शनिबार, वैशाख ८, २०८१
10:13 | १४:५८

जाडोयाममा कोरोनाका कारण ८५ हजार बेलायतीको ज्यान जान सक्ने चेतावनी

शवगृह व्यवस्थापन, दाहसंस्कार र अन्य सेवाबारे पूर्वतयारी गर्न सजिलो होस् भन्ने प्रतिवेदनको उद्देश्य

नेपाली लिङ्क अगस्ट ३०, २०२०

लन्डन–बेलायत सरकारद्वारा गठित एउटा वैज्ञानिक समितिले बेलायतमा आउँदो जाडोयाममा कोरोना भाइरस (कोभिड–१९) का कारण स्थिति झन् भयावह हुने चेतावनी दिएको छ । सेज वैज्ञानिक समूहको प्रतिवेदनमा ८५ हजार जनासम्मको ज्यान जान सक्ने उल्लेख गरिएको हो ।

स्थानीय सञ्चारमाध्यमले फेला पारेको एक गोप्य प्रतिवेदनमा कोभिड नियन्त्रण गर्न सरकारलाई विभिन्न सुझावसमेत दिइएको छ । तर, विद्यालयहरू भने खुलाइराख्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

उक्त दस्तावेज बीबीसी न्युज नाइटले फेला पारेको हो । सो समूहले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) र स्थानीय निकायहरूलाई जाडोयामका केही महिना शवगृह व्यवस्थापन, दाहसंस्कार र अन्य सेवाबारे पूर्वतयारी गर्न सजिलो होस् भन्ने उद्देश्यले सरकारका लागि प्रतिवेदन बनाएको हो ।

दस्तावेजको मुख्य अनुमानमा विद्यालय खुला रहनेछन् र सरकारको ट्रेसिङ, आइसोलेसन र क्वारेन्टाइन परिधि कोभिड संक्रमण रोक्न घरपरिवार बाहिर ४० प्रतिशतमात्र प्रभावकारी हुने उल्लेख छ ।

प्रतिवेदनले जुलाई २०२० देखि मार्च २०२१ सम्मको सबैभन्दा बढी मृत्युलाई अड्कल गरेको छ ।

जाडोयाममा अन्य रोग भएका बिरामीसमेत मर्ने प्रतिवेदनको आकलन छ । यसले इंग्ल्यान्ड र वेल्समा कोभिडका कारण ८१ हजार जना र कोभिडबाहेक अन्य रोगले २७ हजार मर्न सक्ने जनाएको छ ।

स्कटल्यान्डमा २ हजार ६ सय र नर्दन आयरल्यान्डमा १ हजार ९ सय जनाको कोभिड–१९ का कारण मृत्यु हुन सक्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक कार्ल हेनेगनले उक्त दस्तावेजमा गरिएका अनुमान विश्वास गर्न नसकिने खालका रहेको र यसले पहिलो संक्रमण लहरबाट केही नसिकिएको देखाएको बीबीसीलाई प्रतिक्रिया दिएका छन् ।

यसअघि गत जुलाईमा बेलायती वरिष्ठ चिकित्सक तथा वैज्ञानिकहरूले प्रधानमन्त्री बोरिस जोन्सनलाई यो वर्ष जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर (वेभ) आउन सक्ने खतरासँग जुध्न एउटा सार्वजनिक छानबिन गराउन आह्वान गरेका थिए ।

२७ जना विशेषज्ञले कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले अपनाएका कदमहरूमा कमजोरी रहेको जनाउँदै उनीहरूले इंग्ल्यान्डमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस), पब्लिक हेल्थ र सामाजिक सुरक्षाको खण्डीकरण, केन्द्र सरकारले स्थानीय निकाय तथा ब्रिटेनका अन्य प्रदेशहरूसँग नजिक रहेर काम गर्न नसक्नु र समयमै आवश्यक वस्तु तथा सेवा किन्न नसक्नु मुख्य कमजोरी रहेको निष्कर्ष निकालेका थिए ।

साथै बेलायत सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार सर प्याट्रिक भ्यालेन्सको अनुरोधमा तयार गरिएको एउटा प्रतिवेदनले यो जाडोयाममा कोरोना भाइरसको दोस्रो लहर आए करिब १ लाख २० हजार जनाको मृत्यु हुन सक्ने चेतावनी दिएको थियो ।

बेलायत सरकारका प्रवक्ताले शुक्रबार चुहाइएको प्रतिवेदनसम्बन्धमा प्रतिक्रिया दिंदै जिम्मेवार सरकारले सबैभन्दा कठिन अवस्थालाई मध्यनजर गरेर योजना बनाइरहेको बताएका छन् । सरकार भविष्यवाणी वा अनुमानका लागि नभई सम्भाव्य घटनासँग जुध्न तयारी अवस्थामा समेत छ भन्ने कुरामा कटिबद्ध रहेको ती प्रवक्ताको भनाइ छ ।

सम्भावित दोस्रो लहरको संक्रमण रोक्ने तयारीका लागि सरकारले एनएचएसलाई ३ अर्ब पाउन्ड दिने जनाइएको छ । बेलायतमा कोरोना भाइरस संक्रमित संख्या ३ लाख ३० हजार बढी छ भने ४० हजार बढीको ज्यान गइसकेको छ ।

बेलायतको बर्मिङघम विश्वविद्यालयका औषधि विज्ञानका वरिष्ठ उपप्राध्यापक एवं युरोपियन सोसाइटी फर क्लिनिकल फार्मेसीका अनुसन्धान विभाग प्रमुख डा. विभु पौड्याल विभिन्न चेतावनीबीच सर्वसाधारण आफू पनि सतर्क रहनुपर्ने सुझाउँछन् ।

विभिन्न मुलुकमा कोभिड–१९ खोप विकासको चरणमा रहेका र औषधिसमेत उत्पादन भई नसकेको अवस्थामा खासगरी सामाजिक दूरी कायम, हाइजिन मेन्टेन र साबुन–पानीले निरन्तर हात धुन उनको सुझाव छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू