बिहीबार, वैशाख १३, २०८१
20:19 | ०१:०४

बच्चालाई संस्कार सिकाउन प्राचार्य डा. योगीको सुझाव

नेपाली लिङ्क अगस्ट २२, २०२०

टेक्सास । हिन्दु विद्यापीठ नेपालका संस्थापक प्राचार्य डा. चिन्तामणि योगीले कुनै पनि अभिभावकले बच्चालाई समय दिन नसकेर सिकाउनु पर्ने कुरा भोलि सिकाउंछु भन्दै पन्छिन नहुने सुझाव दिएका छन् । नेपाली समाज टेक्सासद्वारा अमेरिकामा हुर्की रहेका नेपाली बालबालिकाका लागि आयोजित ६ हप्ता लामो आध्यात्मिक तथा साँस्कृतिक समर क्याम्पको समापन कार्यक्रमलाई सम्बोधन गर्दै क्याम्पका प्रमुख प्रशिक्षक डा. योगीले भने, ‘जब बच्चाहरू ठूलो हुँदै जान्छन्, तब उनीहरुको ग्रहण गर्ने क्षमता घट्दै जान्छ । ३ वर्षको बच्चाले आज १० गुणा सिक्न सक्ने कुरा भोलि ५ गुणा मात्रै सिक्न सक्छ । त्यसैले बच्चालाई सिकाउनु पर्ने कुरा आजै सिकाउनु उपयुक्त हुन्छ । उनीहरुले त्यो कुरा सजिलै ग्रहण गर्न सक्छन् । तर भोलि भनेर पन्छियो भने जति सिक्नु पर्ने हो त्यति ग्रहण नगर्न सक्छन् ।’

काठमाडौँस्थित शान्ति सेवा आश्रमका संस्थापक पनि रहेका डा. योगीले सबै अभिभावकले आफू अमेरिका गएको आफ्नो लागि हो वा बच्चाका लागि हो त्यो एक पटक जरुर सम्झनु पर्ने पनि बताए । ‘यदि बच्चाको भविष्यका लागि अमेरिका गएको हो भने उनीहरुले भाषा, साहित्य, संस्कृति, संस्कार र सदाचार सिक्ने मौका पाए  कि पाएनन् त्यो कुरामा अभिभावकले निकै ध्यान दिन जुरुरी छ’- उनले भने ।

बच्चालाई जुन देशमा भएपनि शान्त, सकारात्मक र क्रियाशील रुपमा हुर्किने अवसर प्रदान गर्नु सबै अभिभावकको कर्तव्य हुन्छ। अमेरिकामा जन्मिएका बच्चाका सामु नराम्रो राजनीतिका कुरा गरेर उनीहरुलाई त्यतातर्फ हैन मानवीय गुणले भरीपूर्ण वातावरणमा सिक्ने मौका प्रदान गर्न पनि उनले सबै अभिभावकसँग आग्रह गरे।

२०२० को नियमित स्कुलमा २५१ विद्यार्थी भर्ना
नेपाली समाज टेक्सासले सन् २००४ देखि नेपाली स्कुल सुरुवात गरी सन् २००८ बाट आध्यात्मिक तथा साँस्कृतिक समर क्याम्प हरेक वर्ष गर्दै आएको छ । उक्त स्कुलको यो वर्ष २०२० को नियमित स्कुलमा २५१ जना विद्यार्थी भर्ना भएको प्रिन्सिपल विजयराज भट्टराईले बताए । उनका अनुसार कोरोनाको महामारीकाबीच २ साता मात्रै स्कुल बन्द भएको थियो । उक्त समय विद्यालयले अनलाइन स्कुल शुरु गरेको थियो ।

‘प्रवासमा हामी नेपालीहरुको प्रमुख समस्या भनेकै आफ्ना दोश्रोपुस्ताका सन्ततिहरुलाई हाम्रो पहिचानको हस्तान्तरण गर्नु हो । हामी सबै नेपालीहरु मिलेर नेपाली पाठशालामार्फत यो उद्देश्य प्राप्तिका निमित्त लागेका छौं र यो क्याम्प यसका निमित्त निकै उपलब्धिमूलक भएको छ । हाम्रो पहिचान जोगाउन हाम्रो भाषा, साहित्य, कला, संस्कृति र ध्यात्म जोगाउनु पर्छ भनेर हामीले स्कूल संचालनमा जोड दिइरहेका छौं । हाम्रो पाठशालामा भर्ना भएका विद्यार्थीहरु नेपाल र नेपालप्रति बढी जोडिएको हाम्रो अनुभव छ’- प्रिन्सिपल भट्टराईले भने ।

समर सेसनमा २०६ विद्यार्थी
समर सेसन अन्तर्गत गत जुन, जुलाई र अगष्ट गरी ६ वटा कक्षा सञ्चालन गरिएको थियो जसमा २०६ जना विद्यार्थी भर्ना भएका थिए ।
प्रिन्सिपल भट्टराईले सो विद्यालयमा नेपाली भाषामा लेख्न र पढ्न सिकाउने र आध्यात्मिक तथा सांस्कृतिक पहिचान सिकाउने गरिएको बताए । भट्टराईले भने, ‘हामीले सो स्कुलमा मुख्यतः नेपाली लेख्न र पढ्न सिकाउँछौँ । हाम्रो आध्यात्मिक तथा सांस्कृतिक पहिचान गराउँछौँ । विभिन्न फरक फरक विषयवस्तुमा छुट्टाछुट्टै कक्षा सञ्चालन गरेर सिकाइने हुँदा विद्यार्थीहरुलाई पनि बुझ्न सजिलो हुन्छ । यस पटक आध्यात्मिक तथा सांस्कृतिक क्याम्पको कक्षा नेपालबाट गुरु डा. चिन्तामणि योगीले पढाउनुभयो । विद्यार्थीहरुले धेरै कुरा सिक्ने मौका पाए । हामी उहाँप्रति आभारी छौँ ।’

गत अगष्ट ३ तारिखबाट सुरु भएको साँस्कृतिक तथा आध्यात्मिक क्याम्प ९ दिनसम्म चलेको थियो ।
कार्यक्रममा स्कुलका विद्यार्थीहरुले नेपाली भाषाका गीत संगीत, गाउँदै नृत्य देखाए भने नेपालका विभिन्न जिल्ला र आफूले नेपालबारे जाने बुझेका कुरा नेपाली भाषामै प्रस्तुत गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू