शुक्रबार, चैत १६, २०८०
14:21 | २०:०६

डा. केसीद्वारा सत्याग्रह स्थगित, माग पूरा नभए फेरी

रासस सेप्टेम्बर ३, २०२०

फोटो- दर्पण दैनिक

कर्णाली । वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा. डा. गोविन्द केसीले सत्याग्रह स्थगित गर्नुभएको छ । उहाँले आज प्रेस विज्ञप्ति जारी गरी जुम्लामा पछिल्लो समय कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै पुन सत्याग्रह स्थगित भएको जनाउनु भएको हो ।

उहाँले गत साउत ३२ गते पत्रकार सम्मेलन गरी यही भदौ ११ गतेदेखि जुम्लामा अनशन बस्ने घोषणा गर्नुभएको थियो । उक्त दिनसमेत सत्याग्रह बस्ने वातावरण नमिलेपछि स्थगित गर्नुभएको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘कोराना महामारी फैलिँदै जाँदा जुम्लावासीको विशेष आग्रहलाई मध्यनजर गर्दै सत्याग्रह कार्यक्रम केही समयका लागि स्थगन गरेको छु । सरकारले आफूले राख्दै आएका माग पूरा नगरेको खण्डमा कुनै पनि बेलामा सत्याग्रह बस्ने जानकारी गर्दछु ।’

उहाँले विज्ञप्तिमार्फत यस जोखिम अवधिमा निरन्तर खटेर स्वास्थ्य सेवा दिइरहेका सरकारी र निजी क्षेत्रका सबै चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियमिति सेवा सुविधाका साथै जोखिम भत्ता दिलाउन सरकारलाई ध्यानाकर्षण समेत गराउनुभएको छ ।

सरकारले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमडिजिपी इन जनरल प्राटिक्स, एमडी इन एनेष्थेसिया, एमडी इन पेडियाट्रिक्स गरी तीन विधामा स्नातकोत्तर तहको पठनपाठनको स्वीकृति प्रदान गरेको गरिसकेको छ ।

प्रतिष्ठानका शिक्षाध्यक्ष डा निरेश थापाले तीन विधाका पाँच सिटमा विशेषज्ञ चिकित्सा शिक्षा यही शैक्षिक वर्षभित्र अध्ययन अध्यापन हुने बताउँदै केही महिनापछि एमबिबिएस पढाइ हुने जानकारी दिनुभयो ।

यस्ता छन् डा केसीका पछिल्ला माग

डा केसीले पछिल्लो समय राख्नुभएको मागमा प्रतिष्ठान जुम्लामा तत्काल पूर्वाधार र जनशक्ति पुरयाएर एमबिबिएस सञ्चालन, गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुरयाएर पठनपाठन र सरकारले २०७५ साल साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन रहेका छन् ।

यसैगरी शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्नुपर्ने, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएको नियुक्ति सच्याउन, सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गरिनुपर्नेलगायतका रहेका छन् ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पूर्वाधारसहित डाक्टर पढाई हुनुपर्नेलगायतका माग राख्दै उहाँ सत्याग्रह बस्न गत साउन ११ गते जुम्ला पुग्नुभएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू