बिहीबार, वैशाख १३, २०८१
07:45 | १२:३०

कोभिडका कारण बेलायतलाई पर्यटनबाट मात्रै २२ विलियन पाउन्ड नोक्सानी

३० लाख रोजगारी असुरक्षित

नेपाली लिङ्क अगस्ट २६, २०२०

लन्डन ।  कोभिड १९ महामारीका कारण लागू भएको अन्तरराष्ट्रिय ट्राभल प्रतिवन्धका कारण बेलायतको अर्थतन्त्रले ठूलो नोक्सानी व्यहोर्ने भएको छ ।  

बेलायत भ्रमणका लागि विदेशी पर्यटक आउने क्रम ठप्प भएपछि यसले सिंगो अर्थतन्त्रमै दुरगामी असर पुर्याउने भएको हो ।  

वर्ल्ड ट्राभल एन्ड टुरिजम काउन्सिल (डब्लुटिटिसी) ले गरेको पछिल्लो अध्ययनले बेलायतको अर्थतन्त्रमा पर्यटन क्षेत्रबाट मात्रै २२ विलियन पाउन्डसम्मको नोक्सानी हुने देखाएको छ   

अन्तरराष्ट्रिय पर्यटकको संख्यामा उल्लेख्य ह्रास आउंदा उनीहरुले गर्ने खर्च औसतभन्दा ७८ प्रतिशतले घटेको छ । जसकारण बेलायतमा विदेशी पर्यटकहरुबाट हुने औसत खर्चबाट देशले एक सातामै ४ सय २० मिलियन पाउन्ड गुमाइरहेको छ ।  

उक्त अध्ययनअनुसार कोभिडका कारण बेलायतको पर्यटन क्षेत्र प्रभावित बन्दा देशभर झन्डै ३० लाख जनाको रोजगारी समेत असुरक्षित बनेको छ ।  

पर्यटन व्यवसायमा निर्भर रहेका कूल रोजगारीको १८ प्रतिशत अहिले संकटमा रहेको जनाइएको छ ।  

वर्ल्ड ट्राभल एन्ड टुरिजम काउन्सिल (डब्लुटिटिसी) ले पर्यटन व्यवसायबाट देशको अर्थतन्त्रमा पुग्ने यो असरबाट ‘रिकभर’ हुन बेलायतलाई वर्षौं लाग्ने बताएको छ ।  

कोरोना संक्रमण नियन्त्रणको प्रयासमा बेलायतले गत जुनदेखि अन्य मुलुकबाट आउने सबैलाई २ साता अनिवार्य क्वारेन्टिन बस्नुपर्ने नियम लागू गरेको थियो । 

अहिले उक्त नियम खुकुलो बनाएर केही देशहरुबाट आउनेलाई क्वारेन्टिन फुकुवा गरिएपनि कतिपयको हकमा क्वारेन्टिन अझै अनिवार्य छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू