शुक्रबार, वैशाख ७, २०८१
10:11 | १४:५६

फोनिज यूकेबाट निकालिए खुशी

नेपाली लिङ्क अगस्ट २९, २०२०


लन्डन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बेलायतका पूर्व महासचिव खुशी लिम्बु महासंघको साधारण सदस्यबाट पनि निष्काशित भएका छन् ।

उनले फोनिज यूकेको महासचिव पदबाट राजिनामा दिनु अगाडि र राजिनामा दिएपछि पनि विभिन्न गैर जिम्मेवारीपूर्ण गतिविधि र संस्थाको मान मर्यादामाथि आँच पुरयाउने कार्य गरेको ठहर गरी गत ८ अगस्ट २०२० का दिन फार्नबरोमा बसेको फोनिज यूकेको बैठकले उनलाई निस्कासन गर्ने निर्णय गरेको अध्यक्ष प्रमिला लाबुंग राईले जनाइन् । उनलाई संस्थाले दुई हप्ता समयावधि दिएर स्पष्टीकरण मागेको थियो । तर, सो समयावधिभित्र कुनै स्पष्टीकरण वा प्रतिकृया प्राप्त नभएपछि महासंघले उनलाई साधारण सदस्यबाट समेत निस्कासन गरेको बताएको छ ।

लिम्बुले समय र परिस्थितिको फाइदा उठाउंदै सामाजिक संजाल र मिडियाहरुमार्फत फोनिज यूकेलाई आँच पुर्याउने उद्देश्यले त्रुटीपूर्ण समाचारहरु सम्प्रेषण गर्दै आएको फोनिज यूकेको दाबी छ । गत ९ मार्च २०२० मा नेपाल संसार डटकम र १० मार्च २०२० मा डेनमार्क डटनेटमा प्रकाशित लिम्बुद्वारा उपलब्ध गराइएको समाचारमा ‘फोनिज यूकेका आधाभन्दा बढी सदस्यले राजिनामा दिएकोले महासंघ लंगडो भएको’ झूठो भन्ने दाबी गरिएको छ ।

फोनिज यूकेले सो समाचारका बारेमा स्पष्टीकरण दिन उनलाई पत्राचार गरेको थियो । यस्तैगरी, नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन) को महासचिव समेत रहेका उनले ६ अगष्ट २०२० का दिन फोनिज यूकेको सामाजिक सञ्जालमा ८ अगस्त २०२० मा हुने भनिएको फोनिज यूकेको बैठकलाई इङ्गित गर्दै ‘संस्थालाई टुक्रयाउने असफल प्रयासपछि फोनिज यूके अध्यक्षको आंखा अब नेफिन युकेमा’ भन्ने शीर्षकमा फोनिज यूके र यसका अध्यक्षप्रति आपत्तिजनक लान्छना लगाएको फोनिज यूकेले बताएको छ । सो पोष्टका बारेमा प्रष्ट पार्न फोनिज युकेले नेफिन यूकेलाई पनि पत्राचार गरिसकेको पनि बताइएको छ ।

लिम्बुले फोनिज यूकेको महासचिव पदमा बहाल रहंदा १२ मार्च २०१८ सालमा नेपाल पत्रकार महासंघ, बेलायतको सदस्यता वितरण र नवीकरणको विषयमा अध्यक्षलगायत कुनै पनि पदाधिकारीहरुसंग सल्लाह नगरी मध्यरातमा आफूखुशी फोनिज यूकेको लोगो दुरुपयोग गरी अनाधिकारिक विज्ञप्ति जारी गरेका संस्थाको दावी छ ।

त्यसपश्चात फोनिज यूकेले सो विज्ञप्तिको बारेमा बुझ्न खोज्दा उनले कुनै सकारात्मक प्रतिकृया नदिई आफ्नै मनोमानीमा फोनिज यूकेको प्रतिष्ठामा आंच आउने काम गर्न थालेपछि फोनिज यूकेको कार्यसमितिका पदाधिकारीहरुसंग उनको विवाद बढ्न थालेको थियो । यसपछि ९ सेप्टेम्बर २०१९ देखि लगातार आठ महिना कुनै पनि आधिकारिक जानकारी बिना महासचिवजस्तो गरिमामय पदमा रहेको व्यक्ति संघको काम ठप्प हुने गरी महासंघको सम्पूर्ण कागजपत्र आफैंले कब्जा गरी संस्थाले गर्नुपर्ने सम्पूर्ण काममा भांजो हाल्ने काम गरेको फोनिज यूकेको आरोप छ ।

उक्त समयावधिमा फोनिज यूकेले मुखपत्र निकाल्न लागेको थियो । यस्तो अवस्थामा कार्यसमितिका विभिन्न सदस्यहरुले फोन र इमेलमार्फत बारम्बार ताकेता गरी सोध्दा कुनै जवाफ नदिई निष्कृय रहेर महासंघलाई निष्क्रय अवस्थामा राखेका लिम्बुले अचानक आठ महिनापश्चात फोनिज यूकेका अध्यक्षलाई नभई लिम्बु पत्रकार संघ बेलायतलाई सम्बोधन गरी आफूले फोनिज यूकेको महासचिव पदबाट राजिनामा दिएको जानकारी दिएका थिए ।

लिम्बुलाई सन् २०१८ सेप्टेम्बरमा नेपाल पत्रकार महासंघ बेलायतले पनि साधारण सदस्यबाट निष्कासित गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू