

- डा. बच्चुकैलाश कैनी सेप्टेम्बर १२, २०२०

बिहान उठेर नेपाली पत्रपत्रिकाहरु पढ्ने हो भने धेरैजसो पत्रपत्रिकाले नेपाली राजनीतिक दलका नेताहरुको प्रसंग उल्लेख गरेका हुन्छन् । सरकारको अक्षमता, नेपाली राजनीतिक दलमा हुने गुटबन्दी र नेताहरुको व्यवहारका बारेमा धेरै कुरा लेखिएको हुन्छ । अहिले सर्वसाधारण जनता, राजनीतिक दलका कार्यकर्ता र सम्बन्धित क्षेत्रका विज्ञको निचोड छ- ‘अहिलेका पाका नेताहरुले युवा पुस्तालाई नेतृत्व हस्तान्तरण नगरेसम्म देशले प्रगति र सम्वृद्धिको गति लिन सक्दैन् ।’

हो, मलाई पनि त्यस्तै लाग्छ । अहिले पनि नेपालमा अधिकांश ६० काटेका नेताहरु दोश्रो पुस्ताका नेता गनिन्छन् भने ५० काटेका नेताहरु युवा पुस्ताका नेता मानिन्छन् । जुन बेलासम्म यी दुवै पुस्ताका नेताहरु सरकार वा दलको कार्यकारी पदका लागि आकांक्षी हुन्छन् वा बरिष्ठ नेताहरुले पत्याउँछन्, त्यो बेला उनीहरु पनि ७० काट्ने पक्का छ । केही पटक नेपालको प्रधानमन्त्री भइसकेका नेताहरु अहिले पनि सत्ताको लोभमा आफ्नै दलभित्र गुट उपगुट संचालन गरेर, जनमतलाई होच्याएर र पद बाँडफांड गरेर आफूलाई राजनीति र सत्ताको खेलाडी सावित गर्न अभ्यस्त छन् ।

बेलायत जस्तो विकसित मुलुकमा सन् १९९७ मा टोनी ब्लेयर केवल ४३ बर्षको उमेरमा प्रधानमन्त्री भएका थिए । उनले लगातार तीनवटा संसदीय निर्वाचन जितेर लेबर पार्टीको सरकार पनि बनाए । बेलायतको इतिहासमा उनको पालामा नै लेबर पार्टीले सबैभन्दा बढी समय सत्तामा बस्ने अवसर पाएको थियो । उनले ५३ वर्षको उमेरमा सन् २००७ मा आफ्नै दलका अर्का सांसद गोर्डन ब्राउनलाई सत्ता हस्तान्तर गरे । धेरै काम गरेर उनले बेलायतमा इतिहास रचे । त्यसपछि उनले सरकार र दलमा कुनै पद लिएनन् । त्यसपछि लेबर पार्टी संचालनमा उनको भूमिका केही पनि छैन् भने पनि हुन्छ । अहिले उनी आफ्नै नाममा गठन भएको ‘टोनी ब्लेयर इन्स्टिच्युट अफ ग्लोबल चेन्ज’ नामक संस्थाको कार्यकारी अध्यक्षको रुपमा कार्यरत छन् ।

त्यस्तै सन् २००५ मा बेलायतको कन्जरभेटिभ पार्टीको संसदीय दलको नेतामा चुनिएका डेभिड केमरून सन् २०१० मा ४३ बर्षकै उमेरमा बेलायतको प्रधानमन्त्री बनेका थिए । उनले पनि सन् २०१६ मा आफ्नै दलकी सांसद टेरिजा मेलाई सत्ता हस्तान्तरण गरेपछि उनी बेलायतको राजनीतिमा गुमनाम छन् । अहिले जम्मा ५३ बर्षका उनी बेलायतको सामाजिक संस्था अल्जाइमर रिसर्च यूकेको अध्यक्षको रुपमा कार्यरत छन् ।

विश्वका अरु धेरै देशको उदाहरण प्रस्तुत गर्न सकिन्छ, जहाँ युवा पुस्ताले राम्रोसंग देश चलाएका छन् । युवा पुस्ताका महिला प्रधानमन्त्रीले उदाहरणीय रुपमा सत्ता संचालन गरेका छन् । जस्तै सन् २०१९ मा फिनल्याण्डमा ३४ बर्षकी सान मारिन प्रधानमन्त्री बनिन् । अहिले ४० बर्षकी जसिन्डा आर्डेंन न्यूजिल्याण्डकी प्रधानमन्त्री छन् ।

मैले माथिका यी दृष्टान्तहरु किन उल्लेख गरेको भने नेपालमा राजनीतिक दलका नेताहरु ठिक यसको विपरित काम गर्छन् । एक पटक सत्तामा पुगेपछि र दलको नेता भएपछि संधै आफ्नो भागबण्डा खोज्ने, फेरी पटकपटक दल वा सरकारको कार्यकारी पदको लागि दावेदार बन्ने आदि प्रचलन छ । एकपटक सरकार वा दलको प्रमुख भएपछि आफ्नै गुट बनाउने, सरकार र दलको राजनीति प्रभावित बनाउने आदि चलन छ । यो प्रचलन अप्रजातान्त्रिक मात्रै हैन गैर जिम्मवारीको पराकाष्टा पनि हो ।

कुनै पनि पदमा पुगेपछि त्यो पदको मर्यादा राख्नु पर्छ । पद, सत्ता र सम्मान आफैं पाइने कुरा हैन् । यो कुनै निश्चित विधि अपनाएर, आफ्ना कार्यकर्ता र जनताको मन जितेर प्राप्त हुने कुरा हो । पद र सत्ता सधैंका लागि प्राप्त हुने पनि होइन् । एकपटक पद र सत्तामा पुग्दैमा सधैंका लागि भागबण्डा खोज्ने हो भने नयाँ पुस्ताको पालो कहिले आउने? नयाँ सोच र विचार कहिले आउने? संसार र समय परिवर्तनशील छ । परिवर्तनसंगै बग्ने र सम्वृद्धिको बाटो रोज्ने हो भने नेपाली राजनीतिमा नयाँ पुस्तालाई अगाडि ल्याउनुको किन विकल्प छैन् । किनकि नेपाली राजनीतिमा हरेक जस्तो दलका अग्रज पुस्ताहरु दल र सरकार संचालन गर्न अलोकप्रिय र असफल जस्तै भइसके ।

बेलायतको राजनीतिमा दश वर्षको मेरो अनुभवले के सिकायो भने दलको नेता उमेर, वरिष्ठता र पदले हुने होइन् । नेता क्षमताले हुने हो । राजनीति सत्ता, पद र पैसाका लागि गर्ने होइन्, राजनीति जनताको जीवनस्तरमा वास्तविक परिवर्तन गर्नेका लागि हो। दल संचालन गर्न कार्यकर्ताको मत लिएर दलको बरिष्ठ पदमा पुग्दैमा त्यसले सरकार पनि राम्रोसंग सञ्चालन गर्छ भन्ने हुँदैन् । त्यसैले सरकार र दल संचालन गर्ने छुट्टा छुट्टै संयन्त्र, नेतृत्व र प्रणाली बसाउनु पर्छ । साथै, सरकार र दलबीच राम्रो संवाद, समन्वय र कडी स्थापना गर्न जरुरी छ ।

अहिले राजनीति र देश दर्शन र भाषणमा मात्रै चल्दैन् । अहिले कुनै पनि दर्शन जस्तै साम्यवाद, माक्र्सवाद, समाजवाद वा पूंजीवाद निरपेक्ष रुपमा लाद्न सकिंदैन् । यो कुनै पनि हालतमा सम्भव छैन् । कुनै पनि देशको राज्य संचालनमा विश्व परिवेश, अर्थतन्त्र, भू-राजनीति आदि धेरै कुराको प्रभाव हुन्छ । त्यसैले यी सबै कुरा बुझेर नयाँ नयाँ सोच र आदर्श अनुसार कम गर्ने मात्रै राजनीति र सत्ता संचालनमा सफल हुन्छ ।

यसका लागि केवल नेतृत्व बर्गलाई दोष दिएर सर्वसाधारण जनता भाग्न पाईंदैन् । किनकि लोकतान्त्रिक प्रणालीमा नेता र दललाई माथि पुरयाउने र तल झर्ने जनता हुन् । जनता र दलका कार्यकर्ता दुबैले निःस्वार्थ र बिना कुनै प्रभाव आफ्नो मताधिकार देशको हित र प्रगतिको लागि उपयोग गर्नु पर्छ। दलका कार्यकर्ता पनि कुनै गुटको पछि नलागी देशको हितमा काम गर्ने र सक्षम नेता छान्नुपर्छ । अनि मात्र सबैको भलो हुन्छ ।

संचार र प्रविधिसंग रमाउने र आफ्नै हातमा विश्व हेर्ने अहिलेको युवा पुस्ता निकै चनाखो, सचेत र जागृत छ । तर, यसको ठिक विपरित देश चलाउने नेतृत्ववर्ग पुरातन सोच विचार र घोकन्ते दर्शनलाई आफ्नो आदर्श मान्छन् । यो पुस्तालाई परिचालन गर्ने हो र नेपाललाई प्रगति र सम्वृद्धिको बाटोमा अगाडि बढाउने हो भने अहिले नेपालको वरिष्ठ नेताहरुलाई स सम्मान बिदा गर्नुको कुनै विकल्प छैन् ।

मेरो गाउँका काकाले उति बेला भनेको सुनेको थिएँ, ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको ।’ चलन चल्तीका धेरै उखानहरु समयसापेक्ष भए पनि यो उखान भने नेपाली राजनीतिक दलका सन्दर्भमा मिले जस्तो लागेन् । अब यसलाई परिवर्तन गरेर ‘सम्मान जति बुढालाई, काम जति युवालाई’ भन्ने उखान पो राख्ने कि ! सानो मान्छेको सानो सल्लाह मात्रै ।

(डा. कैनी बेलायतको सन् २०१७ को संसदीय निर्वाचनमा लेबर पार्टीको तर्फबाट सांसदउम्मेदवार थिए । उनी डार्टफोर्ड जिल्ला काउन्सिलको पूर्व काउन्सिलर समेत हुन्)

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू