शुक्रबार, वैशाख १४, २०८१
09:42 | १४:२७

६ महिनापछि एनआरएनए यूकेको प्रत्यक्ष कार्यसमिति बैठक सम्पन्न

लेखा, अनुशासन, विधान संशोधन समिति गठनसहित विभिन्न निर्णय

नेपाली लिङ्क अगस्ट ३१, २०२०

लन्डन । लकडाउनका कारण करिब ६ महिनापछि एनआरएनए यूकेको प्रत्यक्ष कार्यसमिति बैठक आइतबार लन्डनमा सम्पन्न भएको छ । एनआरएनए यूके अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा कार्यसमितिका १९ र आइसीसी सदस्य लगायत करिब दुई दर्जन सहभागी उक्त बैठकले विभिन्न समिति गठन गरेको छ ।

महासचिव फडिन्द्र भट्टराईका अनुसार, बैठकमा कोषाध्यक्ष तेजेन्द्र रोकामगरले आम्दानी खर्च विवरण प्रस्तुत गरेका थिए । बैठकले अब त्रैमासिक रुपमा आर्थिक प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।

संघलाई च्यारिटीमा दर्ता गर्ने सम्बन्धमा उपाध्यक्ष सुनिलबाबु खडकाले संयोजन गर्ने गरि प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । त्यसैगरि, संघसंस्था प्रतिनिधि बैठक (काउन्सिल बैठक) समन्वय गर्ने जिम्मेवारी उपाध्यक्ष रोजिनाप्रधान राईलाई दिइएको छ । तर, उक्त बैठक परिस्थिति सहज भएपछि हुनेछ ।

साथै बैठकले अल्डरसटमा बन्न लागेको पहिलो गोर्खा भिसीको सालिक स्थापनार्थ सहयोग गर्न उपाध्यक्ष सुनिल खड्कालाई सहयोग संकलन गर्ने जिम्मा दिइएको छ ।

बैठकले विधान संशोधन समिति पनि गठन गरेको छ । उक्त समितिमा नारायण कंडेल 
संयोजक र सदस्यहरु सरस्वती केसी, डा. रामकुमार अधिकारी, रामशरण सिम्खडा, दयानिधि सापकोटा, महेश गुरुङ एवं सदस्य सचिवमा नारायण गाउंलेको नाम प्रस्तावसहित अनुमोदन गरिएको छ ।

उता, बैठकले अनुशासन समिति गठन गरेको छ । जुन समितिको संयोजकमा संघका संरक्षक एवं पूर्व अध्यक्ष महेन्द्र कंडेलसहित ५ सदस्य रहनेछन् ।

बैठकले विधानमा प्रावधान भए अनुसार ५ सदस्यीय लेखा समिति समेत गठन गरेको महासचिव भट्टराईले जानकारी दिए । समितिमा कोषाध्यक्ष तेजेन्द्र रोकामगर, शेरबहादुर सुनार, एलएन घिमिरे, दीपक गुरुङ र शर्मिला हिराचन थकाली छन् ।

बैठकले गत कार्यकालको आर्थिक प्रतिवेदनमाथि जांचबुझ गर्न एउटा समिति पनि गठन गरेको छ । गत जनवरी १९ को कार्यसमिति बैठकको निर्णय समेतलाई आधार मान्दै स्वतन्त्र जांचबुझ समिति गठन 
गर्ने निर्णय भएको संघले जनाएको छ ।

उक्त समिति एलएन पाण्डे, बुद्धि गुरुङ र डा. मुकुन्द बास्तोला गरि तीन सदस्यीय छ । उक्त समितिले ४ साताभित्र जांचबुझ प्रतिवेदन कार्यसमितिसमक्ष प्रस्तुत गर्ने गरि समयसीमा निर्धारण गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू