शुक्रबार, चैत १६, २०८०
05:23 | ११:०८

इंग्ल्याण्डका पब, रेस्टुरेन्टमा सोमबारदेखि थप कडाई

६ जना भन्दा बढीको टेबल बुकिङ गर्न नपाइने

नेपाली लिङ्क सेप्टेम्बर १०, २०२०

लन्डन । आउँदो सोमबार १४ सेप्टेम्बरदेखि इंग्ल्याण्डका पब, बार, क्याफे तथा रेस्टुरेन्टहरुले थप सतर्कता अपनाउनुपर्ने भएको छ । सोमबारबाट इंग्ल्याण्डको जनजीवनमा केहि परिवर्तन हुने भएको छ ।

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएपछि यसको नियन्त्रणका लागि ६ जना भन्दा बढीको जमघटलाई सेप्टेम्बर १४ पछि सरकारले  गैर कानूनी घोषित गरेको छ ।

बेलायतको रोजगारी क्षेत्रमा तेस्रो ठूलो रोजगारदाता रहेको हस्पिटालिटी व्यवसायलाई निरन्तरता दिन र तिनिहरुको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले सरकारले थप नयाँ नीति लागू गरेको छ ।

इंग्ल्याण्डका पब, बार, क्याफे तथा रेस्टुरेन्टहरुलाई निरन्तर संचालन अनुमति दिएपनि ६ जना भन्दा बढीको टेबल बुकिङ गर्न पाइने छैन् । त्यसैगरी एक ग्रुप देखि अर्को ग्रुपका लागि छुट्टाछुट्टै बस्ने व्यवस्था गर्नुपर्नेछ । सरकारको यस नीतिले व्यवसायीहरुलाई अरु जिम्मेवारी थपिएको छ ।

फेल्थामस्थित नमस्ते गोर्खा नेपलिज एण्ड इन्डियन रेष्टुरेन्टका संचालक तथा सेफ समेत रहेका अर्जुन थापा भन्छन् ‘पहिलाको तुलनामा अहिले निकै जटिल भएको छ, व्यवसायमा पनि ह्रास आएको छ । कोरोना संक्रमणका कारण ग्राहकहरुलाई पनि सिमित गर्न बाध्य हुनुपर्छ । तर, संसारमै महामारीको रुपमा फैलिएको छ, आफैं सुरक्षित हुनुपर्यो, व्यवसाय पनि धान्ने पर्यो ।’

उनी थप्छन्- ‘सोमबारदेखि थप कडाइ गरिएकाले ग्राहकको विवरणदेखि सामाजिक दुरी लगायतका विषयलाई विशेष निगरानी राख्नुपर्छ ।’

सेप्टेम्बर १४ बाट पब, बार, क्याफे तथा रेस्टुरेन्टमा आउने प्रत्येक ग्राहकको व्याक्तिगत विवरण अनिवार्य रुपमा राख्नुपर्नेछ । जसका कारण यदि कसैलाई कोरोना संक्रमण पुष्टि भएमा पत्ता लगाउन सजिलो हुनेछ । तर यस्तो विवरण प्रत्येक ग्रुपमध्येबाट एकजनाको मात्र लिए पुग्छ ।

विवरण लिंदा वा दिंदा ग्राहकको नाम र फोन नम्बरका साथै आएको समय र बसेको समयको पनि रेकर्ड राख्नुपर्नेछ । ग्राहकबाट लिएको विवरण कम्तिमा २१ दिनसम्म सुरक्षित राख्नुपर्नेछ ।

ग्राहकको विवरण संकलन गर्ने कार्य यसअघि पनि अनिवार्य गरिएपनि ‘अफिसियल्ली’ भने लागू गरिएको थिएन । सोमबारदेखि ग्राहकको विवरण नराख्ने, ६ जनाभन्दा बढीको बुकिङ लिने तथा सामाजिक दुरी कायम नगराउने व्यवसायलाई कानूनी कारवाही गरिने छ । इंग्ल्याण्डमा आधिकारिक रुपमा समाजिक दुरी २ मिटर कायम गरिएपनि सावधानीपूर्वक एक मिटर प्लस अनिवार्य गरिएको छ ।

पब, बार, क्याफे तथा रेस्टुरेन्टहरुले २ मिटर भन्दा कममा पनि छुट्टाछुट्टै समूहमा ग्राहकहरुलाई राख्न सक्नेछन् तर ग्राहकको सुरक्षा सम्बन्धि विशेष कदम चाल्नुपर्नेछ ।

यसका अतिरिक्त कोरोना संक्रमण नियन्त्रण गर्न सरसफाइका साथै स्यानिटाइजर लगायत सामग्रीको पनि उचित प्रबन्ध गर्नुपर्नेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू