शनिबार, वैशाख १५, २०८१
04:23 | ०९:०८

लन्डनमा तीजको रमझम

नाचगान बिना पूजाआजामै सिमित भयो तीज

नेपाली लिङ्क अगस्ट २१, २०२०

लन्डन । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज शुक्रबार बेलायतका नेपाली महिलाहरुले पनि मनाएका छन् ।

कोरोना महामारीका कारण विगतका वर्षहरुमा दिनभरसम्म चल्ने नाचगान यसपटक नभएपनि व्रतालु महिलाहरुले मन्दिरमा पुगेर पूजाआजा गरेका छन् ।

साउथ इष्ट लन्डनको प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरमा शुक्रबार बिहानैदेखि तीज विशेष पूजाआजा कार्यक्रम चलिरहेको छ ।  

मन्दिरका मूलगुरु ज्योतिष पन्डित निलहरि घिमिरेले बिहान १० बजेदेखि नै शुरु भएको पूजाआजा बेलुका ७ बजेसम्म जारी रहने बताए  । साँझ ६ बजे विशेष आरती गरिने उनले जानकारी दिए  

कोभिड १९ महामारी र बेलायत सरकारको निर्देशिकालाई ध्यानमा राख्दै विभिन्न समय समूहमा बाँडेर मन्दिरमा आउने व्रतालु  महिलाहरुलाई पूजाआजामा सहभागी गराइएको छ ।  

मन्दिर व्यवस्थापन समितिकी सचिव कल्पना त्रिपाठीका अनुसार एकपटकमा मन्दिर परिसरमा बढीमा ३० जनालाई मात्र प्रवेश गराइएको छ । मन्दिरमा प्रवेश गर्न र बाहिरिन छुट्टाछुट्टै द्वारको व्यवस्था गरिएको तथा आउने सबै दर्शनार्थीको नाम र सम्पर्क नम्बर राखिएको समेत सचिव त्रिपाठीले बताइन् ।  

कोभिड महामारीका कारण मन्दिरमा उपस्थित हुन नसक्ने महिलाहरुका लागि पूजाआजा कार्यक्रम फेसबुक लाइभमार्फत देखाइएको थियो । मन्दिरमा आउने व्रतालुहरुलाई पानी, फलफूल, चिया, प्रसादको व्यवस्था थियो ।  

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र कंडेलले महामारीको असहज अवस्थामा पनि व्रतालु महिलाहरुको लागि पूजाआजासम्म गर्न सक्ने वातावरण बनाउने कोशिस गरिएको बताए । मन्दिरको आग्रहलाई मानेर व्रतालु महिलाहरुले पनि एकैपटक भिड नगरी पालैपालो आएर सहयोग पुर्याएको उनले सुनाए ।  

असहज अवस्थामा पनि आवश्यक सतर्कतासहित तीज विशेष पूजाआजामा सहभागी हुने व्रतालु महिला, व्यवस्थापनमा खटिने स्वयंसेवक तथा कार्यसमितिका पदाधिकारी, ट्रस्टी एवम् सबै सहयोगीप्रति मन्दिर समितिले आभार प्रकट गरेको छ ।

हेरौं थप केही तस्विर: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू