शनिबार, वैशाख १५, २०८१
04:35 | ०९:२०

कोभिड–१९ खोप आगामी वर्षको शुरुसम्म बन्ने

रासस अगस्ट २६, २०२०


काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गरेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग कोभिड–१९ को अवस्था र बच्ने उपायका बारेमा कुराकानी गर्दै उनले धेरै देश खोपको अध्ययनमा लागेकाले त्यो सफल हुने धारणा राखेका हुन् ।

रसिया, चीनलगायत देशमा खोपको परीक्षण अन्तिम चरणमा रहेको उनको भनाइ छ । खोप आइसकेपछि त्यसले कति समयमा र कसरी काम गर्छ भनी यकीन हुने उनले बताए । उनले भने, ‘खोपको डोज कति चाहिन्छ, पर्याप्त संरक्षण गर्छ गर्दैन, त्यसले कति समयसम्म काम गर्छ भन्ने हेर्नुपर्छ ।’

खोप तयार हुँदा ठूलो परिमाणमा तयार हुने र पहिलो चरणमा जोखिममा रहेका समुदायले पाउने उनको भनाइ छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, अरु रोग भएका व्यक्ति पछि मात्रै सर्वसाधरणसम्म त्यो खोप पुग्नेछ । खोप सबै देशले पाउने उनले विश्वास व्यक्त गरे । उनले भने, ‘विकास भएको खोप गरिब देशले पनि सहुलियतमा वा निःशुल्क पाउने प्रणाली रहेको छ ।’ भाइरस थुकलगायत छिटाबाट सर्ने हुँदा त्यसबाट जोगिएर रोगबाट बच्न सकिने उनको धारणा छ । माक्सको प्रयोग गरेर र अरु व्यक्तिसँग दूरी कायम गर्नुपर्ने उनले सुझाए ।

नेपालमा स्वास्थ्यकर्मीलाई भइरहेको नराम्रो ब्यवहारका कारण कुनै दिन अस्पतालमा डाक्टर र नर्स नहुन सक्नेतर्फ उनले सबैलाई सजग गराएका छन् । कसैले पनि आफूलाई सङ्क्रमण नहोस् भन्ने चाहेको भन्दै उनले स्वास्थ्यकर्मलाई दोष लगाउन नहुने बताए । उनका अनुसार आफू जोखिममा रहेर पनि नियमित रुपमा उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई सबैले सम्मान गर्न खाँचो छ ।

विश्वका सबै देशमा सङ्क्रमितको उपचारमा अग्रपङ्तिमा रहेर उपचारमा संलग्न हुने भएकाले स्वास्थ्यकर्मी बढी जोखिममा रहने उनको भनाइ छ । सबै व्यक्तिको कल्याण स्वास्थ्कर्मीमा निर्भर रहने उनले बताए । उनले भने, ‘कोभिड र त्यसबाहेकका अरु रोगको उपचारका लागि स्वास्थ्कर्मी नै चाहिन्छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू