बिहीबार, चैत १५, २०८०
12:21 | १८:०६

बेलायतमा कोरोना परीक्षणको दुरुपयोग

आवश्यक परेका मानिसलाई सास्ती

नेपाली लिङ्क सेप्टेम्बर ९, २०२०

लन्डन । बेलायतमा कोभिड १९ परीक्षण (पिसिआर) दुरुपयोग बढेको छ । बेलायती स्वास्थ्य मन्त्री म्याट 
ह्यानककले कोरोना संक्रमणको लक्षण नै नभएका मानिसले परीक्षण गराउने गरेको बताएका हुन् । अनावश्यक रुपमा प्रणालीको दुरुपयोग गरि कठिन परिस्थिति सृजना गरेकाले आवश्यक परेका मानिसले सास्ती खेप्नु परेको स्वास्थ्यमन्त्रीको टिप्पणी छ ।

होलिडे जानेहरुले पनि कोरोना संक्रमण भए नभएको परीक्षण गराएको उदाहरण स्वास्थ्य मन्त्री ह्यानककले दिएका छन् । पछिल्लो समय परीक्षणको दायरा बढाइए पनि अनावश्यक व्यक्तिहरुको अत्यधिक चापका कारण समस्या भएको उनले बताए ।

अचेल कोरोना परीक्षणका लागि मानिसहरुलाई निकै टाढा पठाएको भन्दै व्यापक विरोध पनि हुंदै आएको छ । लेवर नेता सर केइरले सरकारी अधिकारीलाई सम्पर्क गरि समस्याको समाधान गर्न सुझाएका थिए । जवाफमा प्रधानमन्त्री बोरिस जोनसनले समस्या समाधानका लागि सरकारले निकै मिहिनेतका साथ काम गरिरहेको जनाउंदै बिना लक्षण परीक्षण गराउनेहरुको संख्या धेरै भएकाले समस्या उत्पन्न भएको बताएका छन् ।

बेलायतको नेशनल हेल्थ सर्भिस (एनएचएस) ले कोरोनाका लक्षणहरु जस्तै, ज्वरो, निरन्तर खोकी, स्वाद तथा गन्ध थाहा नपाउने जस्ता समस्या देखिएका व्यक्तिलाई निशुल्क परीक्षण गर्दै आएको छ । अनलाइन बुकिंग गर्दा तोकिएको लक्षण भएका मानिसले निशुल्क परीक्षण गर्न पाउने भएकाले मानिसहरुको चाप बढेको हो । करिब २५ प्रतिशत मानिस बिना लक्षण परीक्षण गर्न आउने गरेको बताइएको छ ।

लकडाउन खुलेयता उडान गर्न एयरलाइन्स कम्पनीहरुले पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरेकाले पनि धेरैले एनएचएसबाट परीक्षण गराउंदै आएका छन् ।

तर कतिपय एयरलाइन्सहरुले एनएचएसको परीक्षणलाई मान्यता नदिएका कारण थप झन्झट व्यहोर्नुपरेको यात्रुले बताएका छन् ।खासगरी नेपालका लागि उडान भर्दा नेपालबाट तोकिएको ढांचामा परीक्षण गरेको प्रमाण पेश गर्नुपर्ने भएकाले बेलायतबाट नेपाल जाने यात्रुहरुले सास्ती खेप्नुपरेको छ । नाक तथा घांटीको स्वाब परीक्षण गरिएको भन्ने स्पष्ट खुलाउनुपर्ने लगायतका विवरण नेपालको ढांचामा नेशनल हेल्थ सर्भिस (एनएचएस) ले उपलब्ध नगराउने हुंदा एयरपोर्टबाट 
फर्किनुपर्ने अवस्था आएको पीडितले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू